15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

मनकारी युवा बिष्ट : जुम्लाका दलित, दृष्टिबिहिन र अपांगलाई गरे खाद्यान्न सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र २५, २०७६  

कोहलपुर :

जुम्लाको पातारासी गाउँपालिकाका एक युवाले जुम्लाका दलित बस्ती र विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । हाल काठमाडौँमा रहेका प्रतिक बिष्ट‐अमर)ले कोरोना भाइरसका कारण समस्यामा परेका तथा आर्थिक रुपमा विपन्न परिवार र दृष्टिविहिन व्यक्तिहरुलाई व्यक्तिगत खर्चमा सहयोग गरेका हुन् ।

उनले जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मीगाउँका दृष्टिविहिन परिवार गोरीकला कुँवर र मान बहादुर कुँवर, चन्दननाथ नगरपालिका वडा नम्बर ७ उम्माडकी अपांगता भएकी बालिका पशुपति शाहीलाई प्रति व्यक्ति पाँच बोरा चामल सहयोग गरे ।

यस्तै उनले तातोपानी गाउँपालिका नै वडा नम्बर ६ रावतबाडाका १५ जना दलित परिवारलाई प्रति व्यक्ति १ बोरा चामल सहयोग गरेका हुन् । लामो समयदेखि देशभरका विपन्नहरुलाई सहयोग गदै आएका बिष्टले विपत्तिको बेला समस्यामा परेका व्यक्तिहरुलाई केही राहात मिलोस भन्ने उद्देश्यले आफूले सहयोग गरेको बताए । उनका अनुसार ती व्यक्ति र दलित समुदायका व्यक्तिहरु केही दिन भएपनि आफूले प्रदान गरेको सहयोगले छाक टार्न सहयोग पुग्ने अपेक्षा छ ।

‘मेरो व्यक्तिगत खर्च कटाएर उनीहरुलाई सहयोग गरेको हुँ ।यस्तो विपत्तिको बेला सबैले आफूले पुगेको सहयोग गर्नुपर्छ’ मनकारी युवा बिष्टले भने,‘म भौगोलिक रुपमा आफ्नो जन्मभूमि भन्दा टाढा भएपनि भावनात्मक रुपमा नजिक छु । अरु बेला पनि यस्ता विपन्नहरुको लागि मैले सकेको सहयोग गर्ने छु। ’ स्थानीय सरकारले समेत आफूहरुलाई सहयोग नगरेको बेला अपरिचित व्यक्तिले सहयोग गरेको भन्दै दृष्टिबिहिन परिवारले निकै खुसी व्यक्त गरेका छन् ।

हामी कहिल्यै संसार देख्दैनौ, कष्टकर जीवन कटाउँदै आएका थियौ दृष्टिविहिन गोरिकला भन्छिन्,‘ राहात पाउँदा निकै खुसी लागेको छ ।हामी दृष्टिविहिनलाई सहयोग गर्नेलाई धन्यावाद छ ।’ यस्तै अपांगता भएकी पशुपति शाहीकी आमा पम्पा शाहीले समेत खुसी प्रकट गरिन् ।

तातोपानी ६ रावतबाडाका दलित युवा कविराज कामीले समेत गाउँका विपन्न समुदायलाई सहयोग गरेको भन्दै सहयोग गर्ने व्यक्ति बिष्टलाई धन्यावाद दिए ।कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको मारमा परेका दलित समुदायलाई एक जनता व्यक्तिले गरेको सहयोग निकै सह्रानीय भएको उनको भनाई छ ।

राहात वितरणमा सहभागी वडा तातोपानी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिशाल खड्का समेत एकजना व्यक्तिले व्यक्तिगत खर्चबाट यत्रो ठूलो सहयोग गर्नु स्वागतयोग्य कार्य भएको बताए ।

गाउँपालिका मै विपन्न व्यक्तिहरुको वडाको रुपमा रहेको वडा नम्बर ६ का दलित परिवारलाई सहयोगले निकै राहात हुने उनको विस्वास छ । वडा अध्यक्ष खड्काले गाउँपालिका तथा वडा कार्यालयले समेत वडामा रहेको विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग गर्ने तयारी थालेको जानकारी दिए ।

बिष्ट कै सहयोगमा बाँकेको कोहलपुर नगरपालिकामा बसोबास गर्दै आएका १ सय जना भन्दा बढी गन्धर्व तथा सुकुम्बासीहरुलाई खाद्यन्न सहयोगको तयारी भइरहेको छ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र २५, २०७६     5:48:29 PM  |