तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने छात्र छात्रा खेलाडीहरुले आगामी दिनमा हुन गइरहेको १२ औं राष्ट्र«पति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा भाग लिन पाउँनेछन् ।
डिल्ली शाही ।
बाँकेको कोहलपुरमा तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका शुक्रबारदेखि कोहलपुरमा मेयर कप रनिङ्ग शिल्डको तेस्रो संस्करण शुरु भएको हो । मेयर कप तेस्रो संस्करणको उद्घाटन एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवले गरेका थिए । कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माध्यामिक विद्यालयको व्यवस्थापनमा मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा विभिन्न १५ विद्याका खेलहरु सञ्चालन हुने प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन संयोजक विरेन्द्र कुमार मल्लले जानकारी दिए ।
उनका अनुसार एथ्लेटिक्स तर्फ छात्र छात्रा एक सय, दुई सय, चार सय, आठ सय, पन्ध्र सय र तीन हजार मीटर दौड हुनेछ । त्यसैगरी चार गुणा सय, चार गुणा चार सय मिटर रिले दौड, हाइजम्प, लङ्गजम्प ट्रिपलजम्प, ट्रिपलजम्प, सटपट र जेभलिन खेल समावेश गरीएका छन् । प्रतियोगितामा छात्र छात्रा भलिवल र कबड्डी खेलहरु समेत हुनेछन् । प्रतियोगिता अन्तरर्गतका खेलहरु आज बिहान ७ बजेदेखि शुरु हुने कृष्ण माध्यामिक विद्यालयका प्रधानाध्यापक रहेका मल्लले जानकारी दिए । मेयर कप रनिङ्ग शिल्डमा कोहलपुर नगर भित्रका ३३ विद्यालयका ६ सय ५८ जना छात्र छात्राहरुले सहभागिता जनाएका छन् ।
आज शुरु हुने छात्रा भलिवलतर्फ १ देखि ११ नम्बर सम्मका विद्यालयले प्रतिस्पर्धा गर्नेछन् भने कबड्डी खेलमा पनि १ देखि १३ नम्बरका विद्यालयहरुले प्रतिस्पर्धा गर्नेछन् । एथ्लेटिक्स तर्फका खेलहरुमा भने सबै विद्यालयका खेलाडीहरुले सहभागिता जनाउने प्रधानाध्यापक मल्लले बताए ।
यो प्रतियोगिताबाट उत्कृष्ट भएका छात्र छात्रा खेलाडीहरुलाई आसन्न दिनमा हुन गइरहेको १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा समावेश गराइने नगरपालिकाले जनाएको छ । तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड उद्घाटन पुर्व नगर प्रमुख रावत, शिक्षा तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव, सामाजिक विकास समिति संयोजक नारायणी वली र नगर शिक्षा शाखा प्रमुख अन्नत कुमार पौड्याललाई विद्यार्थीहरुले सलामी दिएका थिए ।
सोही अवसरमा प्रदेश नम्बर ५ बाट प्रतिनिधित्व गरी ११ औं राष्«टपति रनिङ्ग शिल्ड राष्ट्रिय प्रतियोगिता २०७५ मा प्रथम स्थान ल्याएका विद्यार्थी तथा प्रशिक्षकहरुलाई समेत नगदसहित सम्मान गरिएको थियो । यसैबिच प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख श्रीवास्तवले कोहलपुरलाई खेलकुदको हवको रुपमा विकास गरिने बताएका थिए ।
‘यस स्थानले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु जन्माएको छ’ उनले भने, ‘खेलकुद जस्तै शिक्षा र स्वास्थ्य क्षेत्रमा कोहलपुर निकै अगाडि छ । अब नगरपालिकाले नयाँ रणनितिहरु बनाउनुपर्ने देखिन्छ ।’ कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले खेलकुद मार्फत बाँके जिल्लालाई विश्वमा चिनाउनुपर्नेमा जोड दिए ।






















प्रतिक्रिया दिनुहोस्