मकवानपुर जीप दुर्घटना, मृत्यु हुनेको संख्या ५ पुग्यो



काठमाडौं ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । अन्य ४ जना घाइते छन् ।

३ जनाको घटनास्थलमै र २ जनाको उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रदेश ३ का प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक अरुण पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।
मृतकहरु मध्ये हालसम्म २ जनाको मात्रै पहिचान खुलेको छ । मृत्यु हुनेमा राैतहटको चन्द्रपुर नगरपालिका-९ का २१ वर्षीय मनिष विक र उनकी श्रीमती २० वर्षीया सिर्जना विक रहेका छन् ।मृतक मध्ये १ महिला र २ पुरुषको पहिचान हुन बाँकी रहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।

घाइते ४ जना मध्ये २ जनाको काठमाडौंस्थित वयोदा हस्पिटल बल्खुमा र २ जनको मेडीसेटी हस्पिटल भैंसीपाटीमा उपचार भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए ।

रौतहटको चन्द्रपुरबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको जीप रामचन्द्र भञ्ज्याङको पाटेखोलामा सडकदेखि करिब ५ सय मिटर तल खसेको थियो ।

सिस्नेरी, छैमले, भिमफेदी र फर्पिङबाट आएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा अत्याधिक चिसोको कारण ब्रेक नलाग्दा दुर्घटना भएको हुन सक्ने देखिए पनि दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस ११ गते शुक्रबार