कृष्ण ओली । कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा विभिन्न राजनितिक दलहरुले आफ्नो चुनावी अभियानलाई तिव्र पारेका छन् । उपनिनिर्वाचनको मिती नजिकिदै जाँदा कोहलपुर ६ मा चुनावी सरगर्मी बढेको हो । अहिले यस वडामा दिन प्रतिदिन चुनावी चहलपहल बढिरहेको छ । यहाँका वडा अध्यक्ष राम सोहन थारुको गत वर्ष निधन भएपछि रिक्त भएको वडा अध्यक्ष पदको लागि आउँदो १४ गते उपनिर्वाचन हुन गइरहेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राप्रपा, समाजवादी पार्टी र मजदुर किसान पार्टीका नेता कार्यकर्ता तथा उम्मेदवारहरु घरदैलोमा जुटिरहेका छन् । उनीहरुलाई बिहानैदेखि रातीसम्म मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याई हुन्छ । वडा अध्यक्ष पदको लागि नेकपाबाट राम शरण थारु, नेपाली काँग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुबेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेपाल मजदुर किसान पार्टीबाट दीपालक्ष्मी हमाल उम्मेदवार रहेका छन् । वडा अध्यक्ष पदको लागि यी पाँच वटा दलले मात्र उम्मेदवार खडा गरेर चुनावी मैदानमा उत्रिएका हुन् । बाँकेको उपनिर्वाचन हुने एक मात्र स्थान भएकाले पनी कोहलपुर ६ मा सबैको ध्यान केन्द्रित भएको छ ।
वडा नम्बर ६ अहिले विभिन्न राजनितिक दलका चुनाव प्रसार सामग्रीले ढपक्कै ढाकेको छ । वडा नम्बर ६ रझेना गाउँका गणेश चौधरीले अहिले गाउँलाई चुनावले छोएको बताउँछन् । ‘चुनाव नजिकिदै जाँदा गाउँमा समेत चहलपहल बढेको छ’ उनले भने, ‘दैनिक जसो उम्मेदवारहरु मत माग्दै घर घरमा पुग्छन् ।’ थारुका अनुसार विभिन्न गाउँहरु उम्मेदवारका प्रचार प्रसार साम्रगीहरुले भरिएका छन् । स्थानीय खड्क शाहीले गाउँमा चुनावी माहौल तातिएको बताए । ‘आफ्ना उम्मेदवारको पक्षमा माहौल सिर्जना गर्न स्थानीय देखि केन्द्रिय नेताहरुको दैनिक जसो आउँने गरेका छन्’ उनले भने, ‘पहिले सुनसान देखिने गाउँमा अहिले भने बिहानैदेखि अबेर रातीसम्म चहलपहल भइरहेको हुन्छ ।’
पाँच दलहरु यस वडामा चुनावी मैदानमा भएपनी मुख्य गरी सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उम्मेदवारहरु बिच नै कडा टक्कर हुनेछ । अहिले बिशेष गरी यस वडाको उपनिर्वाचनलाई सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिष्ठाको बिषय बनाएका छन् । २०७४ को सालको निर्वाचनमा यस वडामा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका थिए । निर्वाचन आउन एक हप्ता बाँकी रहदा भावी नतिजाको जोडघटाउ पनि सुरु भइसकेको छ ।
निर्वाचनको मिती नजिकिदै जाँदा उम्मेदवारहरुले भने आफूले जिते वडाको मुहार फेर्ने सपना देखाउँदै मत मागिरहेका छन् । ‘वडाको अवस्था सुधार गर्नेलाई मत दिन्छौं,’ स्थानीय रामदास थारुले भने, ‘बाटोघाटो, स्वास्थ्य, शिक्षा सेवा र गरिबी हाम्रो वडाको प्रमुख समस्या हो ।’ कोहलपुर ६ मा दुई हजार २६ जना मतदाता रहेका छन् । ती मध्ये आधा थारु समुदायका मतदाता रहेका छन् । अहिले थारु समुदायको मतलाई नै निर्णायक मतको रुपमा हेर्न थालिएको छ ।









प्रतिक्रिया दिनुहोस्