कोहलपुर ।
यहाँका राजनीतिक दलहरुले कोहलपुर नगरपालिकासँगको सहकार्यमा लकडाउनको मारमा परेका मजदुरहरुलाई खाना खुवाउने देखि उद्धारको काम गरिरहेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले जारी गरेको लकडाउनमा अलपत्र परेका नागरिकहरुलाई बिशेष सक्रियताका साथ खाना खुवाउनेदेखि उद्धार गर्ने काम भइरहेको हो ।
केही दिन यता कोहलपुरको चौराहामा देशका विभिन्न जिल्लाबाट हिडेर आएका नागरिकहरुलाई नेपाली काँग्रेस र नेकपाले नगरपालिकालाई सघाइरहेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अलपत्र परेका नागरिकहरुलाई खाजा खुवाउने, स्वास्थ्य जाँच गर्ने तथा नागरिकहरुलाई उद्धार कार्य गरिरहेको छ भने नेपाली काँग्रेस वडा नम्बर ११ वडा कमिटिको संयोजनमा अलपत्र नागरिकहरुलाई खाना खुवाउने गरिदै आएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरले नागरिक सहायता कक्ष र कोहलपुर नगरपालिकाले समेत अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था मिलाएको छ । यस्तै विभिन्न संघ संस्था तथा व्यक्तिहरुले समेत नागरिकहरुलाई सहयोग गरिरहेका छन् । कोहलपुर चौराहामा खानेपानीको समेत व्यवस्था गरिनुका साथै कोहलपुर नगरपालिकाको अनुरोधमा यहाँका विभिन्न नीजि विद्यालयहरुले समेत यात्रुहरुलाई कोहलपुर नगरपालिकाका सिमा क्षेत्रमा पु¥याउने काम गर्ने गर्दछन् ।
तीन प्रदेशको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको कोहलपुर चौराहा हुदैँ कर्णाली तथा सुदूरपश्चिम तथा देशका अन्य भागमा विशेषगरि मजदुरहरु आवातजावात गर्छन् । लकडाउनको समयमा विशेष गरि नेपाली काँग्रेस र नेकपाले चौराहामा छुट्टा छुट्टै बोर्ड टाँगेर आ–आफ्नै रुपमा खाना खुवाउने र उद्धार गर्ने काम गरिरहेका छन् । नेकपा कोहलपुर अध्यक्ष बसन्ती अधिकारीले विपत्तिको समयमा पार्टीगत स्वार्थ भन्दा माथि उठेर सहयोग गरिरहेको बताइन् ।
विगत एकसाता देखि लकडाउनका कारण रोजगारी गुमाएका मजदुरहरुलाई स्थानीय सरकारको समन्वयमा उद्धार कार्य गरिरहेको उनले जानकारी दिइन् । ‘दैनिक सयौ मानिसको आवातजावत हुन्छ । म व्यक्तिगत रुपमा समेत मजदुरको उद्धारमा खटे । त्यसपछि पार्टीले सहयोग गर्यो । अन्य पार्टीले समेत सुरु गरेका छन् । नागरिकलाई परामर्शका साथै सुरक्षित रहनको लागि आह्वान गरेका छौ’ अध्यक्ष अधिकारीले भनिन् ।
नेकपाले ज्वरो नाप्ने थर्मोमिटरको समेत व्यवस्था गरेको छ । यो अवधिमा सम्पूर्ण नेता कार्यकर्ताहरुलाई सक्रिय रुपमा परिचालन गरिएको उनले बताइन् । सोमबार मात्रै कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका ५ सय ९ जनालाई उद्धार गरि पठाइएको अध्यक्ष अधिकारीले जानकारी दिइन् ।
यस्तै नेपाली काँग्रेस निकट प्रजातान्त्रिक व्यवसायी संघ र नेपाली काँग्रेस वडा नम्बर ११ ले मेस नै सञ्चालन खाना खुवाइरहेका छन् । वडा कमिटी अध्यक्ष मोहन प्रसाद चापागाईका अनुसार नगरपालिकासँग संयोजन गरि विभिन्न संस्था, व्यक्तिहरुको सहयोग र वडा कमिटिको संयोजनमा मजदुरहरुलाई खाना खुवाउने काम भइरहेको बताए ।
कोरोना महामारीको बेला वडा कमिटिले जनताको सहजताको लागि सहयोग गरेको उनले दाबी गरे । उता क्रिसा कोहलपुरले समेत दैनिक ३ वटा गाडी विभिन्न जिल्लाबाट आएका मजदुरहरुलाई ओसार्नको लागि प्रयोग गरिरहेको छ । दैनिक चौराहामा आउने नागरिकहरुको स्वास्थ्य जाँच गर्नको लागि खटिएका स्वास्थ्यकर्मी सुदीप देवकोटाले दैनिक ५ सय जनाको स्वास्थ्य जाँच गर्ने गरिएको बताए । उनका अनुसार एक साताको अवधिमा करिब १५ सय भन्दा बढीको स्वास्थ्य जाँच गरिएको छ ।
पछिल्लो केही दिनयता भने मानिसहरुको संख्या घटिरहेको उनको भनाई छ । ‘सुरुवाती दिनमा मानिसको निकै ठूलो चाप थियो । केही दिन यता भने मानिसको चाप घटिरहेको छ । अहिले सरकारले मानिसहरुका आइरहेको ठाउँबाट बसको व्यवस्था गरेकाले धेरै मानिस यहाँ नरोकिएरै जान्छन्’ उनले भने ।