कोहलपुर ।
बाँके कोहलपुर नगरपालिकाका चार वटा वडालाई लक्षित गरेर ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गरिएको छ । स्वच्छ खानेपानीको सहज पहुँज विस्तारका लागि १५ वटा वडा मध्ये चार वटा वडामा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनमा गरिएको हो । नगरपालिकाका वडा नम्बर ६, ८, ९ र १० लाई लक्षित गरी योजना सञ्चालनमा ल्याउन अहिले पुर्वाधार निर्माणको काम चलिरहेको छ । एक हजार परिवारलाई स्वच्छ खानेपानी पु¥याउने लक्ष्यका साथ बृहत खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ ।
आयोजना निर्माणका लागि कोहलपुर नगरपालिका र प्रदेश ५ सरकारले लगानी गरेका छन् । गत आर्थिक वर्षबाट सुरु गरिएको विराट खानेपानी आयोजना आगामी फागुन महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाका अध्यक्ष सुदर्शन देवकोटाले फागुन महिनामा घरघरमा स्वच्छ खानेपानीका धारा पु¥याउनेको लागि युद्धस्तरमा काम भइरहेको बताए । ‘भौतिक निर्माण, भवन, पाईप विछ्याउने लगायत काम चालु आर्थिक वर्षमा नै सकिनेछन्’ उनले भने, ‘अहिले घर–घरमा धारा पु¥याउनको लागि तीव्र गतीमा काम गरिरहेका छौं ।’
घर–घरमा पाईप बिछ्याउनको लागि चालु आर्थिक वर्षको बजेटमा कोहलपुर नगरपालिकाले २० लाख र प्रदेश सरकारले १५ लाख सहयोग गरेको छ । कुल ३१ किलोमिटर क्षेत्रमा पाईप लाईन बिस्तार आवश्यक रहेको आयोजनाले जनाएको छ । अहिले सम्म १० किलोमिटर क्षेत्र सम्म पाईप बिछ्याउने काम सकिएको छ । आयोजना सम्पन्न गर्नको लागि ७ करोड भन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ ।
यसैबिच आयोजनाको भवनको शुक्रबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावत र खानेपानी तथा सरसफाई कार्यालय बाँकेका प्रमुख भोला प्रसाद थापाले संयुक्त रुपमा कार्यालय भवनको शिलान्यास गरेका थिए । खानेपानी तथा सरसफाई कार्यालय बाँकेका प्रमुख थापाले निजि धाराको अवधारणा अनुसार कोहलपुरमा नमूना आयोजनाको रुपमा लगानी गरिएको बताए । उनले चालु आर्थिक वर्षमा आयोजनाको पाँच कोठे भवन निर्माणका लागि खानेपानी तथा सरकारी डिभिजन कार्यालयले कुल १ करोड २० लाख सहयोग गरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्