चेत नारायण पाण्डेय । सुर्खेत ।
कर्णाली प्रदेशको सुर्खेतमा स्थापना हुन लागेको पहिलो ग्याँस उद्योग भौतिक संरचना निर्माण हुन थालेसँगै स्थानीयको विरोधका कारण निमार्णको काम बन्द हुने अवस्थामा पुगेको छ । सुर्खेतको भेरीगगा नगरपालिकाले पहिला निर्माण गर्ने अनुमति दिएको भएपनि स्थानीयको विरोधपछि काम रोक्न पत्र पठाए पश्चात विवाद चुलिएको हो । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. ४ दमारमा निर्माण हुन लागेको बर्षा ग्याँस प्रा.लीलाई भवन संरचना निर्माण गरिरहेको बेला स्थानीयले विरोध गरेका थिए ।
नगरपालिकामा स्थानीयले उद्योगको आसपासमा घनाबस्ती, खेतीयोग्य जमिन र वनजंगल भएको भन्दै काम अगाडी बढाउन नमिल्ने भन्दै निवेदन नगरपालिकाकामा पेश गरेका थिए । स्थानीयको लिखित निवेदनपछि नगरपालिकाले काम अघि नबढाउन निर्देशन दिएको हो । दमारका एक स्थानीयसाी भुपेन्द्र देवकोटाले बर्षा ग्याँस उद्योगको आसपासको क्षेत्र घनाबस्ती, खेतीयोग्य जमिन र वनजंगल भएको बताए । उनले ग्याँस उद्योग सञ्चालनका लागि उद्योगले मापदण्ड पुरा नगरेको दाबी गरे ।
बजारदेखि ४ सय मिटरको दुरीमा रहेकोले स्थानीय जनता सहमत हुन नसकेको उनले जानकारी दिए । ‘ग्याँस उद्योगले स्थानीयलाई झुक्काएर भेला नगराई मनपरी गरेको छ’ स्थानीय देवकोटाले भने, ‘हामी उक्त ग्याँस उद्योग कुनै पनि हालतमा सञ्चालन गर्न दिदैनौं ।’ स्थानीय जनतालाई विभिन्न प्रलोभनमा पारी कम्पनी दर्ता गर्नका लागि कागजमा हस्ताक्षर गराएको आरोप उनले लगाए । न्युनतम् मापदण्ड पनि पुरा नभएको भन्दै कुनै पनि हालतमा ग्याँस उद्योग संचालन हुन नदिने अर्का स्थानीय श्यामलाल ढकालले बताए ।
केही वर्ष पहिले स्थानीय जनतालाई विभिन्न किसिमको प्रलोभन र झुठ्ठा आश्वासन दिई उद्योग सञ्चालन गर्नु उद्योगले खोजेको भन्दै कदापी नमान्ने उनले दाबी गरे । नगरपालिका, उद्योग संचालकले स्थानीयको मागको सुनुवाई नभए कडा आन्दोलना गर्ने स्थानीयहरुले चेतावनी दिएका छन् । वडा नम्बर ४ का वडा सदस्य रेशम बहादुर पुनले नगरपालिकामा जानकारी गराएको र सबैको सहमतिमा नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेर सञ्चालनका लागि अनुमति प्रदान गरिने बताए ।
उनका अनुसार नगरपालिकाले अबको केही दिनमा कार्यपालिका बैठक बसाली विवादित समुह बीच छलफल गर्नेछ । ‘नगरपालिकाले जे जस्तो भनेपनि कुनै पनि हालतमा दमारमा ग्याँस उद्योग संचालन गर्न दिदैनौँ, आवश्यक परे काठमाण्डौँ डेलिगेशन जान तयार रहेका छौ, उनले भने, ‘कुनै पनि कम्पनी स्थापना हुनु पुर्व वातावरणीय मुल्यांकन हुनपर्ने र सहरी क्षेत्र भन्दा करिब ५ किलोमिटर टाढा हुनपुर्ने मापदण्ड छ, सोही अनुरुप काम हुनुपर्छ ।’ भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्दले हाललाई काम रोक्न पत्र पठाईएको जानकारी दिए । उद्योग संचालकसँग बसेर कम्पनी सार्ने र वातावरणीय मुल्यांकन लगायतका बिषयमा छलफल गरिने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्