विश्वमा महामारीको रुपमा फैलिएको नोवल कोराना भाइरस अर्थात कोभिड–१९ संक्रमणबाट विश्व नै अहिले आक्रान्त बनिरहेको अवस्था छ । नेपाल पनि यसको संक्रमण देखा परिसकेको छ । अहिलेसम्म नौ जनामा यसको संक्रमण पुष्टि भई सकेको छ भने कोरोनाको संक्रमण भएको आशंकामा कयौलाई क्वारेन्टाइन तथा आसोलेसनमा राखिएको छ । यसको संक्रमण फैलिन नदिन नेपाल सरकारले देशभरि लकडाउन लागु गरेको छ । विभिन्न जिल्लाहरुको उच्च सर्तकता अपनाउनुका साथै पूर्व तयारीलाई समेत तीव्रता दिइएको छ । बाँके जिल्ला पनि यसको उच्च जोखिममा छ । भारतसंगको सिमा जोडिएको जिल्ला भएकाले बाँकेमा जोखिम छ नै । त्यसमा अझै खुला सिमाका कारण चुनौती थपिएको छ । जिल्लाको कोहलपुर नगरपालिका पनि कोरोना संक्रमण फैलिन सक्नेसंवेदनशिल क्षेत्र पर्दछ । यहाँका सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुलाई कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तयारी अवस्थामै राखिएको छ । उनीहरुलाई अत्यावश्यक काम बाहेक विदामा नबस्न समेत निर्देशन दिइएको छ । यसै सन्दर्भमा कोहलपुरमा कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणको तयारीबारे नगर स्वास्थ्य संयोजक डिल्लीराज पोख्रेलसंग यानबी साहुले गरेको कुराकानी :
१. कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कोहलपुमा तयारी के कस्तो छ ?
विश्वमा महामारीका रुपमा फैलिएको नोवल कोराना भाइरस अर्थात कोभिड–१९ को संक्रमण नेपालमा पनि देखा परिसकेको अवस्था छ । यसको नियन्त्रणका लागि नेपाल सरकारले अहिले देशभर लकडाउन लागू गरेको छ । विभिन्न जिल्लाहरुमा उच्च सतर्कतासंगै पूर्व तयारी सेमत भइरेको छ । बाँके जिल्ला पनि यसको उच्च जोखिममा छ । संक्रमण फैलिन नदिन जिल्लामा उच्च सतर्कता अपनाइएको छ । त्यसका साथै जिल्लाको कोहलपुर क्षेत्र पनि कोरोनाको लागि एकदमै संवेदनशिल क्षेत्रको हो । कोरोनाको संक्रमण फैलिन नदिन र यसको रोकथाम तथा नियन्त्रणका लागि हामीले आवश्यक सम्पूर्ण तयारीहरु गरेका छौँ र गरिरहेका पनि छौँ । प्रचारप्रसार, जनचेतनाका कार्यक्रम, हेल्थडेस्क, क्वारेन्टाइ निर्माण व्यवस्थापन, नगरभित्र रहेका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक तयारी गरिएको छ । साथै महिला स्वयंसेविकाहरुमार्फत गाउँगाउँमा गएर प्रचार प्रसार गर्ने कार्य पनि गरिरहेका छौँ ।
२. पछिल्लो समय कोरोनाको सन्त्रास बढिरहको अवस्थामा स्वास्थ्य संस्थाहरुमा आउने विरामीहरुको संख्या कस्तो छ ?
अहिले सरकारको निर्देशन अनुसार अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गरिएको छ । कोहलपुर नगरपालिमा रहेका सेवा प्रवाह हुने स्वास्थ्य संस्थाहरुबाट प्रसूती सेवा र ज्वरो जेकजाँच बाहेकका सबै सेवा बन्द छन् । अत्यावश्यक सेवालाई बढी प्राथमिकता दिइएको छ । यो अवस्थामा कोहलपुर नगरपालिका क्षेत्रमा रहेका १२ वटै स्वास्थ्य संस्थाहरु खुल्ला अवस्थामा नै छन् । अहिले विरामीहरुको चाप खासै बढेको त छैन्, तैपनि अहिले सिजन नै भएकाले सामान्य ज्वरो, रुघा, खोकीको विरामीहरु बढी आउने गरेका छन् ।
३. स्वास्थ्य संस्थामा आउने विरामीहरुमध्ये अहिलेसम्म कुनै त्यस्तो कोरोनासंग मिल्दा जुल्दा लक्षण भएका फेला परेका छन् ?
