कोहलपुर ।
देशभर सञ्चालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि बाँकेको कोहलपुर नगरपालिकामा उत्साहजनक रुपमा आवेदन परेको छ । फागुुन अन्तिम साताबाट शुरु हुने कार्यक्रमको लागि नगरपालिकामा उत्साहजनक रुपमा आवेदन परेको हो ।
नगरपालिकामा रहेको रोजगार सूचना केन्द्रले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि कुल ५ हजार ४ सय २१ जनाले बेरोजगार सूचीमा आफ्नो नाम दर्ता गराएको जनाएको छ । यो कार्यक्रमको लागि संघिय सरकार अन्तरर्गतको श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले चालु आर्थिक वर्षमा कोहलपुर नगरपालिकालाई ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि नगरभित्र १७ वटा योजना छनोट गरिसकिएको छ ।
यस अघि नगरपालिकामा आवश्यक २३ वटा योजना छनौट गरेर मन्त्रालयमा पठाइएको थियो । रोजगार संयोजक भद्र बहादुर थापाका अनुसार मन्त्रालयले पठाएको रकमबाट नगरपालिकाको विकास र बेरोजगार जनशक्ति लाभान्वित हुनेगरी कार्यक्रम सञ्चालन गरिने बताए ।
उनका अनुसार सडक-तटबन्धन निर्माण, शिक्षा क्षेत्रको विकास, स्वास्थ्य तथा कृषि र वृक्षारोपण लगायतका योजना छनोट भएका छन् । यो वर्ष लागत सहभागितामा आधारित योजना र पूर्ण बेरोजगारहरुलाई लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुने थापाले दाबी गरे ।
तीन महिना सञ्चालन हुने कार्यक्रमको लागि पुरुष भन्दा महिलाले बढी आवेदन दिएका छन् । नगरपालिकाका १५ वटै वडाको तथ्यांक हेर्दा आवेदन दिनेमा पुरुषको भन्दा महिलाको संख्या झण्डै तेब्बर देखिएको छ । सबैभन्दा बढी वडा नम्बर १२ बाट रोजगारीका लागि आवेदन परेको छ । चालु आर्थिक वर्ष २०७६-०७७ का लागि वडा नम्बर १२ बाट मात्रै ५ सय ८४ महिला र ३ सय ९९ पुरुष गरी ९ सय ८३ जना बेरोजगार व्यक्तिहरुले आवेदन दिएका छन् । सबैभन्दा कम वडा नम्बर ९ बाट २२ महिला र ४९ पुरुष गरी ७१ जनाले मात्र आवेदन दिएको बताइएको छ । यसैगरी वडा नम्बर १ बाट महिला २ सय ३०, पुरुष ९८, वडा नम्बर २ बाट महिला ४ सय ६०, पुरुष १ सय ६९ जनाको आवेदन परेको छ ।
भने वडा नम्बर ३ बाट महिला १ सय ९१, पुरुष १ सय १५, वडा नम्बर ४ बाट महिला ८४, पुरुष ३६, वडा नम्बर ५ बाट महिला २ सय ८५, पुरुष १ सय १७ जनाले रोजगारीका लागि आवेदन दिएको संयोजक थापाले जानकारी दिए ।
त्यसैगरी वडा नम्बर ६ बाट महिला १ सय ७, पुरुष ५४, वडा नम्बर ७ बाट महिला ५२, पुरुष ५७ जना ,वडा नम्बर ८ बाट महिला २ सय ३१, पुरुष ९८ जना वडा नम्बर रहेका छन् । वडा नम्बर १० बाट महिला २ सय ७६, पुरुष १ सय ३४, वडा नम्बर ११ बाट महिला २ सय ३३, पुरुष १ सय २४ जनाले आवेदन परेको छ ।
संयोजक थापाका अनुसार वडा नम्बर १३ बाट महिला ३ सय ३२, पुरुष २ सय १, वडा नम्बर १४ बाट महिला ३ सय ३०, पुरुष १ सय ४५ र १५ नम्बर वडाबाट १ सय १४ महिला र १ सय २ पुरुषले रोजगारीका लागि आवेदन दिएका छन् । नगरपालिकाका १५ वटै वडाहरुबाट ३ हजार ४ सय ९५ जना महिला र १ हजार ९ सय २६ जना पुरुषले आवेदन दिएको उनले बताए ।
आवेदन दिएकाहरु मध्ये प्राथमिकताका आधारमा छनौट भएकाहरुलाई नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक सय दिन बराबरको रोजगारी दिनेछ ।








प्रतिक्रिया दिनुहोस्