रावन बिश्वकर्मा, बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिका ४५ जना कृषकहरुलाई हिउँदे तरकारी बालीको बिउ बितरण गरिएको छ । बाँसगढी नगरपालिकाको चालु आर्थिक वर्षको बार्षिक कार्यक्रम अनुसार कृषि विकास शाखा बाँसगढीले मंगलबार अति विपन्न कृषकहरुलाई हिउँदे तरकारीको बिउ बितरण गरेको हो । नगरपालिकामा रहेका ९ वटै वडाबाट छनोट गरिएका ५÷५ जना गरी ४५ जना अति विपन्न कृषकहरुलाई निःशुल्क हिउँदे तरकारी बालीको बिउ वितरण गरिएको थियो ।
अति विपन्न कृषकहरुको आर्थिक आय स्रोतमा बृद्धि होस् भन्ने उद्देश्यका साथ विभिन्न थरीका हिउँदे तरकारी बालीको बिउ बितरण गरिएको कृषि विकास शाखा प्रमुख लाल बहादुर खड्काले जानकारी दिए । उनका अनुसार काँक्रा, करेला, बोडी, भिन्डी, फर्सी र खुर्सानी गरी ६ थरीको हाईब्रेड तथा लोेकल जातका हिउँदे तरकारीको बिउ वितरण गरिएको हो । ‘वडाहरुमा कृषकहरुको लागि तरकारी खेती सम्बन्धी तालिम सञ्चालन गरिएको थियो’ उनले भने, ‘तालिम लिएका कृषकहरुको माग अनुसार नै तरकारी बालीको बिउ बितरण गरेका छौं ।’ बाँसगढी नगरपालिकाका उपप्रमुख सुष्मा चौधरीले कृषकहरुले निः शुल्क रुपमा पाएको तरकारीको बिउबाट धेरै भन्दा धेरै तरकारी उत्पादन गरी आर्थिक लाभ लिन आग्रह गरिन् ।
नगरपालिकाले सिजन अनुसार कृषकहरुलाई विभिन्न बालीका बिउ वितरण गर्दै आएको भए पनि सोचे अनुसारको कृषकहरुले लाभ लिन नसकेको उनले बताईन् । ‘प्रविधि युक्त खेती प्रणालीमा जव सम्म किसानहरु जान सक्नु हुन्न तव सम्म सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न कठिनाई हुन्छ’ उनले भनिन् ।
कृषि शाखाका प्राविधिक सहायक विकास उपाध्यायले वितरण गरिएका काँक्रा, करेला, बोडी, भिन्डी, फर्सी र खुर्सानीको बिउ लगाउने तरिकाका बारेमा जानकारी दिएका थिए । प्राविधिक राजु चौधरीले तरकारी खेती, रोग किरा र बिषादीको बारेमा कृषकहरुलाई जानकारी गराए । कृषि विकास शाखा प्रमुख खड्काको अध्यक्षतामा भएको बिउ वितरण कार्यक्रममा नगर उप प्रमुख चौधरी, बाँसगढी नगरपालिका जिन्सी शाखा प्रमुख शेर बहादुर केसी, कृषि प्राविधिक, कृषक लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्