मानिसलाई बाँच्नका लागि हावा, पानी, आगो अत्यन्त जरुरी वस्तु हुन् । हावा, पानी र आगोबिना मासिनको जीवन कल्पना पनि गर्न सकिँदैन् । जसरी मानव जीवनमा हावा र पानीको महत्व हुन्छ, त्यत्तिनै आगोको पनि महत्व रहेको छ । हरेक व्यक्तिको दैनिक रुपमा भोजन तयार पार्नका लागि आगो नभइ नहुने वस्तु हो । आगोका विभिन्न स्रोतहरु छन् । दाउरा, एलपि ग्यास, विद्युतीय चुलो लगायतका विभिन्न स्रोतबाट आगोको प्रयोग गरिन्छ र मानव जीवनमा दैनिक आवश्यक पर्ने भोजन तयार पारिन्छ । यसमध्ये पनि अधिकांश प्रयोगकर्ताले अहिले एलपि ग्यासको नै प्रयोग गर्ने गरेका छन् । तराईका सहर बजार क्षेत्र मात्र नभएर पहाडी तथा हिमाली जिल्लाका सहरदेखि ग्रामीण क्षेत्रका प्रायः उपभोक्ताहरुका घरमो एलपि ग्यासको प्रयोग हुने गर्दछ । दाउराको प्रयोग हुने स्थानहरुमा पनि हाल आएर एलपि ग्यास नै प्रयोग भएको पाइन्छ । दाउरा बाल्दा निस्कने धुवाँले मानव जीवनमा नकारात्मक असर पार्ने तथा समय बढी लाग्ने हुनाले पनि प्रयोगकर्ताहरुले अहिले प्रायःजसो एलपि ग्यास नै प्रयोग गर्दै आएका छन् । यसले मानिसको समय पनि बचत बनाएको छ भने लामो समय लाग्ने झन्झटिलो प्रक्रियालाई सहज बनाएको छ ।
त्यसैगरी स्वास्थ्यमा पनि नकारात्मक असर पर्नबाट जोगाएको छ । नेपालमा केही दिनयता दैनिक रुपमा खपत हुने एलपि ग्यासको हाहाकार जस्तो भएको देखिएको छ । नेपालका ठूला सहरी क्षेत्रहरुमा खाली सिलिन्डरहरुका लाइन देख्न सकिन्छ । एलपि ग्यासका कारण मानिसमा एक प्रकारको मानसिक रुपमा दबाब सिर्जना भएको देखिन्छ । बजारमा अहिले ग्यास विक्रेताहरुले उपभोक्ताहरुलाई आवश्यक ग्यास नदिएका गुनासोहरु जताततै सुन्नमा आएको छ । नेपाल आयल निगम लिमिटेडले पनि केही दिनअघि एक सूचना जारी गर्दै सर्वसाधारण उपभोक्तालाई आधा सिलिन्डरमा ७.१ किलो मात्र एलपि ग्यास पाइने जनाएको थियो । आयल निगमले नियमित रुपमा मागअनुरुप नै एलपि ग्यासको आयात तथा वितरण गरिरहेको भए तापनि विगत दुई÷तीन महिनादेखि काठमाडौँ उपत्यकामा ग्यासको माग उच्च देखिएको र यसैबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपि ग्यासको आपूर्तिमा विश्वव्यापी असर परेको जनाएको थियो । तर भैरहवा भन्सार कार्यालयका अनुसार उक्त भन्सारबाट नियमित रुपमा ग्यास आयात भइरहेको छ । आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । स्थानीय उपभोक्ताका अनुसार एउटा ग्यास सिलिन्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेका छन् । ग्यास विक्रेताको ग्यास सिलिन्डरको लामो लाइन लागेको छ । लामो समयसम्म पालो कुर्दा पनि खाना पकाउने एलपी ग्यास उपभोक्ताले पाउन नसक्दा नियमित भान्छा चलाउन पनि ग्यास नपाउने अवस्था आउँदा दैनिक जीवन कष्टकर हुँदै गएको छ । ग्यास विक्रेताले पनि कम्पनीबाट पर्याप्त ग्यास उपलब्ध नगराउँदा अभाव देखिएको बताएका छन् । मागअनुसारको आपूर्ति नहुँदा उपभोक्तालाई उपलब्ध गराउन नसकिएको उनीहरूको भनाइ छ । एकातिर नियमित रुपमा ग्यास आपूर्ति भइराख्ने तर अर्कोतर्फ बजारमा उपभोक्ताहरुले सरल रुपमा ग्यास नपाउँदा भने समस्या उत्पन्न भएको देखिन्छ । यस्तो मौकामा ग्यास विक्रेता व्यापारीहरुले कालोबजारी गर्न सक्ने प्रवल सम्भावना रहन्छ । विक्रेताहरुले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर महंगोमा उपभोक्तालाई विक्री गरेर कालोबजारी गर्न सक्छन् । तसर्थः स्थानीय उपभोक्ताहरुलाई आवश्यक मात्रामा ग्यास पाउने व्यवस्था मिलाउन र सम्भावित कालोबजारी रोक्नका लागि स्थानीय प्रशासन लगायतका उपभोक्तावादी संघसंगठनहरु क्रियाशील हुनु जरुरी छ । सरकारका विभिन्न सम्बन्धित निकायहरुले व्यापक रुपमा बजार अनुगमन गर्न र सहज रुपमा उपभोक्ताले मागअनुसारको ग्यास पाउने व्यवस्था मिलाउन आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्