विश्व पर्यटन दिवस, परम्परागत सम्पदा पर्यटनको आधारः मुख्यमन्त्री पोखरेल



कोहलपुर ।

परम्परागत सम्पदाहरु पर्यटनको आधार बन्नसक्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । बाँकेको पर्यटकिय स्थल गाभर भ्यालीमा शुक्रबार विश्व पर्यटन दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘हाम्रा वरीपरी अहिले धेरै नै परम्परागत सम्पदाहरु रहेका छन्’ मुख्यमन्त्री पोखरेल भने,‘यीनै सम्पदाहरु अहिले पर्यटनको आधारका रुपमा प्रयोग गर्नुपर्छ ।’

यहाँ परम्परागत सम्पदाहरु धेरै रहेको बताउँदै उनले त्यसको सही सदुपयोग गरेर पर्यटनका गतिविधीहरुलाई अगाडि बढाउन सकिनेमा जोड दिए । ‘अहिले हामीसँग जो चिजहरु रहेका छन् त्यसलाई जोड्नुपर्छ’ उनले भने, ‘कुनै एक चिजको अभावमा पर्यटन अगाडि बढ्न सक्दैन । त्यसैले हाम्रै वरीपरी भएका चिजहरुलाई नै पर्यटनको आधार बनाउनुपर्छ ।’

पुराना चिजहरुको संरक्षण गर्न अहिले कसैको ध्यान नदिएको मुख्यमन्त्री पोखरेलको भनाई थियो । ‘हामीले पुराना सम्पदाहरुको संरक्षण गर्न सकेका छैनौं’ उनले भने, ‘अब सबैजना पुराना चिजहरुको संरक्षणमा जुट्नुपर्ने बेला आएको छ ।’ पछिल्लो समय विभिन्न नाममा संग्रहालय खोल्ने क्रमले संरक्षणमा टेवा पु¥याएको भएपनि पर्यटन क्षेत्रको रुपमा भने विकास हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘पछिल्लो समय जातीय र सांस्कृतिक संग्रहालयको नाममा परम्परागत सम्पदाको संरक्षण गर्ने कोसिश भएको छ’ मुख्यमन्त्री पोखरेलले भने, ‘तर ती पर्यटन विकासको मान्यताभित्र विकास हुन सकेका छैनन् ।’ उनले नेपालको पर्यटकिय विकास गर्नको लागि नेचर, कच्चर र हेरिटेचलाई एक अर्कासँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रदेश सरकारले कृषि र पर्यटनलाई जनजिविकासँग जोडेर हेरेको उनले जानकारी दिए । ‘पर्यटनमा लगानी गर्नको लागी पहिले आर्थिक नै चाहिन्छ’ मुख्यमन्त्री पोखरेलले भने, ‘पहिले कृषि मार्फत जनताको जिवनस्तर उकास्ने गरी काम थालिनेछ ।’ उनले बाँके बर्दियाको पर्यटनको ठूलो सभ्भावना रहेको भन्दै प्रदेश सरकारले समेत विभिन्न योजनाहरु अगाडि सारिएको बताए । पर्यटन प्रवद्र्वनमा सञ्चारकर्मीको भुमिका बिषयक कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले बाँके बर्दियालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

देश संघियतामा गइसकेपछि भएका संचरना समेत गुमाएको बाँकेलाई पर्यटनमार्फत संसारभर चिनाउन राज्य ध्यान दिनुपर्ने उनीहरुको भनाई थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधी, स्थानीयबासी, होटल व्यवसायी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिबार