रावन बिश्वकर्मा, बाँसगढी । बर्दियामा सप्ताह व्यापी कार्यक्रम गरी २२ औँ भुकम्प सुरक्षा दिवस मनाउने निर्णय गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका अध्यक्ष प्रेमलाल लामिछानेको अध्यक्षतामा आईतबार बसेको बैठकले भुकम्प सुरक्षा दिवस सप्ताह व्यापी कार्यक्रम गरी भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
‘विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पुरा गर्न जिम्वेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने नाराका साथ दिवसको अवसरमा पौष २६ गते देखि माघ १० गते सम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको छ । २२ औँ भुकम्प सुरक्षा दिवस माघ २ गते पर्ने भएपनि व्यापक प्रचारप्रसारका लागि सप्ताह व्यापी कार्यक्रमहरु गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष लामिछानेले जानकारी दिए । दिवसको अवसरमा पौष २६ गते देखि माघ १० गते सम्म ८ वटै स्थानीय तहका विद्यालय र समुदाय स्तरमा भुकम्प सुरक्षा र्याली तथा कृतिम घटना अभ्यास र भुकम्प सम्बन्धि अभिमुखिकरण कार्यक्रम समेत गरिनेछ ।
त्यस्तै जिल्ला भरी नै भुकम्प सुरक्षा सम्बन्धि सन्दर्भ सामाग्री प्रकाशन तथा वितरण गर्ने र बाँसगढी, बढैयाताल, ठाकुरद्धारा, राजापुर लगायतका स्थानमा सञ्चालन गरिने माघी महोत्सवमा स्टल राख्ने, पौष २६ गते देखि एकहप्ता सम्म सबै स्थानीय तहहरुमा भुकम्प प्रतिरोधात्मक भवन र संरचना निर्माण सम्बन्धि अभिमुखिकरण तथा अनुगमन गर्ने कार्यक्रम तय गरिएको छ । समितिले भुकम्प सुरक्षा दिवसका दिन माघ २ गते स्थानिय तह तथा सदरमुकाममा भुकम्प प्रतिरोधी भवन निर्माण आचारसंहितामा सामुहिक प्रतिबद्धता सहित हस्ताक्षर संकलन अभियान सञ्चालन गर्ने निर्णय समेत गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ ।
दिवसको अवधिमा स्थानिय रेडियो तथा पत्रपत्रिकाबाट भुकम्पीय जोखिम न्युनिकरण तथा पुर्व तयारी सम्बन्धी जनचेतना मुलक सूचना प्रकाशन तथा प्रसारण गरिने समेत जनाईएको छ । दिवसलाई भव्य रुपमा सफल पार्न जिल्ला समन्वय समिति बर्दिया, स्थानीय तह, शिक्षा विकास तथा समन्वय ईकाइ, विपद्मा कार्य गर्ने संघ संस्था, सुरक्षा निकाय, नेपाल रेडक्रस सोसाईटी, नेपाल पत्रकार महासंघ र स्थानीय सञ्चार माध्यम लगायतले सहयोगी भुमिका निर्भाह गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्