महिला क्रिकेटको स्वर्णिम इतिहास बोकेको ‘बाँके’



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

भारतीय पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामको एउटा वाणी छ, ‘सपना त्यो होइन, जो तपाईँ देख्नु हुन्छ, सपना त त्यो हो, जसले तपाईँलाई निदाउनै दिँदैन ।’ ठ्याक्कै यस्तै महत्वाकांक्षी सपना देखेका थिए, एलबी क्षेत्रीले । त्यतिबेला क्षेत्री नेपाल क्रिकेट संघ ( क्यान)को केन्द्रीय सदस्य र क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर ५ नेपालगन्जका अध्यक्ष थिए ।

महिला क्रिकेटको लामो तयारीपछि उनले समितिको बैठक बोलाए । आफ्नो आत्मकथा कप्तानमा क्षेत्री लेख्छन्, ‘बैठकमा महिला क्रिकेटबारे प्रस्ताव राख्दा साथीहरूले सुरुमा पत्याएनन् । धेरै त महिला क्रिकेटबारे नै अनभिज्ञ रहेछन् । कतिपयलाई महिला क्रिकेट पनि हुन्छ भन्ने नै थाहा रहेनछ ।’ बैठकमा उनले अन्य सदस्यहरूलाई धेरै कन्भिन्स गरेपछि त्यो प्रस्ताव अघि बढ्ने भयो ।

त्यसपछि सुरु भयो, महिला क्रिकेट खेलाडीको खोजी । उनीहरू नयाँ प्रतिभाको खोजीमा लागे । जिल्ला शिक्षा अधिकारीसँग समन्वय गरियो । त्यतिबेलाका बाँकेका जिल्ला शिक्षा अधिकारी विष्णु थैवले छात्रा छनोटका लागि ४० विद्यालयमा पत्राचार गरिदिए । आफू नै २२ विद्यालयमा पुगेको क्षेत्रीले लेखेका छन् । २०६१ साल माघदेखि फागुन महिनासम्म प्रशिक्षण सुरु भयो ।

त्यतिबेला माओवादी द्वन्द्व थियो । त्यहीबेला राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिए । आफूहरूलाई सुरुमै निकै सकस भोग्नुपरेको उनको भनाइ छ । जिल्लाभरका ३३ विद्यालयबाट पहिलो चरणमा एक हजार किशोरीलाई क्रिकेटको प्रारम्भिक ज्ञान दिइयो । आफ्नो महिला क्रिकेट उदयको यात्रामा मिडियाले धेरै राम्रो भूमिका खेलको एलबी बताउँछन् ।

२०६१ माघ ४ गते बाँकेमा पहिलोपटक महिला क्रिकेट अभियानबारे पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिए । कप्तानमा क्षेत्रीले ‘ऐतिहासिक दिन’ भनेर उल्लेख गरेका छन्, २०६१ फागुन १५ गतेलाई । त्यो त्यही दिन थियो, क्षेत्रीले कोहलपुर नगर विकास समितिले उपलब्ध गराएको पाँच बिघा मैदानलाई ‘प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ नामाकरण गरे ।

बाँकेको कोहलपुरमा नेपालमै पहिलोपटक महिला क्रिेकट प्रतियोगिताको ९७ वर्षीया कौशिल्यादेवी रावतले प्रतियोगिताको उद्घाटन गरिन् । रामजानकी र ग्रीनपीस स्कुलले उद्घाटन खेल खेलेका थिए । कोहलपुर र नेपालगन्जमा गरी दुई स्थानमा भएको प्रतियोगितामा २९ स्कुलका ४३५ खेलाडीसहित कोहलपुर क्षेत्रमा १३ र नेपालगन्ज क्षेत्रका १६ विद्यालय सहभागी भएका फागुन २२ गते कोहलपुर क्षेत्रको सूर्योेदय मावि र नेपालगन्ज क्षेत्रको मंगल माविले फाइलन भिडे ।

ऐतिहासिक महिला क्रिकेट शुभारम्भ प्रतियोगिताका विजेतालाई शिल्ड पदक तथा प्रमाणपत्र वितरण गर्न नेपाल क्रिकेट संघका तत्कालीन अध्यक्ष जयकुमारनाथ साह उपस्थित थिए । सो अवसरमा साहले नेपाली महिला क्रिकेटको स्पष्ट कार्ययोजना लिएर क्यान बैठकमा आउन निर्देशन दिएको उल्लेख गरेका छन् । नेपाली महिला क्रिकेट उदयको आफ्नो सपना साकार बनाउन साहको महत्वपूर्ण भूमिका रहेको क्षेत्रीले आत्मकथामा उल्लेख गरेका छन् ।

