शुभाकर विश्वकर्मा । कोहलपुर ।
कर्णाली प्रदेश दैलेखका लक्की जैशी कोहलपुरका फुटपातमा फलफूल बेच्छन् । दुई महिना यता भने उनी बिनाकाम बसिरहेका छन् । दैनिक फलफूल बेचेर जिविकोपार्जन गर्ने जैशीको दिन कोहलपुर चौराहाको नजिकै रहेको धर्मशालामा बितिरहेको छ । सरकारले कोरोना कहरका कारण लकडाउन सुरु गरेपछि उनलाई दैनिकी चलाउन निकै समस्या भइरहेको छ । उनका अनुसार आम्दानीको स्रोत नहुँदा भोकै बस्नु पर्ने अवस्था आएको छ । मिडियामा राहत वितरण गरेको सुन्ने गरेका उनले अहिलेसम्म राहत भने कतैबाट पनि पाएका छैनन् । एक पटक राहतको लागि वडामा कार्यालयमा जाँदा जनप्रतिनिधिहरुले दुव्र्यवहार गरेपछि त्यसपछि उनी राहतको लागि गएका छैनन् । ‘भोकै बस्नु पर्ने अवस्था आएपछि तनावमा थिए ।
एक दिन धर्मशालामा सामुहिक भोजन कार्यक्रम रैछ गए । त्यसपछि यहाँका आमाहरुले मेरो दुःख देख्न नसकेर यही बसालिदिनु भएको छ’ उनले भने । फलफूल बेचेरै चार जनाको परिवार पालिरहेका जैशीको स्थानीय सरकारले आफूहरु जस्ता विपन्नहरुलाई कहिल्यै नहेरेको गुनासो गरे । बर्दियाका बासुदेब अधिकारीको पनि चार जनाको परिवार छ । केही वर्षयता धर्मशालामा बस्दै आएका उनी कोहलपुरमा ठेलागाडा चलाएर जिविकोपार्जन गर्छन् । तर लकडाउनका कारण उनको परिवारलाई मागेर खानुको विकल्प छैन । कोठामा अलिअलि भएको खाना बचाएर आधा पेट खानु पर्ने अवस्था रहेको अधिकारीले बताए । उनका अनुसार आफुहरुसँगै बस्ने साथीहरु दुई तीन पटक वडा कार्यालयमा जाँदा समेत राहत नपाएर फर्किएपछि गएनन् ।
करिब १ महिना जति मन्दिरले विपन्नहरुको लागि आयोजना गरेको सामुहिक भोजन कार्यक्रम हुँदा त्यही खाएर गुजारा चलाएको उनले जानकारी दिए । त्यहाँको मन्दिर व्यवस्थापन समितिले लकडाउनको समयमा समस्यामा परेका नागरिकहरुको लागि १ महिना सम्म निःशुल्क भोजन कार्यक्रमको आयोजना गरेको थियो । ‘राजनीतिक पहुँचको आधारमा राहत दिए । आफूहरुले बारम्बार भन्दा समेत पाइएन । सरकारले लकडाउन बढाउँछ । जनतालाई भोको राख्छ’ अधिकारी भन्छन् । त्यो मन्दिरले निर्माण गरेको धर्मशालामा पाँच जनाको टोलीलाई समितिले निःशुल्क रुपमा बसालिरहेको छ । ६ जनाको परिवार मध्ये एक जना असहाय÷एक महिला समेत छन् । उनी सबै विपन्न छिन् ।
ती महिला अर्घाखाँचीकी हुन् । छोराछोरी सहित चौराहामा पानीका बोतल बेचेर जिविकोपार्जन गर्छिन् । ‘यहाँ बस्नेहरु मध्ये सबै भन्दा मेरो अवस्था नाजुक छ । पानी बेचेर दैनिकी चलाउँथे । लकडाउनले समस्या भएको छ । धेरै पटक वडा कार्यालयमा समेत गएको हो तर काँही पनि राहत पाइएन ।’ चौराहामा पानी बेचेरै छोराछोरी पाल्दै आएकी कल्पना रावल भन्छिन् । राहतको लागि धेरै पटक नगरपालिका, वडा कार्यालय धाएपनि राहत नपाएको उनको भनाई छ । उनका अनुसार धेरै पटक नागरिकको फोटोकपि लिएर जाँदा समेत राहत दिएनन्,आश्वासन मात्रै दिए । केही दिन यता मन्दिर नजिकैको एक गाउँमा बाटो खन्ने काम खुलेको ठाउँमा यही काम गर्न समेत जान थालेको बताउँछिन् ।
छोराछोरीको भोको पेट भर्नको लागि लकडाउनमा निकै दुःख भोग्नु परेको उनको भनाई छ । जैशी, अधिकारी र रावल जस्ता बेसाहाराहरुलाई धर्मशालामा शरण दिइरहेको राम जानकी मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष शोभा कुमारी मल्लले बताइन् । उनले स्थानीय सरकारले आफूहरु जस्तो निस्वार्थ रुपमा मानवको सेवा गर्नेहरुलाई सहयोग नगरेको दुःखेसो गरिन् । मन्दिरले बनाएको धर्मशालामा ७ जना बृद्ध महिला र ६ जनाको परिवार बस्र्दै आएको छ । उनीहरुको सम्पूर्ण व्यवस्था अहिलेसम्म समितिले भक्तजनहरुको दान र भेटीबाट व्यहोर्दै आइरहेको छ । ‘हामीले लकडाउनमा समस्यामा परेका नागरिकलाई सहयोग गर्दा यहाँको सरकारले असहयोग ग¥यो । चौराहामा समेत निःशुल्क भोजन कार्यक्रम गर्न दिइएन् । पछि मन्दिर भित्रै एक महिना खुवाऔँ’ अध्यक्ष मल्लले मिसन टुडे दैनिकसँग कुराकानी गर्दै भनिन् ।









प्रतिक्रिया दिनुहोस्