मृगौला पिडितको सहयोगार्थ डकुमेन्ट्री प्रदर्शन



कोहलपुर ।

दुवै मृगौला फेल भई जीवन र मृत्युसँग संघर्ष गरिरहेका कोहलपुर १२ चप्परगौडीका टेकलाल केसीको सहयोगार्थ डकुमेन्ट्री प्रदर्शन सुरु गरिएको छ । केसीका दुवै मृगौला प्रत्यारोपणमा सहयोग पुगोस् भन्ने उद्देश्यले डकुमेन्ट्री प्रदर्शन सुरु गरिएको हो ।

टेकलाल केसी बचाउ अभियान नै सुरु गरेर अहिले कोहलपुरमा आर्थिक संकलनलाई तीव्र पारिएको छ । मंगलबारबाट कोहलपुरमा रहेका शिक्षक संगठनहरुको समन्वयमा मृगौला पिडितहरुको कथामा आधारित ‘हेक्स’ नामक डकुमेन्ट्री प्रदर्शन सुरु भएको हो । हास्यकलाकार शंकर आचार्यद्धारा निर्देशित डकुमेन्ट्री प्रदर्शनबाट संकलन भएको रकम केसीको सहयोगका लागि प्रदान गरिनेछ ।

पहिलो दिन मंगलबार कोहलपुर स्थित विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीबाट संकलन गरिएको रकम मृगौला पिडित केसीलाई हस्तान्तरण गरिएको थियो । कलाकार आचार्यको डकुमेन्ट्री प्रदर्शनबाट कमाई भएको २५ हजार रुपैँया नगर प्रमुख लुट बहादुर रावतले केसीलाई हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरणपछि बोल्दै नगर प्रमुख रावतले दुःखीहरुको सहयोग गर्नु मानवीय धर्म भएको बताए ।

उनले नगरपालिकाबाट समेत मृगौला पिडित केसीको उपचारको लागि आवश्यक सहयोग गरिनेछ । हास्यकलाकार शंकर आचार्यले मृगौला पिडितको कथामा आधारित डकुमेन्ट्री प्रदर्शन गर्दै आईरहेको बताए ।

अहिलेसम्म देशका ३३ जिल्लामा प्रदर्शन सकिएको उनले जानकारी दिए । उनका अनुसार बाँके जिल्लाको कोहलपुरमा अरु जिल्लाको भन्दा उल्लेख्य सहभागितामा प्रदर्शन सुरु भएको बताए । कोहलपुरमा क्रियाशिल क्रिसा, नेशनल प्यावसन कोहलपुर र प्यावसन कोहलपुरको समन्वयमा प्रदर्शन गरिएको हो । बिहान र दिउसो र बेलुका गरी दिनको तीन पटक डकुमेन्ट्री प्रदर्शन हुनेछ । केही दिन कोहलपुर क्षेत्रमा मृगौला पिडितको सहयोगको लागि प्रदर्शन हुने बताईएको छ ।

खाजा खर्च कटाएर सहयोग

मृगौला पिडित टेकलाल केसीलाई कोहलपुरका विद्यार्थीले खाजा खर्च कटाएर आर्थिक सहयोग गरेका छन् । कोहलपुर नगरपालिका—८ मा रहेको नमूना विद्या सदनका विद्यार्थीले खाजा खर्च कटाएर मृगौला पिडित केसीलाई २५ हजार ४५ रकम आर्थिक सहयोग प्रदान गरेका हुन् । दुवै मृगौला पिडित टेकलाल केसी बचाऔ अभियानका आर्थिक संयोजक एकराज शर्माले उक्त विद्यालयका विद्यार्थीहरुले २५ हजार ४५ रुपैया आर्थिक सहयोग गरेको जानकारी दिएका छन् ।

‘विद्यार्थीहरुले आफ्नो खर्च कटाएर सहयोग गरेका छन्’ उनले भने, ‘केसीको सहयोगमा सबै पक्षबाट उल्लेख्य सहयोग प्राप्त भईरहेको छ ।’ अहिलेसम्म बागेश्वरी बहुमुखी क्याम्पस प्राध्यापकहरुबाट ६१ हजार ९ सय ६० रुपैँया, कर्मचारीहरुबाट ७ हजार १ सय र कोहलपुर मोडल कलेजबाट २४ हजार ६५ रुपैँया सहयोग प्रदान गरिएको छ । भने डाइनामिक कलेजबाट ६ हजार ४ सय २८ रुपैँया र कलाकार शंकर आचार्यबाट व्यक्तिगत रुपमा २५ हजार सहयोग प्राप्त भएको छ । अभियान सञ्चालन गरेदेखि मंगलबार सम्म १ लाख ४९ हजार ५ सय ९८ रुपैँया संकलन भएको आर्थिक समितिका संयोजक शर्माले जानकारी दिए ।

सहयोग गर्नका लागि ग्लोबल आइ.एम.ई.बैंकको खाता नं. ८३०७०१०००४८४४ मा आर्थिक सहयोग सक्नुहुनेछ । खातावालाको नाम शिशिर कुमार शर्मा, एकराज शर्मा र कमला कार्की खाता नम्बरमा पठाउन सकिने छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस २ गते बुधबार