दशैको किनमेल, वारि सुनसान, पारि भीडभाड



नेपालगञ्ज ।

नेपाली हिन्दुहरुको ठूलो पर्व दशैं नजिकिदै जाँदा सिमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने नेपाली उपभोक्ताहरु बढ्न थालेको छन् । नेपाली बजारमा नै सबैखाले दैनिक उपभोग्य सामग्री सहरुपमा पाइने भएपनी उपभोक्ताहरुको आकर्षण भने भारतको रुपैडिहासहितका बजारप्रति नै छ । अहिले सिमावर्ती भारतीय बजार रुपैडिहामा दशैंको लागि किनमेल गर्न गएका नेपाली उपभोक्ताहरुको घुइचो लागेको देख्न सकिन्छ । सिमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताको भिडभाड भएपनी सिमावर्ती नेपाली बजारमा भने सुनसान रहेको छ । केही दिनयता नेपाली ग्राहकको भीडले सीमावर्ती रुपैडिहा बजारको कारोवार ह्वात्तै बढेको बताइन्छ ।

बाँके, बर्दिया जिल्लाका मात्र नभई पहाडी जिल्लाका उपभोक्ता समेत किनमेल गर्न रुपैडिहा पुग्ने गरेका छन् । नेपालीले ग्राहकले दैनिकरूपमा रुपैडिहा बजारमा पुगेर कति रकम बराबरको किनमेल गर्छन् भन्ने आधिकारिक तथ्याङ्क नभए पनि चाडपर्वको मुखमा करीब रु २ करोडको हाराहारीमा नेपाली ग्राहकले रुपैडिहामा किनमेल गर्ने गरेका भारतीय व्यापारीको अनुमान छ । नेपालगञ्ज, कोहलपुर, बाँसगढी, खजुरा लगायतका क्षेत्रबाट अटोरिक्सा, ई–रिक्सा, माइक्रोबसजस्ता सवारीसाधन तथा मोटरसाइकलबाट पनि ठूलो सङ्ख्यामा उपभोक्ता किनमेलमा जाने गरेका छन् । चाडपर्व र बिहेवारीको सिजनबाहेक पनि नेपालगञ्जका करीब ५० प्रतिशत उपभोक्ता सस्तोमा दैनिक उपभोग्य सामग्री खरीद गर्न पाउने लोभमा रुपैडिहा नै पुग्ने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले बताए ।

‘मल्टिनेशनल कम्पनीको सामान पनि भारतमा भन्दा नेपालमा सस्तो पर्छ’ उनले भने, ‘तर नेपाली उपभोक्ता भने भारतमै सस्तो पाइने लोभमा रुपैडिहामा पुगेर ठगिइरहेका छन् ।’ नेपालगञ्ज खाद्य तथा किराना व्यवसायी संघका अध्यक्ष समेत रहेका संघका प्रथम उपाध्यक्ष चुन्नाले नेपालगञ्जका व्यवसायीहरुलाई चाडपर्व नआएको जस्तो भएको दाबी गरे । ‘चाडपर्वमा नेपाली उपभोक्ताहरुको सिमावर्ती भारतीय बजारमा पाइला टेक्ने ठाउँ समेत छैन’ उनले भने, ‘यहाँका व्यवसायीहरुलाई भने दशैंको कुनै रौनक छैन ।’ पाँच बर्षयता चाडपर्वमा नेपालगञ्जको व्यापार व्यवसायमा गिरावट आइरहेको उनी बताउछन् । ‘अहिले गत वर्ष भन्दा अझै धेरै गिरावट आएको छ’ संघका प्रथम उपाध्यक्ष चुन्नाले भने,‘अझै केही दिन यस्तै अवस्थामा हुने हो भने दशैमा कर्मचारीहरुलाई तलब खुवाउन समेत गाह्रो छ ।’ सामान्यतया मुस्लिम समुदायको इद, हिन्दूको दशैँ–तिहार र छठमा नेपाली उपभोक्ताले सीमावर्ती बजार रुपैडिहाको व्यापार ह्वात्तै बढाइदिन्छन् ।

यसरी रुपैडिहा किनमेल गर्न जानेमा बढीजसो नेपाली गृहिणी छन् । प्रायः सबै पसलमा नेपालीकै भीडभाड देखिन्छ । दशैँ–तिहारजस्ता पर्वमा चाहिने सामान किन्नका लागि नेपाली ग्राहकको रुपैडिहा बजारमा निकै भीड बढ्न थालेको रुपैडिहाका कपडा व्यापारी अमनलाल सिन्धीले जानकारी दिए । किनमेलका लागि नेपालगञ्ज, कोहलपुरदेखि सुर्खेत, दैलेख, दाङ, सल्यानलगायतका जिल्लाबाट पनि उपभोक्ता रूपैडिहा पुग्ने गरेको उनले बताए । रूपैडिहाको राष्ट्रिय व्यापार मण्डलका अनुसारका रुपैडिहामा साना–ठूला गरी एक हजार बढी पसल रहेका छन् । धेरै खाद्यान्न, फेन्सी र काँचो कपडा पसल रहेका छन् । रुपैडिहामा अटोमोबाइल्सको व्यापारमा पनि उत्तिकै बढेको छ । रुपैडिहाको व्यापार ९० प्रतिशत नेपाली ग्राहकले नै धानेका छन् । दैनिक उपभोग्य सामग्री, साबुन, महिला सौन्दर्यका सामग्री, लत्ताकपडा, अन्न, विद्युतीय उपकरण, मोबाइल, साइकललगायतका सामग्री नेपाली ग्राहकले खरीद गर्ने गरेका छन् ।

नेपालगञ्ज बजारको तुलनामा रुपैडिहाको बजार मूल्यमा खासै अन्तर छैन । बाँकेका नेपालगञ्जसहित खजुरा, कोहलपुर लगायतका स्थानीय बजारहरु समेत नेपालीहरुका ठूला चाडपर्व आइसक्दा सुनसान जस्तै छन् । नेपाली बजारहरुमा उपभोक्ताको कम चहलपहल हुँदा भारतको रुपैडिहामा किनमेल गर्न जाने नेपाली उपभोक्ताको लर्को नेपाल भारत सिमा जमुनाहा हुन्छ । भन्सार नतिरी नेपाल भित्र्याउनेहरु कडाई गिर्न सके धेरै उपभोक्ताहरु नेपालमा नै रोकिने नेपाली व्यवसायीहरु बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १० गते शुक्रबार