विभिन्न आरोहअवरोध पछि बागेश्वरी पब्लिक क्याम्पस र त्यहाँका विद्यार्थीहरूको सहयोगमा २०६३ पुस २७ गते कोहलपुर क्रिकेट मैदानमा छात्रा क्रिकेट रनिङ शिल्ड प्रतियोगिता आयोजना गरियो । उनले भनेका छन्, ‘प्रथम र दोस्रो महिला क्रिकेटको डकुमेन्ट, २०६३ मा आयोजना गरेको महिला क्रिकेट प्रतियोगिताको डकुमेन्ट क्यानमा पठाए । त्यसैका आधारमा नेपाली महिला क्रिकेटलाई एसीसीले उत्कृष्ट महिला क्रिकेट अवार्ड २००६ बाट सम्मानित ग¥यो ।’

त्यसपछि सोही वर्षको फागुन २३ गतेदेखि तेस्रो बाँके जिल्ला अन्तर मावि÷उच्च मावि छात्रा रनिङ क्रिकेट प्रतियोगिता आयोजना गरियो । लगत्तै बाँकेका किशोरीहरू पहिलोपटक जिल्ला बाहिर प्रतियोगिता खेल्न गए । २०६४ मा बाँके र रुपन्देही टिमबीच तीनवटा मैत्रीपूर्ण म्याच भए । बाँके टिमले उक्त श्रृंखला क्लीनस्वीप गर्दै उपाधि जित्यो ।

राष्ट्रिय टिममा एकैसाथ बाँकेका सातजना

सन २००७ जुलाई ११ देखि १८ गतेसम्म मलेसियाको जोहारबारुमा हुने प्रथम एसीसी महिला क्रिकेट प्रतियोगिता तय भएको थियो । त्यति बेलासम्म महिला क्रिकेटको राष्ट्रिय टिम थिएन । बाँके र रुपन्देही सम्मिलित प्रतियोगिताको समापनमा क्यान अध्यक्ष विनयराज पाण्डेले प्रथम एसीसी प्रतियोगिताको तयारीका लागि प्रथम महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता काठमाडौँमा आयोजना गर्ने घोषणा गरेका थिए ।

प्रतियोगिता २०६४ असार ४ देखि ८ गतेसम्म सञ्चालन भयो । उपाधि क्षेत्र नम्बर ५ नेपालगन्जले जित्यो । त्यही प्रतियोगितापश्चात् नेपाली क्रिकेट इतिहासमा पहिलोपटक महिला राष्ट्रिय क्रिकेट टिम बन्यो । प्रारम्भिक टिममा २५ जना छनोट भए । त्यसमा बाँकेबाट मात्रै आठजना छनोटमा परेका थिए । अन्तिम १४ जनाको फाइनल टिममा बाँकेकी सम्झना शर्मा बाहिरिन् ।

बाँके जिल्लाका मात्रै सातजना एकैपटक राष्ट्रिय टिममा परे । बाँकेकी नेरी थापा, ममता थापा, विनु बुढामगर, केशरी चौधरी, कृष्णा सिंह, सीता राना र मनीषा रावल टिममा परे । क्षेत्र नम्बर ४ बाट चारजना, क्षेत्र नम्बर ६ बाट दुईजना र काठमाडौँबाट एकजना टिममा पर्दा क्षेत्र नम्बर ५ का ८० प्रतिशत खेलाडी समेटिएका थिए । नेपालको पहिलो महिला क्रिकेट टिमको कप्तान थिइन्, बाँकेकी नेरी थापा ।

उनले २०६१ सालबाट क्रिकेट करिअर सुरु गरिन् । उनका बुबा बक्सिङका खेलाडी थिए । उनले उमेर समूह र राष्ट्रिय टिमको कप्तानी गरिन् । उनकै कप्तानीमा पहिलोपटक अन्र्तराष्ट्रिय खेल खेलेको नेपाल उपविजेता बनेको थियो । उनकै कप्तानीमा नेपाल एसीसी यू–१९ प्रतियोगिताको उपाधि नै जित्यो । १७ वर्ष नेपाली महिला क्रिकेटमा बिताएकी थापाले २०८१ मा सक्रिय क्रिकेटबाट सन्यास लिइन् ।

