16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

सुनसरीमा संविधान दिवस मनाइयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ४, २०७६  

इनरुवा। 

सुनसरीमा विभिन्न कार्यक्रमको आयोजना गरेर आज संविधान दिवस मनाइएको छ । सदरमुकाम इनरुवासहित दुहबी, बराहक्षेत्र, रामधुनी नगरपालिका, इटहरी, धरान उपमहानगरपालिका, कोशी, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, बर्जु, गढी गाउँपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस, २०७६ मनाइएको हो ।

दिवस मूल आयोजक समिति सुनसरीले सदरमुकाम इनरुवामा प्रभातफेरीसहित शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी दिवस मनाएको इनरुवा नगरपालिकाका सूचना अधिकारी निरज पोखरेलले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति सुनसरी मूल आयोजक समिति रहे पनि इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको संयोजकत्वमा गठित जिल्लास्तरीय दिवस समारोह उपसमितिले कार्यक्रमको व्यवस्थापन मिलाएको थियो ।

इनरुवा नगरपालिका हाताभित्र झण्डोत्तोलन पश्चात आयोजना गरिएको प्रभातफेरीले इनरुवा बजार क्षेत्रको परिक्रमा गरेको इनरुवा नगरपालिकाका सुनोज निरौलाले जानकारी दिनुभयो । दिवसको अवसरमा इनरुवा नगर क्षेत्रभित्र दुई ठाउँमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

इनरुवा नगरपालिकाको कार्यालय परिसर र इनरुवा–१ पञ्चवटी पार्कमा राष्ट्रिय झण्डा राखिएको इनरुवा नगरपालिकाका सूचना अधिकारी पोखरेलले बताउनुभयो । एक नम्बर प्रदेश सरकारको सहयोगमा इनरुवाको दुई ठाउँमा ११ फिट चौडाइ र ८ फिट लम्बाइ भएको राष्ट्रिय झण्डा राखिएको इनरुवा नगरपालिकाका सूचना अधिकारी पोखरेलले बताउनुभयो । -रासस

त्यसैगरी इनरुवा नगरपालिकाले महानन्द पार्कमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा संविधान दिवसको सन्दर्भ पारेर आयोजना गरिएका विभिन्न प्रतियोगिता बिजेताहरूलाई पुरस्कृतसमेत गरेको नगरपालिकाले जनाएको छ । अघिल्ला वर्षहरूको तुलनामा यसपटक संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रभातफेरी सहितका कार्यक्रममा विद्यार्थी लगायतका सरोकारवाला र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

यसैबीच संविधान, दिवसको अवसरमा हरिनगर गाउँपालिका–५ मा रहेको श्रीमावि वसन्तपु्रमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । दिवसको अवसरमा विद्यालय परिसरभित्र विभिन्न प्रजातिका १५० बिरुवा रोपेको विद्यालयका शिक्षक संजय मेहताले बताउनुभयो । कार्यक्रममा क्रसमहनी, एकयिलटर, टिक, टर्की लगायतका १५० प्रजातिका बिरुवा रोपेको शिक्षक मेहताले बताउनुभयो ।

प्रकाशित मितिः शनिबार, अशोज ४, २०७६     9:51:04 AM  |