खुल्यो औषधी व्यवसायी संघ बर्दियाको कार्यालय



रावन बिश्वकर्मा, बाँसगढी ।  नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बर्दियाले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । सदरमुकाम गुलरियामा कार्यालयको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले शनिबार उद्घाटन गरे । उनले उपभोक्ताहरुलाई नकारात्मक प्रभाव नपर्ने गरी चिकित्सकबाट तोकिएको औषधी मात्र वितरण गर्न औषधी व्यवसायीहरुलाई आग्रह गरेका थिए । त्यस्तै भेरी अञ्चल औषधी व्यवसायी संघका अध्यक्ष अभय कुमार बस्नेतले गैरकानुनी रुपमा सिमावर्ती क्षेत्रबाट भित्र्याईएका र चिकित्सकको सिफारिस विना आफु खुसी औषधी वितरण नगर्न व्यवसायीहरुलाई अनुरोध गरे ।

संघको नियम बिपरित काम गर्ने औषधी व्यवसायीहरुलाई संघले कुनै सहयोग नगर्ने समेत उनले चेतावनी दिए । कार्यालय सञ्चालकका लागि नेपाल औषधी व्यवसायी संघ बर्दियाका कोषाध्यक्ष दिवाकर घिमिरेले कोठा निशुल्क उपलब्ध गराएको र आवश्यक सामाग्री खरिद गरी कार्यालय सञ्चालनमा ल्याएको संघका अध्यक्ष सुरेश कुमार रेग्मीले जानकारी दिए । संघ औषधी व्यवसायीहरुको हक हितमा लाग्ने र सामाजिक कार्यमा समेत लाग्ने उद्देश्यका साथ काम गरिरहेको उनले बताए । उनका अनुसार बर्दियामा संघको कार्यालय सञ्चालनमा आएसँगै औषधी व्यवसायीहरुको नेपालगञ्जबाट गरिने सबै कामहरु अब बर्दियाबाट नै हुनेछन् ।

उक्त अवसरमा औषधी व्यवसायीहरुलाई क्षयरोग, भाईरल ज्वरो, सिकलसेल एनिमिया, थालेसेमिया लगायतका विभिन्न खोपहरुको बारेमा बाल रोग बिशेषज्ञहरुले प्रशिक्षण दिएका थिए । बिभिन्न रोग नियन्त्रण र राज्यले ल्याएको निति नियमका बिषयमा समेत सहजिकरण गरिएको हो । सहभागि औषधी व्यवसायीहरुलाई बाल रोग विशेषज्ञ डा.रोमा बोहोराले अभिमुखिकरण दिएकी थिइन् । औषधी व्यवसायी संघ बर्दियामा १ सय २५ जना सदस्य रहेका छन् । गत असोज २१ गते रेग्मीको अध्यक्षतामा ११ सदस्य जिल्ला समिति गठन गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २१ गते सोमबार