27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

‘भ्रमण वर्ष पर्यटन क्षेत्रमा कोशेढुङ्गा सावित हुनेछ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस १७, २०७६  

कोहलपुर ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले नेपाल भ्रमण वर्ष २०२० नेपालको पर्यटन विकासका क्षेत्रमा कोशेढुङ्गा सावित हुने बताएका
छन् । बाँके राष्ट्रिय निकुञ्जमा बुधबार हात्ती सफारी उद्घाटनका क्रममा उनले नेपाल आउने विदेशी पर्यटकहरुको संख्या दोब्बर बनाउने सरकारको नितीअनुसार नै भ्रमण वर्षको आयोजना गरिएको बताए ।

उनले पर्यटकहरुको संख्या बढाउन पर्यटकीय गन्तव्यहरुको विकास विना सम्भव नभएकोले ती क्षेत्रहरुको विकास जरुरी रहेको बताएका थिए । पर्यटकीय गन्तव्यहरुको विकास गर्न सकेमात्रै पर्यटकहरुको संख्या बढाउन र उनीहरुको बसाईको अवधि पनि लम्ब्याउन सकिने मुख्यमन्त्री पोख्रेलको भनाई थियो । बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी सुभारम्भ भएसँगै बाह्य तथा आन्तरिक पर्यटकको संख्यामा बृद्धि हुने विश्वास उनले व्यक्त गरे ।

पर्यटकको संख्या बढाई पर्यटन क्षेत्रको विकास गर्नका लागि सबैभन्दा पहिले आन्तरिक पर्यटक बृद्धिमा जोड दिन आवश्यक रहेकोमा उनले जोड दिएका थिए । जति धेरै आन्तरिक पर्यटक भित्र्याउन सक्यो त्यसको जगमा पर्यटन पूर्वाधार तयार भई बाह्य पर्यटकहरुको आगमन बढ्ने मुख्यमन्त्री पोख्रेलले बताए । ‘पहिले आन्तरिक पर्यटन प्रवद्र्धन नगरी एकैपटक बाह्य पर्यटक भित्र्याउन सम्भव छैन’ उनले भने, ‘त्यसैले प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिएको छ, यस अघिको लुम्विनी भ्रमण वर्ष होस् या अहिलेको नेपाल भ्रमण वर्ष ।’

आन्तरिक पर्यटक वृद्धिका लागि कम्तिमा पनि हप्ताको एक पटक घर बाहिर खाना खाने संस्कृतिको विकास गर्न जरुरी रहेको भन्दै उनले त्यसले पर्यटन प्रवद्र्धनमा पूर्वाधार विकासको जग निर्माण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । बाँके जिल्ला प्रदेश पाँचमा होटल व्यवसायका लागि पनि महत्पूर्ण ठाउँ भएकाले ती होटलहरुलाई व्यवस्थित गर्न सके आन्तरिक पर्यटक बृद्धि हुने मुख्यमन्त्री पोख्रेलको भनाई थियो । यहाँका होटल व्यवसायलाई दिगो बनाउन व्यवसायीहरुले ‘टुर प्याकेज’ निर्माण गरी विभिन्न विन्दुहरुसँग जोड्न सक्नुपर्ने उनले बताए । त्यसको लागि बाँके राष्ट्रिय निकुञ्जको जंगल सफारी पनि एक विन्दु रहेको बताउँदै मुख्यमन्त्री पोख्रेलले यो संगै अन्य बर्दियाको ठाकुरद्वारा, मुगुको रारा, जुम्लाको सिञ्जा लगायत यस्ता थुप्रै विन्दुहरुलाई जोड्न सकिएको खण्डमा बाँकेलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने दाबी गरे ।

उनले नेपाल भ्रमण वर्षका अवसरमा हरेक नेपालीले नेपालका पर्यटकीय गन्तव्यमा परिवारसँगै घुम्ने योजना बनाउन पनि आग्रह गरे । अर्को प्रसंगमा बाँके राष्ट्रिय निकुञ्ज नयाँ भएकाले मानव–वन्यजन्तु विचको द्वन्द्व स्वाभाविक बढी नै हुने गरेको उनले बताएका थिए । मानव समुदायले वन्यजन्तुका लागि प्रकृतिमैत्री वातावरण सिर्जना गर्न सके त्यो कम हुँदै जाने मुख्यमन्त्री पोख्रेलले बताए । ‘जंगली जनावरहरु आफैमा हिंस्रक हुदैनन्’ उनले भने, ‘उनीहरुका स्वाभाव बुझ्न सके मित्रवत् व्यवहार गर्न सकिन्छ ।’

‘वन्यजन्तुका गतिविधिहरुमा बाधा अवरोध पु¥याए मात्र उनीहरुले मानवमाथि आक्रमण गर्छ’ मुख्यमन्त्री पोख्रेलले भने । यसका बारेमा आम नागरिकलाई जानकारी गराई उनीहरुलाई संरक्षणकारी अभियानमा संलग्न गराउन सकिए मानव वन्यजन्तुविचको द्वन्द्व कम गर्न सकिने उनको भनाई रहेको थियो । वन्यजन्तु र जैविक विविधताकोे संरक्षण गर्नसके पर्यटकहरुको संख्या बढ्न गई पर्यटक आधारित अर्थतन्त्रको माध्यमबाट जनताको जीवनस्तरमा बृद्धि गर्न सकिने मुख्यमन्त्री पोख्रेलले बताए ।

प्रकाशित मितिः बिहिबार, पुस १७, २०७६     6:57:09 AM  |