सुर्खेत ।
कर्णाली प्रदेश सरकारले कर्णाली सात दिनको लागि सिल गर्ने निर्णय गरेको छ । प्रदेश ५ र सुदूरपश्चिममा कोरोना संक्रमण देखिएपछि सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयपछि कर्णाली पूर्ण रुपमा सिल हुनेछ । बैठकले प्रदेशका २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने पनि निर्णय गरेको सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले जानकारी दिए ।
यसअघि २५ स्थानमा टोली खटाउने निर्णय गरेको भएपनि डोल्पाका दुई स्थान थप गरिएको छ । ‘गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिनेछ,’ उनले भने, ‘आवश्यक परेको खण्डमा सोही ठाउँमा आइसोलेसन वार्ड समेत सञ्चालन गरिनेछ भने परीक्षण र उपचारलाई सँगसँगै लगिनेछ । उनका अनुसार स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रुत परीक्षण (आरडीटी)सँगै गर्नेछ । सरकारले सुर्खेतको कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्ने जनाएको छ । प्रतिष्ठानका चिकित्सक साविकको कर्णालीमा परिचालन हुनेछन् भने सुर्खेतका चिकित्सक अरु जिल्लामा खटाइनेछ ।
आवश्यकता अनुसार सम्बन्धित जिल्लाका चिकित्सक पनि तोकिएका स्थानमा जाने प्रबन्ध मिलाइएको मन्त्री रावलले थपे । देश ४२ दिन यता लकडाउन भएपनि स्थानीय तह र प्रदेश सरकारको समन्वयमा पछिल्लो समय उद्धारका नाममा मान्छे ओसारपोसार भइरहेको थियो । प्रदेश सिल गर्ने निर्णयसँगै अब आवतजावत बन्द गरिने भएको छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउनयता कर्णालीमा प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन् ।









प्रतिक्रिया दिनुहोस्