चेत नारायण पाण्डेय । सुर्खेत ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जिल्ला बाहिर जाने यात्रुलाई बिदाई गरेको छ । दशै तिहार तथा छठ पर्व २०७६ को शुभकामना आदान प्रदान तथा दशैका लागि हिडेका यात्रु तथा सवारी साधनलाई फूलमाला सहित बिदाई गरिएको हो । गृह जिल्ला फर्किने यात्रु तथा सवारी साधनको सुखद यात्राको कामना सहित बिदाई गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।
ट्राफिक सुर्खेतका प्रमुख प्रहरी निरीक्षक उदय सिजापतीले सवारी साधन सञ्चालनमा गम्भीर भएर चलाउन तथा यात्रामा खुसी साथ जान लाग्नु भएका यात्रुको सुरक्षाको जिम्मेवारी गहन तरीकाबाट लाग्न अनुरोध गर्दै सुरक्षित यात्राको शुभकामना व्यक्त गरे । त्यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी पुर्ण चन्द्र जोशीले नेपालगञ्ज जान लागेका सवारी चालक तथा यात्रुलाई अबिर सहित फुल माला लगाईदिदै सबै यात्रु तथा सवारी चालकहरुलाई शुभकामना व्यक्त गरेका थिए ।
उनले ट्राफिक नियमको पुर्ण पालन गरी यात्रुलाई सुरक्षित यात्रामा हातेमाले गर्दै अगाडी बढाउन तथा यस पटकको दशंै तिहारमा दुर्घटना रहित बनाउन आग्रह गरे । उनले सुरक्षित यात्रा गर्न पाउने मानवको नैसंगिक अधिकार भएको र सवारी चालक तथा सहचालकले यात्रुको जनधनको सुरक्षामा लाग्न आग्रह गरेका थिए ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बसपार्क क्षेत्रमा यात्रुको चाप अत्याधिक रहने भएकाले बसपार्कलाई सुरक्षित व्यवस्थापन गर्नमा जोड दिए । दशै तिहारमा सुर्खेतबाट बाहिरीने यात्रु धेरै भएकाले अनावश्यक रुपमा बसपार्क भएर आवतजावत गर्ने सवारी साधनलाई अन्यत्र बाट व्यवस्थापन गर्न र बजार क्षेत्रमा मानिसको आवत जावत बढि हुने भएकाले सवारी साधनलाई आवतजावतमा एक लेनको व्यपस्थापन गर्न अनुरोध गरे ।