डोल्पामा मोबाइल टावर सञ्चालन



डोल्पा ।

तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका दुई महिनापछि सञ्चारको पहुँचमा जोडिएको छ ।

बिग्रेको मोबाइल टावर बनेसँगै फोनमा कुरा गर्नका लागि छिमेकी स्थानीय तहको नेटवर्क सिग्नल खोज्दै अग्ला डाँडापाखा र सुरीला रुख चढ्नुपर्ने बाध्यता हटेको हो ।

दूरसञ्चार प्राधिकरणबाट प्राविधिक टोली आएर कालिकास्थित अदलेखमा राखिएको टावर बनाएपछि आइतबार दिउँसोदेखि सेवा नियमित भएको गाउँपालिकाले जानकारी दिएको छ ।

चिनियाँ स्याटलाइट बन्द गरिदिएपछि भदौ अन्तिमसातादेखि सिङ्गो गाँउपालिकानै सञ्चारविहीन भएको थियो । लामो समयदेखि अवरुद्ध टावर बनेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।

मोबाइल टावर बिग्रिएपछि स्थानीयले ठूलो सञ्चार सास्ती खेप्दै आएको र टावर बनेसँगै शुक्रबारदेखि सूचना आदान प्रदान गर्न सजिलो भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए

भरपर्दो टावर नहुँदा पटकपटक सास्ती खेप्दै आएको बताउँदै गाउँपालिकामा नयाँ टावर निर्माणका लागि ल्याइएको सामान भने बीचबाटोमै अलपत्र परेको स्थानीय दीर्घ शाहीले बताउनुभयो । काइके गाउँपालिकामा भने टेलीफोन सेवा अझै सञ्चालन हुन सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २ गते सोमबार