एक डाक्टरको भरमा प्रदेश आयुर्वेद औषधालय



चेत नाराणय पाण्डेय

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश आयुवेदिक औषधालयमा जनशक्ति नहुँदा समस्या भएको छ । प्रदेश औषधालयमा कर्मचारी र उपकरण नहुँदा निकै समस्या भएको हो । औषधालयमा आयुवेदिक प्राविधिक कर्मचारी अभावले उपकरण सञ्चालन नहुँदा बिरामीलाई उपचारमा समस्या हुने गरेको छ । वीरेन्द्रनगर नगरपालिका र जिल्ला समन्वय समिति सुर्खेतको सहयोगले जेनतेन सञ्चालनमा रहेको प्रदेश आयुवेदिक औषधालयले औषधी उत्पादन समेत गर्न सकेको छैन् ।

बजेट र जडिबुटीको अभावले बिरामीलाई उपचार गर्न नसकेको औषधालयका आयुर्वेद चिकित्सक डा.शंकरप्रसाद रिजालले बताए । चौबिसै घण्टा प्रदेश सरकारको आँखा पर्ने प्रदेश आयुवेदिक औषधालयमा भौतिक संरचना र आवश्यक जनशक्ति छैन । जिल्लाको औषधालयमा २ जना वैद्य छन् भने त्यो भन्दा ठूलो प्रदेशको औषधालयमा एक जना मात्रै वैद्य छन् । भएका उपकरण पनि बर्षौ देखि बिग्रेर थन्किदा औषधि उत्पादन कार्य ठप्प छ ।

अहिले औषधालयबाट एक जना डाक्टरले मात्रै सेवा दिइरहेको डा. रिजालको भनाई छ । आयुर्वेद चिकित्सक डा. रिजालका अनुसार आयुवेदिक अस्पतालमा विशेषगरी सुर्खेत, अछाम, दैलेखका बृद्धबृद्धाहरु उपचारका लागि आउने गरेका छन् । बृद्धबृद्धाहरु मध्ये धेरै जसो महिलाहरु सेतोपानी बग्ने, आन्द्राका समस्या, हार्डजोर्नी लगाएतका बिरामी आउने गरेको डा. रिजालले जानकारी दिए ।

‘हामी कहाँ धेरैजसो बृद्धबृद्धाहरु आउँछन्’उनले भने,‘त्यो मध्ये पनि महिलाहरु धेरै आउँछन्।’ अन्यत्र उपचारबाट निको नभएका दीर्घ रोगी बिरामीहरु धेरै आउने गरेको डा. रिजालले बताए । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रायलका मन्त्री दल रावलले कर्णालीको जडिबुटी प्रशोधन गरी औषधि उत्पादन गर्ने औषधालय स्तरोन्नती गरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनाउने योजनामा रहेको बताए । उनका अनुसार प्रदेश सरकारले आयुवेदिक औषधालयलाई ५० शैयाको अस्पतालको रुपमा विकास गरी आवश्यक जनशक्ति र भौतिक संरचनाको व्यवस्था गर्ने लक्ष्य लिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ११ गते बुधबार