कोहलपुर :
जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकाया माथि कार्यपालिका बैठक मै दुव्यवहार भएको छ । बैशाख १२ गते बसेको गाउँकार्यपालिका बैठक चलिरहेको अवस्थामा उपाध्यक्ष रोकाया माथि गाउँपालिका कै प्रमुख प्रशासकीय अधिकृत टोप बहादुर बुढा र नेकपा जुम्लाका जिल्ला सदस्य अम्मर बहादुरले शाहीले दुव्यवहार गरेका हुन् ।
गाउँकार्यपालिकाको बैठक कक्षमा राहत वितरण विषयमा आफूले आफ्नो धारणा राख्दा अधिकृत बुढा र शाहीले अस्लिल शब्द प्रयोग गर्दै अभद्र व्यवहार गर्दै गरेको आरोप लगाएकी हुन् । शाहीले कानुनी रुपमा कार्यपालिका बैठकमा बस्न नपाउने र टोप बहादुर बुढाले नै अनधिकृत रुपमा प्रवेश गरि आफूलाई हातपात गरेको भन्दै कानुनी कारबाहीको लागि दुवै जना विरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएकी हुन । शाही नेकपा जुम्लाका सदस्य हुन् ।
हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुढा र नेता शाहीले आफू माथि योजनाबद्ध रुपमा अभद्र व्यवहार गर्दै आएको उनले जाहेरी पत्रमा उल्लेख गरेकी छन् । ‘म न्यायिक समितिकी संयोजकलाई कार्यपालिकाको बैठकभित्र कार्यालय कै कर्मचारी टोप बहादुर बुढाले अनधिकृत व्यक्ति अम्मर बहादुर शाहीलाई प्रवेश गराई हातपात तथा हैरानी बनाएका छन् ’ उक्त जाहेरी पत्रमा उल्लेख गरिएको छ ।
‘ दुवैजनालाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा ११८ को उपदफा २ अनुसार हदै सम्म कारबाही गरिपाउँ ।’ साथै उनले टोप बहादुर बुढा र अम्मर बहादुर शाही दुवै जनाले यो भन्दा पहिलाका कार्यपालिका बैठक र कार्यशाला बैठकमा आफ्नो प्रतिष्ठा र मानमर्यादालाई ख्याल नगरि अमर्यादित व्यवहार गर्दै मानसिक रुपमा तनाव दिदैँ आएको उल्लेख गरिएको छ ।
दुवै जनाको कारणले आफू कार्यकक्षमा बसि दैनिक काम गर्न सक्ने वातावरण समेत नरहेको उनको भनाई छ ।‘मलाई कार्यापालिका बैठकमा दुवै व्यक्तिबाट हातपात र अभद्र व्यवहार भएको हो । मैले जिल्ला प्रहरी कार्यालय जुम्लामा दुवै जना बिरुद्ध जाहेरी दिएकी छु । मुद्धा दर्ता समेत भइसकेको छ । दर्ता नम्बर ५५ हो ।केहीबेरमा पत्रकार सम्मेलनको आयोजना गर्दैछु ।’
मिसन टुडे सँगको कुराकानीमा उनले भनिन् । यस विषयमा नीज टोप बहादुर बुढालाई फोन गर्दा सम्पर्क हुन सकेन । यता जिल्ला प्रहरी कार्यालय जुम्लाले पनि उपाध्यक्ष रोकायाको जाहेरी दर्ता भइसकेको जनाएको छ । कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले आफू माथि कार्यपालिका बैठकमा दुव्यवहार भएको भन्दै उपाध्यक्ष रोकायाले उजुरी दिएको र जाहेरी दर्ता भएको बताए । उनका अनुसार यस विषयमा प्रहरीले अनुसन्धान थालिसकेको छ ।यता गाउँपालिका अध्यक्ष रज बहादुर शाहीले कार्यपालिका बैठक सामान्य विवाद मात्रै भएको प्रतिक्रिया दिएका छन् ।