प्रहरी हिरासतमा दुई युवकको मृत्यु



गत कात्तिकमा वीरेन्द्रनगर नगरपालिका–११ पिपिराका ३५ वर्षीय गंगे सुनारको प्रहरी हिरासतमा मृत्यु भएको थियो । त्यसको करिब सात महिनापछि फेरी त्यही क्षेत्रका २१ वर्षीय साबिर बक्सको पनि प्रहरी हिरासतमै मृत्यु भयो । दुई मृत्युबीचको यो समानताले स्थानीय समाजमा के यी मृत्यु संयोग थिए ? वा कि यसको पछाडि कुनै गम्भीर कारण लुकेको छ ? भन्ने अनेक प्रश्न जन्माएको छ ।

नन्दराम जैशी  ।  सुर्खेत ।

एउटै ठाउँका दुई युवक । फरक उमेर । फरक समय र फरक मुद्दा । तर उनीहरूको जीवनको अन्त्य भने एउटै स्थानमा भयो । त्यो हो जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतभित्र । गत कात्तिकमा वीरेन्द्रनगर नगरपालिका–११ पिपिराका ३५ वर्षीय गंगे सुनारको प्रहरी हिरासतमा मृत्यु भएको थियो । त्यसको करिब सात महिनापछि फेरी त्यही क्षेत्रका २१ वर्षीय साबिर बक्सको पनि प्रहरी हिरासतमै मृत्यु भयो । दुई मृत्युबीचको यो समानताले स्थानीय समाजमा के यी मृत्यु संयोग थिए ? वा कि यसको पछाडि कुनै गम्भीर कारण लुकेको छ ? भन्ने अनेक प्रश्न जन्माएको छ ।

प्रहरी हिरासत राज्यको नियन्त्रणमा रहने सुरक्षित स्थान पनि हो । त्यहाँ रहेका व्यक्तिको सुरक्षा र स्वास्थ्यको जिम्मेवारी पूर्ण रूपमा राज्यको हुन्छ । त्यसैले हिरासतभित्र हुने प्रत्येक मृत्यु सामान्य घटना मात्र होइन, राज्यको जिम्मेवारी र उत्तरदायित्वसँग जोडिएका गम्भीर विषय पनि हो । साबिर बक्स मोबाइल चोरीको आरोपमा जेठ २७ गतेदेखि प्रहरी हिरासतमा थिए । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो । तर जेठ २९ गते शुक्रबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई कर्णाली प्रदेश अस्पताल पु¥याइयो । तर शनिबार बिहान ५ः३२ बजे चिकित्सकले मृत घोषणा गरे ।

प्रहरीका अनुसार साबिर यसअघि पनि चोरीसम्बन्धी घटनामा संलग्न थिए भने लागूऔषध प्रयोगकर्ता समेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । तर उनका आफन्तले भने पक्राउ गर्दा पूर्ण रूपमा स्वस्थ रहेको व्यक्तिको हिरासतमै मृत्यु हुनु शंकास्पद रहेको बताएका छन् । उनीहरूले कुटपिट वा दुव्र्यवहार भएको हुन सक्ने प्रहरीमाथि आशंका व्यक्त गरेका छन् । यस्तै प्रश्न सात महिनाअघि गंगे सुनारको मृत्युमा पनि उठेको थियो ।

लागूऔषध मुद्दामा पक्राउ परेका सुनार त्यो बेला ८७ दिनदेखि हिरासतमा थिए । प्रहरीका अनुसार सुनार बिहान ओछ्यानमै बेहोस अवस्थामा भेटिएका थिए । तत्काल अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले त्यो बेला पनि सुनार लागूऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी रहेको जनाएको थियो । नियमित औषधि सेवन गरिरहेको र उनको मुद्दाको पेसी समेत तोकिएको अवस्थामा मृत्यु भएको दाबी प्रहरीले गरेको थियो ।

दुवै घटनामा प्रहरीको प्रारम्भिक जवाफ लगभग उस्तै छ, ‘स्वास्थ्य समस्या, अस्पताल लगिएको र पोस्टमार्टमपछि मात्र वास्तविक कारण खुल्ने ।’ तर यस्ता घटनाले उठाएका प्रश्न भने पोस्टमार्टम रिपोर्टभन्दा धेरै गहिरा छन् । प्रहरी हिरासतभित्र रहेका व्यक्तिहरूको स्वास्थ्य निगरानी प्रभावकारी छैन भने लागूऔषध प्रयोगकर्तालाई आवश्यक चिकित्सकीय हेरचाह उपलब्ध गराइँदैन । हिरासतभित्र सीसीटीभी निगरानी, स्वास्थ्य परीक्षण र मानव अधिकारसम्बन्धी मापदण्ड पनि पालना भएको पाइँदैन । यस्ता प्रश्नहरूको जवाफ पनि अझै स्पष्ट छैन ।

मानव अधिकारका दृष्टिले हिरासतभित्रको मृत्यु सधैँ संवेदनशील विषय मानिन्छ । किनभने हिरासतमा रहेको व्यक्ति राज्यको प्रत्यक्ष नियन्त्रणमा हुन्छ । त्यसैले मृत्युको कारण प्राकृतिक होस् वा स्वास्थ्य समस्याका कारण, त्यसबारे निष्पक्ष र पारदर्शी अनुसन्धान अपरिहार्य छ । पिपिराका बासिन्दाका लागि भने यो एउटा सामान्य घटनाको विषय मात्रै होइन । एउटै समुदायका दुई फरक युवा सात महिनाको अन्तरालमा प्रहरी हिरासतभित्र मृत भेटिनु उनीहरूका लागि पीडा र त्रासको विषय बनेको हो ।

स्थानीयस्तरमा ‘किन बारम्बार यस्तै घटना भइरहेका छन् ?’ भन्ने प्रश्न र प्रहरीप्रति आशंका र आलोचनाले चर्चा पाइरहेको छ । अहिलेसम्म उपलब्ध तथ्यले दुवै घटनालाई प्रत्यक्ष रूपमा जोड्ने आधार देखाएको छैन । न त कुनै अनुसन्धानले प्रहरीको लापरबाही वा कुटपिट पुष्टि गरेको छ । तर एउटै क्षेत्रका दुई व्यक्तिको छोटो अवधिमै हिरासतभित्र मृत्यु हुनु यो संयोग मात्र हो भनेर सहजै निष्कर्ष निकाल्न पनि सकिँदैन ।

त्यसैले अहिलेको सबैभन्दा ठूलो आवश्यकता सत्यको खोजी हो । पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण, हिरासतका अभिलेख र स्वतन्त्र अनुसन्धानले मात्र यी मृत्युहरूको वास्तविक कारण उजागर गर्न सक्छन् । किनभने प्रश्न गंगे सुनार र साबिर बक्सको मृत्युको मात्रै होइन । प्रश्न राज्यको संरक्षणमा रहेका नागरिकहरूको सुरक्षाको पनि हो । र जबसम्म यी प्रश्नहरूको विश्वसनीय उत्तर प्राप्त हुँदैन, तबसम्म समाजले प्रहरी हिरासतमै हुने यस्ता मृत्यु संयोगवश हुन् कि कारणवश ? सोधिरहनेछ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार