अनोज थारु, बढैयाताल ।
बर्दियाको बढैयाताल गाउँपालिकाका तीन वटा वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । सिंगो गाउँपालिकालाई नै बालविवाह घोषणा गर्ने लक्ष्य सहित अहिले सम्म तीन वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो । सोमबार गाउँपालिकाको ६ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएसँगै ३ वडा बालविवाह मुक्त वडा घोषणा भएका हुन् । आवाज संस्था र सम्बन्धित वडा कार्यालयको सहकार्यमा घोषणा अभियान थालिएको थियो । यस अघि बढैयातालका वडा नम्बर २ र ३ नम्बर वडालाई बालविवाह मुक्त घोषणा गरिएको थियो । भव्य कार्यक्रमका बीच ६ नम्बर वडालाई समेत बालविवाह मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष रामहर्ष थारुले जानकारी दिए ।
उनका अनुसार वडालाई बालविवाह रहित वडा बनाउन प्रतिबद्ध रहने, वडाका टोल र समाजमा हुने बालविवाहको बारेमा प्रहरीलाई जानकारी दिन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । यस्तै सामाजिक अपराधको रुपमा रहेको बालविवाह अन्त्य अभियानमा लाग्ने र बालविवाह प्रति सधै सजक र सचेत रहने कार्यक्रममा साझा प्रतिबद्धता समेत गरिएको थियो । बालविवाह मुक्त वडा घोषणा समारोहमा वडा अध्यक्ष रामहर्ष थारुले वडा सधै बालविवाह प्रति सजक र सचेत रहने बताए । कार्यक्रममा बोल्दै बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतमले समाजमा भएका समस्याहरुलाई समाधान गर्न सबै पक्ष सँग सहकार्य गर्दै वडालाई दिगो रुपमा बालविवाह वडा बनाई राख्न अनुरोध गरिन् ।
त्यस्तै आवाज संस्थाकी कार्यकारी निर्देशक पवित्रा शाहीले बढैयातालमा बाल विवाह अन्त्यका लागि विगत २ बर्ष पहिले देखि काम गर्दै आएको जानकारी दिइन् । उनले बालविवाह अन्त्य गर्न वडामा बाल क्लब तथा सञ्जाल गठन गर्दै समुदाय स्तरमा बालविवाह न्युनिकरणका लागि सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्र्दै आएको बताइन् । कार्यक्रममा प्रदेशसभा सदस्य कविराम थारुको उपस्थितिमा वडाका जनप्रतिनिधि, राजनितिक दल, समासेबी, बिभिन्न समुह तथा सञ्जालको उपस्थितिमा साझा प्रतिबद्धताका जनाईएको थियो ।








प्रतिक्रिया दिनुहोस्