15 July 2024  |   सोमवार, असार ३२, २०८१

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६  

कोहलपुर, डिल्ली शाही

६ महिनादेखि ५ वर्ष मुनिका बालबालिलाई भिटामिन ‘ए’ र जुकाको औषधि शनिबारदेखि खुवाउन सुरु भएको छ । जन्मेको ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जन्मेको १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो । सोही अवसरमा उमेर समूहका बालबालिकाहरुको पाखुराको नापबाट कुपोषण पत्ता लगाउने कार्य समेत गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका सुरभाइजर सुरेश श्रेष्ठले जिल्लाका आठ स्थानीय तहका ८१ वटा वडाहरुमा भिटामिन ‘ए’, पाखुराको नापबाट कुपोषण पत्ता लगाउने र जुकाको औषधी खुवाउने कार्य सुरु गरिएको बताए ।

‘बाँकेमा ५४ हजार ८ सय २० जना बालबालिकालाई भिटामिन ‘ए’ र पाखुराको नापबाट कुपोषण अवस्था पत्ता लगाउने लक्ष्य राखेको छ’ उनले भने, ‘४८ हजार ६ सय ८९ जुकाको औषधी खुवाउने लक्ष्य राखेका छौं ।’ नेपालगञ्ज उपमहानगरपालिकामा १४ हजार ४ सय ६२ जनालाई भिटामिन ‘ए’ र ४८ हजार ६ सय ८९ जनालाई जुकाको औषधी, कोहलपुर नगरपालिकाकामा ७ हजार ४ सय ८९ जनालाई भिटामिन ‘ए’ र ६ हजार ५ सय ८२ जनालाई औषधी, नरैनापुर गाउँपालिकामा ४ हजार ४ सय ७८ जनालाई भिटामिन ‘ए’ र ४ हजार ४२ जनालाई जुकाको औषधी खुलाउने लक्ष्य राखिएको छ ।

त्यसैगरी डुडुवा गाउँपालिकामा ४ हजार ९ सय ५४ जनालाई भिटामिन ‘ए’ र ४ हजार ४ सय ८८ जनालाई जुकाको औषधी, खजुरा गाउँपालिकामा ५ हजार ९ सय ९३ जनालाई भिटामिन ‘ए’ र ५ हजार ३ सय ५४ जना बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य राखेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिकामा ६ हजार ६ सय ३३ जनालाई भिटामिन ‘ए’ र ५ हजार ८ सय ७८ जनालाई जुकाको औषधी, जानकी गाउँपालिकामा ४ हजार ७ सय ६ जनालाई भिटामिन ‘ए’ र ४ हजार २ सय ३४ जनालाई जुकाको औषधी र बैजनाथ गाउँपालिकामा ६ हजार १ सय ५ जनालाई भिटामिन ‘ए’ र ५ हजार ४ सय १७ जना बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य छ । बाँके जिल्लामा ७ सय ८९ जना महिला स्वास्थ्य स्वयम् सेविका खटाइएको छ । सरकारले देशभर हरेक वर्ष वैशाख ६ र ७ र कात्तिक २ र ३ गते यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मितिः आइतवार, कार्तिक ३, २०७६     8:58:25 AM  |