पछिल्लो १२ घण्टामा बाँके र बर्दियामा अत्यधिक वर्षा



काठमाडौं ।

पछिल्लो १२ घण्टामा बाँके र बर्दियामा सबैभन्दा बढी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बर्दियाको रम्भापुरमा १९१ मिलिमिटर पानी पर्दा बाँकेको बर्गादहमा १७४ मिलिमिटर वर्षा मापन भएको छ।

मनसुनी वायु भित्रिएसँगै नेपालका अधिकांश क्षेत्रमा पानी पर्ने क्रम बढेको यी दुई स्थानका अलावा बर्दियाकै दौलतपुरमा १३७, रानी जरुवा नर्सरीमा १२० मिलिमिटर पानी परेको छ। गण्डकी प्रदेशको बागलुङमा १२२ मिलिमिटर पानी पर्दा कास्कीमा १२० मिलिमिटर वर्षा भयो।

हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

यसले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ। यस्तै राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार