12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

हवाई मार्गबाट निर्माणका सामग्री ढुवानी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख २८, २०७७  

सुर्खेत ।

हुम्लामा हवाई मार्गबाट विकास निर्माणका सामग्री ढुवानी सुरु गरिएको छ । विकास निर्माणका काम अघि बढाउने सरकारको निर्णयसँगै हुम्लामा रोकिएका विकास निर्माणका कामहरु सुचारु हुन थालेपछि उक्त सामग्रीहरु बाँकेको नेपालगञ्जबाट ढुवानी सुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले निर्माण व्यवसायीहरुको सिफारिसमा तोकिएका विकासे योजनाका लागि आवश्यक सामानहरुको लागि गृह मन्त्रालयबाट सहमति लिएर सामानहरुको ढुवानी सुरु भएको जानकारी दिइन् ।

यसमा पाइप, रड, जस्तापाता, सिमेन्ट, किलाकाँटीहरु, विद्युतका पोल आउने गरेका छन् । यसबाट खानेपानी, सिंचाई, भवन, विद्युत आयोजना, सडक निर्माण जस्ता तीन दर्जनभन्दा बढी योजनाका कामहरु अगाडी बढ्नेछन् ।

सीता एयरका हुम्ला इन्चार्ज छेपाल लामाले शुक्रबार मात्र सात वटा उडानबाट विकास निर्माणका सामानहरु नेपालगञ्जबाट ढुवानी भएको र अब केही दिन यो क्रम जारी रहने जानकारी दिए । विकास निर्माणका सामानहरु ढुवानी सुरु भएपछि धेरै योजनाहरुको काम सुरु हुन थाल्ने निर्माण व्यवसायीले बताएका छन् । सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका विकास योजनाहरुको निर्माण कार्य अगाडी बढ्न सहज हुनेछ ।

प्रकाशित मितिः आइतवार, बैशाख २८, २०७७     8:33:24 AM  |