15 July 2024  |   सोमवार, असार ३२, २०८१

कोहलपुरमा ठेलागाडा व्यवस्थापन सकस, नगरपालिका हटाउने, व्यवसायी राख्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ३०, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले अस्थायी रुपमा राखिएका ठेलागाडा व्यवस्थित गर्ने भनेको धेरै भईसक्यो । तर सही रुपमा नगर क्षेत्रका ठेलागाडा व्यवस्थापन हुन सकेको छैन । केही समय अघि देखी नगर र व्यापारी बीच हटाउने तथा फेरी उही स्थानमा थाप्ने क्रम चलिरहेको छ । यस्तै कोहलपुर नगरपालिकाले दसैँ बिदा सकिए लगत्तै नगरमा रहेका ठेलागाडा हटाउन शुरु गरेको छ । मंगलबार ठेलागाडाको सबै भन्दा बढि चाप हुने चौराहाबाट नगर प्रहरीको प्रयोग गरी हटाईएको थियो । तर बुधबार बिहान उत्तिकै संख्यामा चौराहामा ठेलागाडा देखिएपछि फेरी हटाएको छ । बुधबार कोहलपुरका विभिन्न क्षेत्रमा व्यापार गर्दै आएका ठेलागाडा नगर प्रहरीले ट्रकमा हालेर जफत गरेको छ ।

दर्जनौ ठेलागाडा सहित उनीहरुले बेच्ने गरेका सामग्री समेत जफत गरिएको थियो । नगरपालिकाले दुई दर्जन बढि नियन्त्रणमा लिईएको जनाएको छ । नगर प्रहरी संयोजक केशव खड्का अनुसार नगरपालिकाको निर्देशन बमोजिम अटेरी गर्नेलाई नियन्त्रणमा लिने गरेको बताए । अहिले नगरपालिकाका कार्यालय परिसरमा बेवारिसे अवस्थामा ती सामग्रीले भरिएको छ । नियन्त्रणमा लिईएका ठेलागाडाहरु व्यापारीले फेरी नगरपालिकाले निषेध गरेका ठाउँमा व्यापार नगर्ने प्रतिबद्धता सहित फेरी लिने गरेको खड्काको बताए । ठेला व्यापारीहरुले भने नगरपालिकाले आफुहरुको रोजरोटी खोस्ने काम गरेको भन्दै दुःखेसो गरेका छन् ।

चौहरामा लामो समय देखी ठेलागाडामा व्यापार गर्दै आएकी काशिकला टमाटाले नगर प्रहरीले अभद्र व्यवहार गर्ने गरेका गुनासो गरिन् । ठेलागाडाबाटै जिविका चलाउँदै आएकी उनी आफुले आगामी दिनमा नगरले तोेकेको स्थानमा व्यापार गर्नु भन्दा समेत प्रहरीले अटेरी गर्ने गरेको बताउँछिन् । कोहलपुर नगरपालिकाले बारम्बार व्यापारीहरुलाई व्यवस्त सडकमा ठेलागाडामा व्यापार नगर्न आग्रह गर्दै आएको छ । तर स्थानीय सरकारको निर्देशनको पालना हुन नसक्दा समस्या उत्पन्न भएको छ ।

व्यापारीको सहजताका लागि नगरपालिकाले निश्चित स्थान समेत तोकिदिएको छ । खुद्रा तथा तरकारी व्यापारीको लागि नगर विकास समितिको कार्यालय अघि रहेको पेटीमा तोकिएको छ । नगर विकास समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख लुटबहादुर रावतले तत्काल व्यवस्थापनमा सहज होस भन्ने उद्देश्यले स्थान तोकिएको जानकारी दिए । नगर क्षेत्रमा उपयुक्त ठाउँको पहिचानमा समेत नगरपालिका रहेको उनको भनाई थियो । सबैको सहकार्यमा समृद्ध नगरको पहिचान दिन आवश्यक रहेकोमा जोड दिदै उनले नगर प्रक्रियागत रुपमा समस्या समाधान तर्फ लागि रहेको बताए ।

प्रकाशित मितिः बिहिबार, अशोज ३०, २०७६     10:06:57 AM  |