रावन बिश्वकर्मा, बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिकाले गत आर्थिक वर्षमा कुल बजेटको करिब ८० प्रतिशत बजेट खर्च गरेको छ । शुक्रबार गरिएको वार्षिक सार्वजनिक सुनुवाईमा नगरपालिकाले गत आर्थिक वर्ष २०७५÷०७६ मा कुल बजेटको ७९.२२ प्रतिशत बजेट खर्च भएको जानकारी दिइएको हो । नगरपालिकाका लेखा शाखा अधिकृत धन बहादुर चन्दले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा कुल बिनियोजन भएको बजेटको ७९.२२ प्रतिशत बजेट खर्च गरिएको उल्लेख छ । गत आर्थिक वर्षमा प्रस्तुत प्रतिवेदन अनुसार ८० करोड ५३ लाख ५ हजार ८ सय ४३ रुपैयाँ बार्षिक बजेट रहेको थियो । उक्त बजेटमध्ये कुल ६३ करोड ३९ लाख २४ हजार ७५ रुपैयाँ ३४ पैसा खर्च भएको नगरपालिकाका लेखा शाखा अधिकृत चन्दले जानकारी दिए ।
उनका अनुसार १७ करोड १३ लाख ८१ हजार ७ सय ७६ रुपैयाँ ६६ पैसा अब मौज्दात रहेको छ । प्रतिवेदन अनुसार नगरपालिकाले स्थानीय भत्ता, वन तथा वातावरण संरक्षण र पुंजीगत सुधार खर्च सार्वजनिक निर्माण शिर्षकमा कुल बजेटको सतप्रतिशत बजेट खर्च गर्न सफल भएको छ । स्थानिय भत्ता, मंहगी भत्ता, फिल्ड भत्ता, कर्मचारी र पदाधिकारीको बैंठक भत्ता र अन्य भत्ता गरी कुल ६७ लाख ४८ हजार रुपैयाँ खर्च भएको लेखा शाखा अधिकृत चन्दले प्रस्तुत गरेको प्रतिवेदनमा उख्लेख छ । प्रतिवेदन अनुसार नगरपालिकाले वार्षिक रुपमा ८० लाख ३४ हजार रुपैयाँ पदाधिकारीहरुको पारिश्रमिकमा छुट्याईएकोमा ७५ लाख ४४ हजार रुपैयाँ मात्र पदाधिकारीहरुको पारिश्रमिकमा खर्च गरेको थियो ।
कर्मचारीको पारिश्रमिकमा भने १४ करोड ३५ लाख ४८ हजार ९२ रुपैयाँ ४ पैसा खर्च भएको देखिन्छ । त्यस्तैगरी उक्त आर्थिक वर्षमा कार्यालय प्रायोजनको लागि १७ लाख ८७ हजार ९ सय ६८ रुपैयाँको इन्धन, ८ लाख ९९ हजार ५ सय २९ रुपैयाँ सवारी साधन मर्मत खर्च, २ लाख ८५ हजार १ सय २६ रुपैयाँ वीमा तथा नविकरण खर्च, १ लाख ७४ हजार ९ सय २० रुपैयाँ मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च, ४० लाख १६ हजार ७ सय २७ रुपैयाँ र मसलन्द तथा कार्यालय सामाग्री, पत्रपत्रिका, छपाई तथा सुचना प्रकाशनमा २४ लाख ६५ हजार १ सय ४५ रुपैयाँ खर्च गरेको थियो ।
नगरपालिकाले भवन निर्माणमा ७८.३५ प्रतिशत, सडक तथा पुल निर्माणमा ६४.४४ प्रतिशत, बिद्युत् संरचना निर्माणमा ७२.२३ प्रतिशत, तटबन्धन तथा बाँध निर्माणमा ७२.३१ प्रतिशत, सिंचाई संरचना निर्माणमा ९३.२१ प्रतिशत, खानेपानी संरचना निर्माणमा २१.८ प्रतिशत, सरसरफाई संरचना निर्माणमा ७२.०७ प्रतिशत, अन्य सार्वजनिक निर्माणमा ६५.७१ प्रतिशत बजेट खर्च गरिएको प्रतिबेदनमा उल्लेख छ ।
नगर प्रमुख सालिकराम अधिकारीले कर्मचारी अभाव लगायतका विविध कारणले सबै बजेट खर्च गर्न नसकिएको बताए । ‘हामी अन्य स्थानीय तह भन्दा बजेट खर्च गर्ने मामिलामा अगाडि छौं’ उनले भने, ‘आगामी दिनहरुमा पनी सबैसँग सहकार्य गरेर नगरपालिकामा विकास निर्माणका कामहरुलाई अगाडि बढाउछौं ।’ नगरपालिकाका एक्लैको प्रयासले मात्र बाँसगढी नगरपालिका समृद्द बन्न नसक्ने भन्दै उनले यसको लागि सबै नगरबासीको साथ र सहयोग चाहिने उख्लेख गरे ।
सार्वजनिक सुनुवाईमा नगरबासीहरुले उठाएका प्रश्न जवाफ नगर उपप्रमुख सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत अम्मर राज खत्री, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, बिषयगत शाखा प्रमुखहरु ल्गायतले दिएका थिए । स्थानीयबासीले विकास निर्माणका कामहरुमा गुणस्तरीयता कायम गर्न नगरपालिकालाई सुझाव दिएका थिए । नगरपालिकाले गरेका विकास निर्माणले एक वर्ष पनी नटिक्ने भन्दै उनीहरुले यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्