कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० मा रहेको रुपाचा बिलिभर्स इंलिस स्कुलले १३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधवार स्कूलमा आयोजित औपचारिक समारोहको कोहलपुर नगरपालिकाका नगर शिक्षा प्रमुख अनन्त कुमार पौड्यालले उद्घाटन गरेका थिए । उनले कोहलपुर शैक्षिक विकासको चरणमा रहेको बताए । यहाँको शिक्षा क्षेत्रको विकासको लागि संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको उनले दाबी गरे ।
‘सामुदायिक र संस्थागत विद्यालयहरु बीच रहेको दुरी घटाउन आवश्यक छ’ शाखा प्रमुख पौड्यालले भने, ‘कतिपय अवस्थामा संस्थागत विद्यालयहरु सरकारको नीति नियम नमान्ने खालका गतिविधिहरु गर्दछन् ।’ कोहलपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष निम बहादुर चलाउनेले संस्थागत विद्यालय गुणस्तरीय शिक्षाका पर्याय भएको बताएका थिए । ‘कोहलपुरलाई शैक्षिक हबको रुपमा लिइन्छ’ उनले भने, ‘कतिपय योजना अहिले पनि कार्यान्वयन हुन सकेका छैनन् । यस्तो अवस्थामा सामुदायिक तथा नीजि विद्यालयहरु बीच सहकार्य र सहयोगको आवश्यकता रहेको छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उर बहादुर घलेले आफ्नो विद्यालयले गुणस्तरीय शिक्षालाई जोड दिइरहेको बताए । आगामी दिनमा समेत गुणस्तरीय शिक्षाको लागि विद्यालय सधै लागिपर्ने उनले दाबी गरे । कार्यक्रमको अवसरमा शैक्षिक वर्षको वार्षिक परिक्षामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेका नर्सरी देखि कक्षा आठ सम्मका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । भने विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्