डिल्ली शाही ।
बाँकेको कोहलपुरमा नगरपालिकामा सञ्चालित संस्थागत विद्यालय मापदण्ड अनुसार चल्नुपर्ने यहाँका सरोकारवालाले बताएका छन् । नीति, नियम र कानुनको विपरित विद्यालय सञ्चालन भइरहेको गुनासो आउने गरेको भन्दै सरकारको मापदण्ड अनुसार चल्नुपर्र्ने उनीहरुले बताएका हुन् ।
कोहलपुरलाई शैक्षिक हबको रुपमा विकास गर्नको लागि सामुदायिक र सस्थागत विद्यालयहरु एकता र सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेकोमा सरोकारवालाहरुले जोड दिएका थिए ।
बुधबार कोहलपुरमा आयोजित संस्थागत विद्यालयहरुको भूमिका र मापदण्ड कार्यान्वयन गर्नका लागि कार्यशालामा यस्तो बताइएको थियो । कार्यशालामा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले नीति र नियम भन्दा बाहिर कोही पनि हुनै नसक्ने बताए । ‘सामुदायिक हुन या संस्थागत हुन सबै मापदण्ड अनुसार चल्नु पर्दछ’ उनले भने, ‘कसैलाई काखा र कसैलाई पाखा गरिदैन, सबै मापदण्ड अनुसार चल्नुपर्छ ।’
उनले सस्थागत विद्यालयमा अनुगमन गर्दा दिइएका सुझावहरुको पालना गर्नै पर्ने बताए । प्रमुख रावतका अनुसार कोहलपुरलाई शैक्षिक हबको रुपमा विकास गर्नको लागि एकलोटी अघि बढ्नु हुदैन । सबै विद्यालयले एउटै प्राविधिक विषयहरु अध्यापन गराउँदा समस्या हुन सक्ने भएकोले फरक—फरक प्राविधिक विषयहरु सुरुवात अध्यापन गराउनको लागि मापदण्डको परिधिमा रहनुपर्ने उनको भनाई थियो ।
यस्तै नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख अनन्त कुमार पौड्यालले कोहलपुरका विद्यालयहरु नीति, नियम, नियामावली, कार्यविधि अनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । ‘संघीय शिक्षा ऐन, स्थानीय शिक्षा ऐन अनुसार विद्यालयको मापदण्ड पुरा गरिनुपर्दछ ’उनले भने,‘ सोही अनुसार मापदण्ड पुरा नगरेको खण्डमा कक्षा थप गरिने छैनन ।’ तर मापदण्ड कार्यान्वयन नहुँदा सामाजिक र शैक्षिक द्वन्द्व बढको उनको भनाई थियो ।
यसैगरी पञ्चुमुखी अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक तथा नेशनल प्याब्सनका बरिष्ठ उपाध्यक्ष किशोर राज मल्लले मापदण्ड विपरित सञ्चालित विद्यालय भएमा सुझाव दिन आग्रह गरे । कोहलपुरका शैक्षिक विकासमा संस्थागत विद्यालयहरुको पनि भूमिका रहेको भन्दै केही कमिकमजोरी सामुदायिक र संस्थागत जो कोहीमा पनि सुर्धिनु पर्नेमा उनले जोड दिए ।
उनका अनुसार चालु वर्षमा कक्षा थपको लागि आएको फाइलहरुलाई रोक्का नगरिदिनुहोस् । आगामी वर्षमा कक्षा थप गर्नको लागि पठाएका फाइलहरुलाई मापदण्ड प्रक्रिया पुरा भएकाहरुलाई अनुमति दिन पनि उनले आग्रह गरेका छन् । कोहलपुर नगरका शिक्षक महासंघ अध्यक्ष रामप्रसाद चापाँगाईले संस्थागत विद्यालयहरुमा काम गर्ने शिक्षकहरु माथि श्रमशोषण भइरहेको बताए ।
‘तपाईहरु मान्नुहोस या नमान्नुहोस् संस्थागत विद्यालयहरुमा शिक्षकलाई थोरै तलब दिइएको छ, उनले भने,‘सामुदायिकहरुमा पाँच हजारका शिक्षक छैनन, सामुदायिकमा थोरै तलब पाएको भनेको प्रारम्भिक बालविकासमा होलान् ।’








प्रतिक्रिया दिनुहोस्