कोहलपुर क्षेत्रका स्वास्थ्य संस्थाहरुमा अहिलेसम्म त्यस्तो कुनै विरामीहरु फेला परेको अवस्था त छैन । अलिधेरै ‘हाईफिवर’ भएको विरामी आएको छ भने हामीले त्यसको परिवारको हिष्ट्री हेर्छौ । उसको परिवारका कुनै अन्य सदस्यहरु विरामी छन् कि ? अथवा विदेशबाट आएका छन कि छैनन् भन्ने जस्ता कुराहरु बुझिसकेपछि धरै ज्वरो आएको अवस्थामा हामी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रिफर गर्ने गरेका छौँ । र अहिलेसम्म त्यस्तो विरामी फेला परेका छैनन् ।
४. स्वास्थ्यचौकीहरुमा आउने सामान्य ज्वरो, रुघाखोकीका विरामीहरुका लागि औषधीको पर्याप्तता कस्तो छ ?
नोवल कोराना भाइरस, फ्लू जस्ता भाइरहेको औषधी चाहिँ हुँदैन नै । अन्य सामान्यतया रुघाखोकी, ज्वरो लागि दिइने सिटामोल जस्ता औषधीको पर्याप्त नै छन् । अहिलेसम्मको अवस्थामा कोहलपुरमा औषधीको अभाव देखिएको छैन् । नगरभित्रका सबै स्वास्थ्य संस्थाहरुमा अहिलेको समयम बढी आउने विरामीहरु भनेका नै रुघाखोकी, ज्वरोका हुन् । त्यसका लागि चाहिने औषधी पर्याप्त मात्रामा नै छ ।
५. कोरोना भाइरसको चेकजाँचमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको लागि चाहिने आवश्यक सामग्रीको अभाव भएको हो ?
विशेष गरी अहिले हामीलाई प्रदेश सरकारबाट आउनु पर्ने आवश्यक स्वास्थ्य सामग्रीहरु पर्याप्त मात्रामा आएको छैन । तर पनि कोहलपुर नगरपालिकाको प्रयासमा स्वास्थ्यकर्मीहरुलाई चाहिने आश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्थापन गरेको छौँ । चेकजाँच गर्दा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई आवश्यक पर्ने पीपीई सेट, सेनिटाइजर, सर्जिकल माक्स, ग्लोब्स् लगायतका सामाग्रीहरु स्वास्थ्यकर्मीदेखि महिला स्वास्थ्य स्वयंसेविकाहरुसम्म पनि पु¥याउने कोशिस गरिरहेका छौँ ।
६. कोहलपुर नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको व्यवस्था कसरी मिलाउनु भएको छ ?
नेपाल सरकारको परिपत्रअनुसार चैत ४ गतेदेखि नै हामीले नगरपालिका क्षेत्रमा रहेका सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक काम बाहेक विदा नबस्न निर्देशन दिएका छौँ । प्रसूती र किरीया विदा बाहेक अन्य सबै समयमा नागरिकको सेवामा खट्न भनेका छौँ । र अहिले सम्म नगरका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आ–आफ्नो ड्यूटीमा निरन्तर खटिरहनु भएको पनि छ ।
७. अन्त्यमा आम नगरवासीहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?
सबैभन्दा पहिले म आम नगरवासीहरुलाई के भन्न चाहन्छु भने अहिलेको सिजन नै रुघाखोकीको भएकोले सामान्य ज्वरो, रुघाखोकी लाग्दैमा आत्तिहाल्नु पर्ने अवस्था छैन । खासगरी, अहिले नोवल कोराना भाइरसको संक्रमण फैलिन सक्ने अवस्था पनि रहेकोले यसबाट बच्नका लागि सबैभन्दा उत्तम उपाय भनेको ‘सेल्फ क्वारेन्टाइन’ अर्थात घरमै सुरक्षितसंग बस्नु नै हो । अनावश्यक रुपमा घरबाहिर नजाने, घर वा छिमेकमा कुनै व्यक्ति विदेशबाट आएको छ भने उसको सम्र्पकमा नजाने र त्यस्तो कुनै पनि कोरोनासंग मिल्ने खालका लक्षण वा समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थाहरुमा सम्पर्क राखौँ । अन्त्यमा हामी सबै अरु प्यक्तिको सम्पर्कबाट टाढै रहौँ, आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।









प्रतिक्रिया दिनुहोस्