कोहलपुर ।
वर्तमान सरकार विकास र समृद्धिको यात्रामा लम्किरहेको सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बताएका छन् । दुई वर्षको अवधिमा जनताको पक्षमा काम गर्दै हरेक दिन सरकार एक कदम अघि बढिरहेको बताए । गोरखापत्र दैनिक कोहलपुर संस्करणको बुधबार शुभारम्भ गर्दै उनले उक्त कुरा बताएका हुन् । मन्त्री बाँस्कोटाले सरकारका गरेका राम्रा कामहरुको प्रचार गर्न नसक्नेहरुले प्रतिशोधका आधारमा विरोध गरिरहेको आरोप लगाए ।
उनले वर्तमान् सरकारले जनताको पक्षमा काम गर्दै आएको जिकिर गरे । ‘यहाँ धेरैलाई सरकारको प्रगती देख्न नसक्ने रोग लागेको छ’ उनले भने, ‘कसैले विरोध गरेर हुदैन हामी जनता कै पक्षमा काम गरिरहेका छौ ।’ ‘मान्छेहरु अहिले पनि सरकारले क्या ग¥या छ भन्छन्’ मन्त्री बाँस्कोटाले एक टेलिसियलको उदाहरण प्रस्तुत गर्दै सधै ‘भोक लाग्यो’ भन्ने एउटा पात्र थियो भन्दै उदाहरण सुनाए । ‘भर्खर खाएर गएको हुन्छ जहाँ गएपनि पनि उतिबेलै ‘भोक लाग्यो’ भनिरहन्छ । केही साथीहरुलाई यस्तै रोग लाग्या छ, केही पनि भएन, केही पनि भएन भन्नु हुन्छ’ उनले भने, ‘उनीहरुले टेलिभिजनको त्यो पात्र सँग मित लगाए हुन्छ ।’ सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्वका काम गर्दै गएको बताउँदै मन्त्री बाँस्कोटाले काम गरेर आफूमाथिका आरोप असत्य प्रमाणित गर्दै गएको बताएका थिए ।
‘समृद्धि र सुख कुनै बाटो, पुल, खानेपानी र ढल जस्तो होइन, यो एउटा राष्ट्रिय चिन्तन प्रणालीसहितको लम्बेयात्राका रुपमा बुझ्नु पर्दछ’, उनले भने, ‘मान्छेहरु भन्छन् जनता निराश भएको छ । केही भएन । आलोचना गर्न पाइन्छ तर, भएका काम देखाउन नसक्ने कुराले चाहिँ वास्तवमा पछि असत्य सावित हुन्छ र हामी त्यसैको प्रतीक्षामा छाँँै ।’ मन्त्री बाँस्कोटाले सरकारप्रति जनता खुशी रहेको र अझै खुशी बनाउन लागि परेको बताउँदै ‘सम्पूर्ण सफलता हासिल गरेका छैनौँ । शुरुआत हो । अहिलेको सरकार चटके सरकार होइन । हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौँ ।’ उनले सरकारले हरेक दिन देश एककदम अगाडि बढ्ने गरी काम गरिरहेकाले अब देश पछाडि फर्किन नसक्ने बताए । ‘सरकारले काम गरिरहेको छ, एउटा त आजैको गोरखापत्र कोहलपुर संस्करणको कुरा हेरौँन । यो पनि काम हो । त्यसैले हामीले भनेका छौँ, हरेक दिन एककदम अगाडि । अब देश पछाडि फर्किन सक्दैन’ मन्त्री बाँस्कोटाले भने ।
हरेक देशमा मिडिया सरकारको पनि हुने गरेको प्रसङ्ग जोड्दै उनले नेपालमा केही भयो भने राज्यको आधिकारिकताको लागि स्वतन्त्रतासहित एउटा राज्यको मिडियाको रुपमा गोरखापत्रलाई विकास गर्न खोजेको बताए । मन्त्री बाँस्कोटाले गौरवपूर्ण इतिहासलाई वर्तमानका चुनौतीसँग एकाकार गराएर गोरखापत्र मिडियाको बजारमा सरकारको साँख र काखमा हुर्केर होइन, प्रतिष्पर्धा र पहलकदमीको आधारमा श्रेष्ठ बन्नुपर्ने जोड दिएका थिए । ‘यो सत्ता पक्षको होइन, जनताको प्रिय पत्रिका बन्छ । त्यसैको सिलसिलामा विराटनगरमा पक्की भवन र छापाखानासहित प्रकाशन शुरु गरिसकेको र कोहलपुरमा पनि भवन बनाउनका लागि बोलपत्र भइसकेको छ’, उनले भने, ‘सडकका खाल्डा देखाउन गोरखापत्रले डराउनु पर्दैन तर पिच गरिरहेको छ भने त्यो पनि देखाउन सक्नुपर्दछ ।’
‘एक आँखो प्रेस हुँदैन । एक आँखो चिम्लिने त शिकारी हुन्छ । प्रेसले चाहिँ दुईवटै आँखा खुल्ला गर्नु पर्दछ, उनले भने, ‘तर अहिलेको प्रवृत्ति कस्तो छ भने शिकारीले जस्तो सरकारलाई ठोक्ने भएको छ, तर जति ठोके पनि केही फरकै पर्दैन । हामी काम गरिरहन्छौँ र काम गर्न छोड्दैनौँ ।’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले देशको सम्पत्तिलाई हिनामिना गर्ने जो कोहीलाई पनि कानून, तथ्य, प्रमाण र बेइमानीका हदहरुको आधारमा सरकारले निर्ममतापूर्वक कारवाही अगाडि बढाउने बताए । उनले भने, ‘देश बदल्ने बेला यही हो यति बलियो सरकार भएको बेला नबदलेर कहिले बदल्ने । पूर्वाग्रह नराखिकन तथ्यपूर्ण तरिकाले सरकार अगाडि बढ्छ, बेथिति रोक्दै गएपछि समृद्धिका आधारशिला निर्माण हुँदै जान्छन् ।’








प्रतिक्रिया दिनुहोस्