२३ औं दिनमा दशगजा क्वारेन्टिनका फर्किए घर



नेपालगञ्ज ।

बाँकेको जमुनाह नाका स्थित दशगजामा रहेको अस्थायी क्वारेन्टिनमा रहेका १ सय ८१ जनालाई घर पठाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले संघिय सरकारको समन्वयमा शुक्रबार २२ औं दिनमा घर पठाएको हो । सीमा नाका बन्द भएको समयमा भारतका विभिन्न स्थानबाट घर फर्किएका उनीहरुलाई कोरोनाको जोखिमले गर्दा नेपाली सुरक्षाकर्मीहरुले दशगजामा नै रोकेर राखेका थिए । दशगजामा अलपत्र परेका नेपालीहरुलाई सोही क्षेत्रमा अस्थायी क्वारेन्टिन बनाएर राखिएको थियो ।

स्थानीय प्रशासनको समन्वयमा उनीहरुलाई नेपाली सेनाले एकैदिनमा निर्माण गरेको क्वारेन्टिनमा सबै व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गर्ने व्यवस्था मिलाइएको थियो । नेपाली पक्षले भारतीय क्वारेन्टिनमा पठाउने प्रयास गरेपनि उनीहरुले भारतीय भूमिमा नजाने बरु नेपाली भूमिमा नै जती दिन पनि बस्न तयार रहेको बताएका थिए । गत चैत्र १९ गते दशगजा नजिक टेन्ट लगाएर बनाइएको क्वारेन्टिनमा १ सय ८१ जना पुरुषहरुलाई राखिएको थियो ।

१५ औं दिनमा उनीहरुको कोरोना परीक्षणको लागि ‘आरडीटि’ टेष्ट गरिएको थियो । त्यस क्रममा सबैजनाको रिपोर्ट नेगेटिभ आएपछि बाँके प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकाले घर पठाउन तयारी थालेको थियो । तर, केन्द्र सरकारसँगको प्रभावकारी समन्वय बिनै गरिएको प्रयासलाई गृहले रोकेको थियो । त्यसपछि क्वारेन्टिनमा बसेका उनीहरुले घर जान नपाएपछि आन्दोलन गर्ने भन्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणा मार्फत प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई ज्ञापन पत्र बुझाएका थिए ।

त्यसपछि बाँके प्रशासनले गृह मन्त्रालयसँग समन्वय गरेपछि २३ औं दिनमा शुक्रबार उनीहरुलाई गाडि व्यवस्था गरेर आफ्नो आफ्नो घर पठाइएको हो । बाँके प्रशासनले उनीहरुलाई घर पठाउनको लागि ७ वटा गाडीको व्यवस्था मिलाएको थियो । देशका विभिन्न जिल्लाका १ सय ८१ जनालाई जिल्लागत रुपमा पायक पर्नेगरि सोही अनुसार गाडी व्यवस्था गरेर पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए ।

उनका अनुसार बाँकेका २५ जना र बर्दियाका दुई जनालाई एउटा गाडी, दाङदेखि पूर्व झापासम्मका ५७ जनालाई एउटा गाडी, बर्दियाका थप १२ जनालाई छुट्टै एउटा गाडी, जुम्ला, मुगु र अछामका २३ जनालाई एउटा गाडी,सल्यान, रुकुम र जाजरकोटका १४ जनालाई एउटा गाडी, रोल्पा र प्यूठानका १९ जनालाई एउटा गाडी र दैलेख र सुर्खेतका २८ जनालाई एउटा गाडीमा राखेर पठाइएको थियो । दशगजामा रहेको अस्थायी क्वारेन्टिनमा रहेका सबै १सय ८१ जनालाई नै घर पठाइएपछि उक्त क्वारेन्टिन खाली भएको छ ।

सरकारको नियम अनुसार उनीहरु सबै आफ्नो पालिकामा पुगेपछि थप १४ दिन क्वारेन्टिनमा बस्नुपर्छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले अन्य ठाउँको क्यारेन्टिनमा जतिसुकै दिन बसेपनि स्थानीय तहको क्वारेन्टिनमा पनि थप १४ दिन बस्नुपर्ने अनिवार्य गरिएको बताए । गृह मन्त्रालयले भारतबाट आएकाहरुलाई पालिकाले बनाएको क्वारेन्टिनमा थप १४ दिन बस्नुपर्ने नियम बनाएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ वैशाख १३ गते शनिबार