सुदीप अधिकारी । बर्दिया ।
वन्यजन्तु पिडित परिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले १० लाख रुपैँया प्रदान गरेको छ । बाघको आक्रमणबाट मृत्यु भएका ठाकुरबाबा नगरपालिका वडा नं १ भुरिगाउँका पहरिया थारुका परिवारलाई निकुञ्ज प्रशासनले क्षतीपूर्तीस्वरुप १० लाख रुपैँया प्रदान गरेको हो । मंगलबार एक कार्यक्रमका बिच थारुका परिवारलाई बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत अणनाथ बराल, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ र श्री रामनगर उपभोक्ता समितिका अध्यक्ष जर्नादन योगीले संयुक्तरुपमा १० लाख रुपैँयाको चेक हस्तान्तरण गरेका हुन् । नेपाल सरकारको नियम बमोजिम पिडितका परिवारलाई क्षतीपूर्तीस्वरुप उक्त रकम हस्तान्तरण गरिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।
यस अघि बाघको आक्रमणबाट मृत्यु भएका पहरिया थारुका परिवारलाई काजक्रियाका लागि निकुञ्ज प्रशासन, ठाकुरबाबा नगरपालिका र श्री राम नगर उपभोक्ता समितिबाट ७० हजार रुपैँया प्रदान गरिएको
थियो । मृतकका परिवारजन प्रति समवेदना प्रकट गर्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले मानव र वन्यजन्तुको सहअस्तित्व कायम रहने गरि संरक्षणका कार्यक्रमहरु संचालन हुनु पर्नेमा जोड दिए । निकुञ्ज भित्रका वन्यजन्तुलाई बस्तीमा पस्नबाट रोक्न निकुञ्ज सिमा क्षेत्रमा व्यवस्थित तारबार, पर्खाल लगाउने कार्यमा निकुञ्ज प्रशासन र नगरपालिकाले योजनावद्ध ढंगबाट अघि बढिरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
मानव वन्यजन्तु बिचको द्धन्द्धलाई न्युनिकरण गर्न निकुञ्ज प्रशासन सचेत रहेको बताउँदै संरक्षण प्रमुख बरालले निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाले पनि सजगता अपनाउनु पर्नेमा जोड दिए । भदौको पहिलो साता बारीमा सुंगुरलाई आहार हाल्न गएका ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ खानेपानी टोलका ७० वर्षीय पहरिया थारु यो बाघले बारीमै आक्रमण गरि मारेको थियो । घटना पश्चात बाघलाई निकुञ्ज प्रशासनलाई करिव २६ घण्टा कडा मेहनत गरेर नियन्त्रणमा लिएर निकुञ्जको उद्धार कक्षमा राखिएको थियो । बुढो र अशक्त बताइएको उक्त बाघ निकुञ्जको उद्धार कक्षमा उपचारकै क्रममा मरेको थियो ।
प्रतिक्रिया दिनुहोस्