आउँदो १४ गते बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा उपनिर्वाचन हुन गइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले श्रीधर सुबेदीलाई वडा अध्यक्ष पदमा चुनावी मैदानमा उतारेको छ । अहिले पार्टीले वडा नम्बर ६ मा चुनावी प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिव्र रुपमा अगाडि बढाइराखेको अवस्था छ । गत वर्ष वडा अध्यक्ष राम सोहन थारुले निधन भएको पदमा निर्वाचन हुन गइरहेको हो । स्थानीय तहको निर्वाचनको क्रममा यहाँ नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका थिए । अहिले हुन गइरहेको उपनिर्वाचनमा मतदाताहरुले राप्रपाका उम्मेदवार श्रीधर सुबेदीलाई किन भोट दिने ? लगायतका बिषयमा मिसन टुडेले उम्मेदवार सुबेदीसँग गरेको कुराकानी :-
१. कोहलपुर वडा नं. ६ मा हुने उपनिर्वाचनको प्रचार प्रसारलाई कतिको तिव्रता दिनु भएको छ ?
ड्ड अहिले हामीले प्रचार प्रसारलाई तीव्र रुपमा अघि बढाएका छौँ । संगठनको हिसावले हामी कमै भएपनि बिहानदेखि बेलुकासम्म प्रचारप्रसारमा व्यस्त नै हुन्छौँ । आन्तरिक भेटघाट, मतदाताहरुको घरमा जाने, उनीहरुसँग छलफल भेट्घाट गर्ने, घरदैलो, पर्चापम्पलेट लगायत विभिन्न माध्यमबाट प्रचार प्रसार गरिरहेका छाँै । प्रभावकारी रुपमा प्रचार प्रसार गर्नका लागि हामीले विभिन्न बृद्धबृद्धा, महिला, युवाहरुका छुट्टा छुट्टै समूह पनि गठन गरेका छौँ । ती समूहमार्फत वडाका टोलटोलमा राप्रपालाई किन भोट दिने, केका लागि दिने, राप्रपा कस्तो पार्टी हो लगायतका कुराहरु भिडियो प्रोजेक्ट मार्फत उहाँहरुलाई देखाउँदै नयाँ तरिकाबाट प्रचारप्रसार गरिरहेको अवस्था छ ।
२. जनताको घरदैलोमा जाँदा के कस्तो प्रतिक्रिया पाउनु हुन्छ ?
ड्ड मतदाताहरुको घरदैलोमा पुग्दा सबैबाट सकारात्मक प्रतिक्रिया नै पाएको छु । उहाँहरुको हौसला, साथ सहयोगले नै म अगाडि बढ्ने हो । उहाँहरुमा अहिले के देखिएको छ भने यसअघिका निर्वाचित भएका ठूला पार्टीका उम्मेदवारहरुले वडा नं.६ को विकास र समृद्धिका कुनै काम गर्न नसकेको र त्यसबाट नागरिकहरुमा निरासपना छाएको छ । केन्द्र, प्रदेश र स्थानीय तहसम्म नेकपाको सरकार भएता पनि केहि गर्न नसकेको र प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले पनि प्रभावकारी रुपमा प्रतिपक्षको भूमिका निभाउन नसकेको अवस्थामा राप्रपाले केही गर्छ भन्ने उहाँहरुमा आशा पलाएको देखिन्छ । त्योसँगै म एउटा युवा उम्मेवार भएकोले पनि युवाले केहि गर्न सक्ने देखेर उहाँहरुले मलाई मतदान गर्ने पक्षमा देखिनु भएको छ ।
३. तपाइको उम्मेदवारी किन र केका लागि ?
ड्ड समग्रमा वडावासी र वडामा रहेका समस्याहरुलाई समाधान समृद्ध र विकसित वडा निर्माणका लागि मेरो उम्मेदवारी हो । विभिन्न क्षेत्रमा भए हुने गरेका विभिन्न विकृति, विसङ्गति भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न पनि हो । त्यहाँका नागरिकहरुलाई आत्म निर्भर बनाउनका लागि विभिन्न सिप र ज्ञान प्रदान गरी स्वाबलम्वन गराउनु का साथै आयआर्जनमूलक कार्यमा लगाउनु मेरो प्राथमिकता हुनेछ । अर्को कुरा पहिलेका पुराना उम्मेदवारहरु मात्र पटक पटक चुनावमा उठे र जिते पनि । जितेपछि उनीहरुबाट जनताले अपक्ष गरेका अथवा चाहेजस्ता कामहरु हुने नसक्ने अवस्था रहेकाले उम्मेदवारी दिएको हुँ ।
४. थारु बाहुल्यता भएको वडा नं.६ मा अन्य पार्टीले थारु उम्मेदवार नै उठाउँदा तपाइलाई त्यहाँका जनताले विश्वास गर्लान् ?