अहिले उनी बाँकेमा क्रिकेटको विकासमा सक्रिय छिन् । अध्ययनको सिलसिलामा बर्दियाबाट नेपालगन्ज आएकी केशरी चौधरी सुरुमा एथ्लेटिक्स खेलाडी थिइन् । त्यसपछि उनी क्रिकेटमा आइन् । पहिलो राष्ट्रिय टिममा पर्न सफल अर्की खेलाडी थिइन्, ममता थापा । नेपाली टिमकी विकेटकिपर र उपकप्तानसमेत भइसकेकी थापा अहिले पनि क्रिकेटको विकासमै सक्रिय छिन् ।

बहुप्रतिभाशाली थापाले मोडलिङ र सञ्चारकर्मसमेत गरिन् । हाल उनी कोहलपुर नगरपालिकाको क्रिकेट प्रशिक्षक छिन् । सन् २००७ देखि २०१० सम्म राष्ट्रिय टिमबाट खेलेकी खेलाडी हुन्, मनीषा रावल । प्रारम्भिक छनोटमा परेकी अन्जना सिग्देललाई परिवारले क्रिकेट खेल्न नदिएपछि रावलले अवसर पाएकी थिइन् । कोहलपुरको चप्परगौडीकी सीता रानामगर अहिले पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको महत्वपूर्ण सदस्य छिन् ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध राना प्रतिभाशाली र अनुभवी खेलाडी हुन् । अर्की खेलाडी हुन् बिनु बुढामगर । उनले पनि सन् २०१० सम्म राष्ट्रिय टिमबाट खेलेकी थिइन् । उनी अलराउण्डर हुन् । उनी सशस्त्र प्रहरीमा कार्यरत छिन् । स्लो बलिङ र ब्याटिङमा विशेष क्षमता भएकी तृष्णा सिंह पनि बाँकेकी हुन् । राष्ट्रिय टिमबाट खेल्ने बेला बाँकेका खेलाडी १३, १४ र १५ वर्षका मात्रै थिए । कप्तान नेरी ७ र उपकप्तान ममता कक्षा ६ मा पढ्थे ।

महिला क्रिकेट जगाउँदैछन् स्थानीय सरकार

महिला क्रिकेटको उदगम् थलो हो, बाँके । नेपालको पहिलो टिममा रहेका महिलाले क्रिकेटरहरूले अहिले सक्रिय खेलबाट सन्यास लिइसकेका छन् । सीता रानामगर अपवादका रूपमा अहिलेसम्म निरन्तर टिममा छिन् । अहिलेको महिला राष्ट्रिय क्रिकेट टिमको एकमात्र पहिलो पुस्ताकी खेलाडी हुन् उनी । नेरी थापा र ममता थापा अहिले पनि क्रिकेट विकासमै सक्रिय छन् ।

कुनैबेला राष्ट्रिय टिममा सातजना खेलाडी खेलेको बाँके पछिल्लो दशक भने महिला क्रिकेट निकै सुस्तायो । शुन्यतामा पुगेको महिला क्रिकेट जोगाउन नेरी र ममताहरूले आफ्नो तर्फबाट भूमिका खेलिरहेका छन् । त्यसमा इँटा थप्ने काम गरेका छन्, यहाँका स्थानीय सरकारले ।
जिल्लाका आठवटै स्थानीय तहमा नगरप्रमुख र उपप्रमुखका नाममा विभिन्न खेलकुद गतिविधि हुन्छन् ।

त्यसमा महिला क्रिकेटसमेत एक रहेको छ । एलबी क्षेत्री भन्छन्, ‘नेपाली महिला क्रिकेटको शुभारम्भ बाँकेबाट भएको हो । त्यति बेलाको स्वर्ण पुस्ता अहिले पनि क्रिकेट खेलिरहेको छ । केही समय विविध कारणले सुस्ताएको महिला क्रिकेट अहिले पुनः जिवित हुँदैछ । अहिले स्थानीय सरकारले महिला क्रिकेटलाई प्राथमिकता दिइरहेका छन् । जुन निकै सराहनीय छ ।’ उनले विद्यालयस्तरमा समेत यस्ता प्रतियोगिता आवश्यक रहेको र स्थानीय सरकारले नीतिगत रूपमा यस्ता प्रतियोगितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार