23 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

उद्योग तथा आपूर्ति मन्त्री भट्टले उद्घाटन गर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस २४, २०७६  

कोहलपुर ।  बाँकेको कोहलपुरमा आजदेखि तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सव २०७६ सुरु हुँदैछ । महोत्सवको संघिय सरकारका उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको आयोजना महोत्सव हुन गइरहेको हो ।

बिहीबारदेखि सुरु हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भइसकेको महोत्सव मुल समितिका संयोजक हेमविक्रम जिसीले जानकारी दिए । ‘महोत्सवको भव्य समारोहका बिच उद्योग तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ’ उनले भने,‘हामीले महोत्सवको सम्पुर्ण तयारी पुरा गरिसकेका छौं ।’ महोत्सवको पुर्वसध्यामा बुधबार साँझ महोत्सव स्थलको जिल्ला स्थित सुरक्षा निकायहरुले स्थलगत अवलोकन गरेका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, प्रहरी उपरीक्षक वीर बहादुर ओली, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी लगायतका सुरक्षा अधिकारीहरुले स्थलगत अवलोकन गरेका हुन् । त्यस क्रममा विधि, निति, नियम सबै पुरा गरी गरिने सबै खाले कामहरुमा सहयोग रहने बताएका थिए । ‘महोत्सव सञ्चालन गर्नका लागि विधि, निति, नियम सबै पुरा गर्नुपर्छ’ प्रमुख जिल्ला अधिकारी खड्काले भने, ‘महोत्सव सञ्चालन गर्ने अधिकार सबैलाई हुन्छ । जिल्ला प्रशासनबाट पूर्ण रुपमा सहयोग हुनेछ ।’

महोत्सवमा सुरक्षाको प्रत्याभूति हुने गरी प्रहरी परिचालन गरिसकेको प्रहरी उपरीक्षक ओलीले जानकारी दिए । कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले अहिलेको महोत्सवमा पादर्शिकता हुने नगरपालिकाले विश्वास लिएको बताएका थिए । यसपटकको महोत्सवलाई अन्य महोत्सवभन्दा पृथक बनाउन प्रयास गरिएको संयोजक जिसीले जानकारी दिए ।

घरेलु उत्पादनलाई विशेष जोड दिईएको महोत्सवमा व्यवसायीक, होटल, हस्तकलाका साथै कृषि उत्पादन गरी ३०० स्टल राखिएको उनले बताए । महोत्सव कुनै समुह तथा संस्थालाई ठेक्कामा दिएको भन्ने कुरामा कुनै सत्यता नभएको महोत्सव मुल आयोजक समितिका संयोजक जिसीले दाबी गरे । ‘महोत्सव ठेक्कामा दिइएको भन्ने कुरा मैले पनी सुनेको छु । यो महोत्सव विरोधीहरुले फैलाएको हल्ला मात्र हो’ उनले भने, ‘यसमा कुनै पनि सत्यता छैन । स्टल लगायतका कामहरु गर्दा ठेक्का दिएका हौं ।’ महोत्सवमा सुरक्षालाई ध्यानमा राखेर सुरक्षाकर्मी परिचालन गर्नुको साथै सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ ।

‘हामी महोत्सव अवलोकन गर्न आउनेहरुको सुरक्षामा कुनै कमी हुन दिदैनौं’ महोत्सव सचिवालयका संयोजक चिन्तामणी उपाध्याय (सिएम) ले भने, ‘त्यसको लागि महोत्सवमा स्थलमा प्रविधीको प्रयोग समेत गरेका छौं ।’ माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवको एक लाख पचास हजार बढीले अवलोकलन गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सवबाट बचत हुने रकम नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको भवन निर्माणमा खर्च गरिने महोत्सव मुल समितिका संयोजक जिसीले दाबी गरे ।

महोत्सव अवलोकन गर्न आउने दर्शकहरुका लागि निशुल्क स्वास्थ्य शिविर, दन्त शिविर तथा रक्त परिक्षणको समेत व्यवस्था मिलाईएको बताइएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणलाई रु. ५० र विद्यार्थी, अपाङ्ग तथा जेष्ठ नागरीकहरुलाई रु. ४० का दरले टिकटको व्यवस्था गरिएको छ ।

कलाकारलाई नेपाली पहिरन महोत्सवमा आफ्नो प्रस्तुती दिन आउँने कलाकारहरुलाई नेपाली पहिरन अनिवार्य गरीएको छ । महोत्सवलाई भव्य र सभ्य बनाउन सबै कलाकारहरुलाई साँस्कृतीक पहिरनमा आउन आग्रह गरीएको महोत्सव मुल समितिका संयोजक जिसीले जानकारी दिए । विशेषगरी लोक गायिका ज्योती मगर र प्रिती आलेलाई गुन्ह्यु चोलीमा मञ्च उकाल्ने तयारी गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।

‘कलाकारहरु सबै जनालाई साँस्कृतीक भेषभुषामा आउन आग्रह गरिएको छ’ उनले भने, ‘विगतको जस्तो विवाद हुने गरी कलाकारहरुलाई मञ्चमा उकालिने छैन । ‘विगतको जस्तो विवाद हुने गरी कलाकारहरुलाई मञ्चमा उकालिने छैन ।’ महोत्सव अवधीभर दुई दर्जन बढी राष्ट्रिय तथा त्यती नै संख्यामा स्थानीय कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

प्रकाशित मितिः बिहिबार, पुस २४, २०७६     7:45:15 AM  |