ड्ड पहिलेको तुलनामा हेर्ने हो त्यो ठिकै पनि हो । तर अहिलेको परिस्थिति त्यस्तो छैन । साँच्चै भन्ने हो भने जनताहरु पनि अहिले सचेत भइसकेको अवस्था छ । पहिले जस्तो गरेर जातजाती, धर्म, भाषा, आफन्त, नातागोता, पार्टी हेर्ने अवस्था छैन । अहिले उहाँहरुले हेर्ने भनेको सक्षम, योग्य, उर्जावान र विकासप्रेमी उम्मेदवार हो । त्यस कारण पनि उहाँहरुले अहिले अन्य ठूला दलहरुलाई भोट नदिएर राप्रपा वा मलाई नै दिनुहुन्छ भन्नेमा विश्वस्त छु । अझै यसमा म के भन्छु भने, को थारु, को मधेसी, को जनजाती, को हिमाली, हामी सबै नेपाली । यस्ता कुनै जा, धर्म, भाषा, लिङ्ग नहेरर दुरदृष्टि भएको विकासपे्रमी योग्य र सक्ष्म यवालाई भोट गर्नुहुने छ ।
५. तपाईहरुले वडावासीहरुमाझ के कस्ता प्रतिवद्धताहरु सार्वजनिक गर्नु भएको छ ?
ड्ड सबै पार्टीले आ–आफ्नै प्रतिवद्धतापत्रहरु सार्वजनिक गरिसकेको अवस्था छ । त्यसमा प्रायः सबै पार्टीका प्रतिवद्धतापत्र हेर्ने हो भने उहाँहरुले नागरिकलाई आशा बाँड्ने काम मात्र गर्नु भएको छ । उहाँहरुले धेरै ठूला ठूला सपना र आशाहरु बाँड्नु भएको छ । तर हामीले थोरै र गर्न सकिने मात्रै प्रतिवद्धताहरु मतदाताहरुमाझ सार्वजनिक गरेका छाँै । हामीले विशेष गरेर युवा स्वरोजगार, विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिएका छौँ । युवाहरु विदेश पलायन भइरहेको अवस्थामा उनीहरुलाई स्वदेशमै रोजगार दिन सक्ने खालका योजनाहरु, शिक्षा, स्वास्थ्यका क्षेत्रमा भएका समस्याहरु अन्त्य गर्ने हाम्रो लक्ष्य छ ।
६. तपाइले जित्ने मुख्य आधारहरु के छन ?
ड्ड मैले जित्ने आधारहरु यस्ता यस्ता छन् भने भन्न सक्ने आधारहरु छैनन् । न मेरा छन् न त अरु कुनै पार्टीका नै । एक, दुई तीन भनेर भन्न सक्ने आधारहरु नभएपनि मैले मतदाताहरुलाई स्पष्ट के भन्न सक्छु भने यसअघि निर्वाचित अन्य पार्टीका उम्मेदवारहरुले के के काम गरे त ? वडाको विकास, वडावासीको आर्थिक, सामाजिक, विकास निर्माण लगायतका क्षेत्रमा । उहाँहरुलाई थाहा छ पनि अब ती पहिलेका उम्मेदवारहरुले वडावासी र वडाका लागि केही गर्न सकेका छैनन् । अब ती समस्याहरु पहिचान गरी समाधानका लागि मैले उम्मेदवारी दिएको हुँ । म वडाको चौकीदार हुँ । मैले वडावासीहरुका हरेक काममा साथ दिन सक्छु । वडाको विकास, जनताको आर्थिक अवस्था, सामाजिक कार्यहरुमा पनि सबैलाई मिलाएर लैजान सक्छु । मैले समृद्ध वडाको यी नै मैले जित्ने आधारहरु हुन् ।
७. वडा नं.६ मा मुख्य गरेर के के समस्याहरु छन् ? पहिचान गर्नु भएको छ ?
