कोहलपुर ।
बाँकेको कोहलपुरमा सुविधासम्पन्न छोटो दुरीको बसपार्क सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमका बिच संघिय सरकारका शहरी विकास मन्त्री मो. ईस्तियाक राईले उद्घाटन गरेपछि बसपार्क औपचारीक रुपमा सञ्चालनमा आएको हो । दसै अगाडि कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले समेत बसपार्कको उद्घाटन गरेपछि बसहरु भने सञ्चालनमा आएका थिए । सोही बसपार्कलाई दोस्रोपटक शहरी विकास मन्त्री राईले उद्घाटन गरेका हुन् ।
कोहलपुर नगर विकास समितीको ४ करोड ३९ लाख लागतमा निर्माण सम्पन्न भएको छोटो दुरीको बसपार्कको केही दिनको फरकमा दुई पटक उद्घाटन भएको हो । जिल्लाको दोस्रो ठूलो शहर कोहलपुरमा बसपार्क नहुँदा यातायात व्यवसायी देखि यात्रुहरुले सास्ती भोग्दै आएका थिए ।व्यवस्थित छोटो दुरीको बसपार्क निर्माण भएपछि केही भएपनी यातायात सञ्चालनमा सहज हुने विश्वास लिइएको बागेश्वरी यातायात प्रालीका महासचिव टंक बस्यालले बताए । उनका अनुसार अहिले बसपार्कबाट लामो दुरीका ४२ वटा बस छुट्ने गरेका छन् भने ५० भन्दा बढी छोटो दुरीका बसहरु छुट्ने गरेका छन् । अहिले बसपार्कमा रहेका १३ वटा काउन्टर मध्ये ११ वटा विभिन्न यातायात प्रालिका काउन्टर राखिएको छ भने १ वटामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । बसपार्कमा १ सय १० मिटरका १३ वटा लेन रहेका छन् ।
बसपार्क सञ्चालनको जिम्मा भने बागेश्वरी यातायात प्रालीले लिएको छ । बसपार्क उद्घाटनमा बोल्ने अधिकांश वक्ताहरुले बसपार्कले सञ्चालनमा यात्रुहरुलाई सहजता हुने विश्वास व्यक्त गरेका थिए । उनीहरुले लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउनु कोहलपुर बासीको लागि खुसीको कुरा भएको बताउँदै लामो दुरीको बसपार्क पनी छिटो भन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले छोटो दुरीको बसपार्क सञ्चालनमा आएसँगै यातायात व्यवस्थापनमा सहज हुने बताए । ‘लामो समयको प्रतिक्षापछि ढिलै भएपनी छोटो दुरीको बसपार्क सञ्चालनमा आएको छ’ उनले भने, ‘लामो दुरीको बसपार्क निर्माणको काम अगाढि बढाइसकेका छांैं ।’
उनले ढिलोमा ३ वर्षभित्र बसपार्क सञ्चालनमा आइसक्ने विश्वास लिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नम्बर ५ का सदस्य नरेन्द्र पाण्डेले छोटो दुरीको बसपार्क कोहलपुरको अर्को पहिचान भएको दाबी गरे । कोहलपुरमा लामो समय देखी यातायात सञ्चालन गर्दै आएको बागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मन प्रसाद आचार्यले बसपार्क सञ्चालनमा आए देखी यात्रुहरले भोग्नु परेका समस्या र दुःखको अन्त्य भएको बताए । उनले सबै यातायात व्यवसायीहरुको सहकार्य र समन्वयका साथ सबै अघि बढिरहेको पनि जानकारी दिए । उद्घाटन समारोहमा विभिन्न राजनितिक दलका प्रतिनिधी, स्थानीय जनप्रतिनिधी, यातायात व्यवसायी, व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्