डिल्ली शाही ।
लगातार तीन पटक अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जित्दै गोर्खा यूनाइटेड स्कुल कोहलपुरले ह्याट्रिक गरेको छ । बाँकेको कोहलपुरमा आयोजित अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको तेस्रो संस्करणमा समेत गोर्खाले उपाधी जित्दै ह्याट्रिक गरेको हो ।
यसअघि सम्पन्न मेयर कपका पहिलो र दोस्रो संस्करणमा समेत गोर्खा यूनाइटेडले उपाधी उचालेको थियो । २०७४, २०७५ र २०७६ सालमा भएका कोहलपुर मेयर कप खेलकुद प्रतियोगिताको उपाधी लगातार गोर्खाले जितेर ह्याट्रिक गरेको हो । मेयर कपको पहिलो संस्करणमा गोर्खाले ९ स्वर्ण, २ रजत र ४ काष्य ल्याउँदै उपाधी जितेको थियो भने दोस्रो संस्करणमा १० स्वर्ण, २ रजत र ४ काष्य ल्यायो । मंगलबार सम्पन्न मेयर कपको तेस्रो संस्करणमा गोर्खाले १४ स्वर्ण, ५ रजत र २ काष्य प्राप्त गर्दै तेस्रो पटक पनि उपाधि जित्न सफल भएको थियो ।
गोर्खाले छात्रातर्फ एक सय, दुई सय, चार सय, आठ सय दौड, चार गुणा एक सय, चार गुणा चार सय रिले दौड, लङ्गजम्प, हाइजम्प र भलिवलमा स्वर्ण पदक जितेको थियो । छात्रतर्फ आठ सय, एक हजार पाँच सय मिटर दौड, चार गुणा एक सय, चार गुणा चार सय रिले दौड र लङ्गजम्पमा स्वर्ण पदक प्राप्त गरेका थिए । मेयर कपको तेस्रो संस्करणमा त्रिभुवन माध्यामिक विद्यालय उप विजेता बन्न सफल भएको थियो । उसले ७ स्वर्ण, ४ रजत र ६ काष्य पदक जितेको हो । २ स्वर्ण ल्याउँदै तेस्रो लक्ष्मी माध्यामिक विद्यालय बर्दहवा तेस्रो हुन सफल भयो ।
लगातार तीन पटकसम्म मेयर कपको उपाधी जित्दै ह्याट्रिक गरेको गोर्खाले नगद ३८ हजार २ सय ५० रुपैयाँ, शिल्डको साथै विजेता खेलाडीहरुले प्रमाणपत्र प्राप्त गरेका थिए । गत फागुन २ गतेदेखि ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माध्यामिक विद्यालयको व्यवस्थापनमा मेयर कपको तेस्रो संस्करण शुरु भएको थियो । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वर गहतराज ‘अथक’ले बाँके खेलाडि उत्पादन गर्ने थलो भएको बताएका थिए । ‘स्थानीय तह देखि केन्द्रिय स्तरसम्म पनि खेलाडिको लागि अर्बौ लगानी गरिरहेको छ’ उनले भने, ‘जसले खेलाडिको भविष्य सुनिश्चत गर्नेछ ।’
खेलकुदको माध्यामबाट नेपाललाई विश्वमा चिनाउने समेत यसले निकै ठुलो महत्व दिने उनले भनाई रहेको थियो । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले खेलकुदबाट नै कोहलपुरलाई नेपालभरी चिनाउने विश्वास व्यक्त गरेका थिए । ‘खेलकुदबाट छनोट भएका खेलाडिहरुलाई १२ औ राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागि जनाउन पाउने अवसर प्रदान गरिएको छ’ उनले भने, ‘यसका लागि कोहलपुर नगरपालिकाले प्रत्येक वर्षमा लगानी लगाउने समेत प्रतिबद्धता व्यक्त गर्दछु ।’









प्रतिक्रिया दिनुहोस्