ड्ड म वडा नं.६ का सबै ठाउँमा पुगेको छु । त्यहाँ थुप्रै समस्याहरु छन् । ती समस्याहरुमध्ये पनि मुख्य समस्याका रुपमा जग्गाको समस्या छ । यताबाट नाप्दा उता पुग्दैन, उताबाट नाप्दा यता पुग्दैन । वर्षातको समयमा हुने डुवान, शुद्ध पिउँने पानीको व्यवस्था, विद्युत, सडक, बाटोघाटो लगायत शिक्षा, स्वास्थ्य कृषि लगायतका क्षेत्रमा पनि उत्तिकै समस्या
छन् । केही निश्चित ठाउँ र व्यक्तिहरुसम्म सडक, बत्ती, खानेपानी लगायतका सुविधाहरु भएपनि सबैको पहुँचसम्म पुगेको अवस्था छैन । यस्ता अनेकौँ समस्याहरु छन् ।
८. तपाई निर्वाचित हुनु भयो भने ती समस्याहरु समाधान गर्न सक्नु हुन्छ ?
ड्ड म वडा नं.६ मा निर्वाचत भएँभने पक्कै पनि ती समस्याहरुलाई पक्कै पनि समाधान गर्न सक्छु । हुन त कुनै पनि समस्या एक्लैले समाधान गर्न अलि गाह्रो नै हुन्छ । तरपनि त्यहाँको जनताको, वडावासीहरुको साथ र सहयोगले ती समस्याहरु सजिलै ढङ्गले समाधान गर्न सकिन्छ । कुनै व्यक्ति वा पार्टीगत स्वार्थमा नलागेर सबैलाई मिलाएर लैजान सक्ने क्षमता आफूसंग भएकोले पनि वडामा भएका सबै समस्याहरुलाई पहिचान गरी समाधन गर्न सकिन्छ भन्नेमा विश्वस्त छु ।
९. राप्रपाले जित्यो भने वडा नं.६ को विकास सम्भव छ ?
ड्ड विकास निर्माणलाई कुनै पार्टी वा तहले रोक्दैन । किनभने नेपालगञ्जकै उदाहरण हर्न सकिन्छ । त्यहाँ पनि राप्रपाको कुनै बुहमत छैन । राप्रपाले कमै ठाउँमा जितेको छ । तरपनि विकास अन्य पालिकाहरुको भन्दा त धेरै भएको छ नि ? त्यसैले म के भन्न चाहन्छु भने काम गर्नका लागि बहुमत नै चाहिन्छ भन्ने छैन । विकास गर्नका लागि राम्रो ग्राण्ड डिजाइन अनुसारको योजना चाहिन्छ । नेतृत्व लिन सक्ने, क्षमता भएको सक्षम व्यक्तिले गर्ने हो । एक्लो उम्मेदवार हुँदा विकास हुन सक्दैन भन्नु भ्रम मात्रै हो । राम्रो योजना बनाएर जनतालाई साथमा लिएर अघि बढ्न सक्ने नेतृत्वकर्ता हुन जरुरी हुन्छ ।
१०. अन्त्यमा सम्पूर्ण वडावासीहरुलाई के भन्न चाहनु हुन्छ ?
ड्ड अन्त्यमा सबै वडावासी आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुमा म के भन्न चाहन्छु भने तपाई मलाई एक पटक वडा नं.६ मा विजयी बाएर काम गर्ने अवसर दिनुहोस् । तपाइहरुको मतलाई खेर नजाने गरेर त्यहाँको विकास निर्माणमा निरन्तर तपाइहरुकै साथ, सहयोग, सल्लाह र सुझावका आधारमा अघि बढ्नेछु । कसैलाई काखा र पाखा नगरी, यो पार्टी त्यो पार्टी नभनि सबैलाई साथमा लिएर अगाडी बढ्ने छु । त्यसैले मलाई गाई चिन्हमा मतदान गरेर विजयी बनाउनु होस् । कुनै पार्टी, नातागोता नभनेर योग्य र सक्षम व्यक्तिलाई रोज्नु हुनेछ भन्नेमा विश्वस्त छु । तपाइको समस्या मेरो समस्या हो भनेर सेवकको रुपमा काम गर्नेछु । फेरि पनि आग्रह गर्न चाहन्छु मलाई जिताउन राप्रपाको चुनाव चिन्हमा मतदान गरी विजयी बनाउनु होला ।










प्रतिक्रिया दिनुहोस्