कोहलपुर ।
बुधबार दिनभर परेको अविरल बर्षाका कारण बाँकेका विभिन्न स्थानहरु जलमग्न भएका छन् । नेपालगञ्जसहित आसपासको क्षेत्र बर्षाका कारण जलमग्न भएको थियो । बुधबार बिहानैदेखि बर्षा हुँदा मानिसहरुको दैनिकी समेत प्रभावित बनेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जको घरबारीटोल, धम्बोझी, सुर्खेतरोड, न्यूरोड, गणेशपुर, सल्यानीबाग, सहिद सेतु विक चोक, कोरियनपुर, बेलासपुरलगायत क्षेत्रहरु जलमग्न भएका थिए ।
पानीको सहज निकास नहुँदा घर तथा पसलहरु डुबेका हुन् । सडकमा पानी जम्मा हुँदा आवत–जावत गर्नसमेत कठिनाई भएको थियो । केही समयअघि मात्र घरबारीटोलमा ढल तथा सडक निर्माण भएको थियो । ‘अस्ति भर्खर बाटो र नाला बनेको थियो, तर त्यसले केही काम गरेन,’ स्थानीय व्यवसायी दुर्गा प्रसाद भण्डारीले भने, ‘नालामा माटो र प्लाष्टिक मात्रै भरिएको छ, पानी कहाँबाट बगेर जाओस् ।’
डुवानका कारण घरबारी टोलका मात्र एक दर्जन भन्दा बढी पसल तथा घरहरुमा पानी पसेको थियो । ‘सडक निर्माण भएपछि समेत हामीले डुवानबाट मुक्ति पाउन सकेनौं’ नेपालगञ्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष समेत रहेका भण्डारीले भने, ‘सानो झरीले नै घरबारी टोल जलमग्न हुँदा व्यापार व्यवसाय चौपट् हुने गरेको छ ।’ नेपालगञ्जको सहिद सेतु विक चोक क्षेत्रमा पनि आधा दर्जनबढी पसलहरु डुबेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार सेतु विक चोक नजिक रहेको कस्तुरी होटलसहित करिव आधा दर्जनबढी पसल डुबेका हुन् । ‘पसलभित्र पानी पस्दा व्यापारीको बिजोग नै भएको छ,’ श्रेष्ठले भने, ‘नेपालगञ्जमा जति नाला बनेपनि काम भएन, बनेका नाला पनि सफा भएका छैनन्, नालाभरी प्लाष्टिक भरिएको छ ।’ प्लाष्टिकले भरिएका नाला सफा गर्न नेपालगञ्ज उपमहानगरपालिकाले पुरै बेवास्ता गरेका कारण समस्या बल्झिएको विकासका लागि नागरिक सरोकार समितिका संयोजक रहेका श्रेष्ठले बताए । नेपालगन्जका अन्य वडा तथा टोलमा पनि केही घर तथा पसल डुबेका छन् । नेपालगञ्जमा विशेषगरी २०६३ सालयता वर्षेनी डुबान समस्या निम्तिन थालेको हो । उपमहानगरभित्र रहेका पुराना ढल तथा नाला अतिक्रमणमा परेका छन् । पानी जम्मा हुने खाली ठाउँमा धमाधम घर निर्माण भईरहेका छन् । सडक छेउमा निर्माण गरिएका प्रायः नाला अवरुद्ध अवस्थामा छन् । विगतका वर्षमा पनि नेपालगन्जबासीले सामान्य वर्षामै डुबान समस्या खेप्नु परेको थियो। एशियाली विकास बैंकको ऋण÷अनुदान सहयोगमा एकिकृत शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजना सञ्चालनकै क्रममा रहेको छ ।
उपमहानगरको ढल तथा नाला व्यवस्थापन, सडक निर्माण र फोहोरमैला व्यवस्थापन गर्ने आयोजनाको मुख्य उद्देश्य हो । आयोजना सञ्चालनमा आएपनि नेपालगन्जबासीले डुबान समस्याबाट पूर्ण रुपले मुक्ती भने पाउन सकेका छैनन् । आयोजनाले निर्माण गरेका ढल तथा नाला नै डुबानको बाधक रहेको नागरिक अगुवाको बुझाई छ । निर्माण गरिएका ढल तथा नालाको समयमा सफाई नहुनु, पानी बग्ने क्षमताभन्दा नालाको साईज सानो बनाईनु नै डुबानको मुख्य कारण हो । मानखोलाको बाढीले खजुरा गाउँपालिकाको पश्चिमका विभिन्न गाउँहरु डुवानमा परेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सिन्दुरे, दश विगाह, आठ विगाह गाउँ डुबानमा परेका छन् । बाँकेका प्रहरी उपरीक्षक वीर बहादुर वलीले सिन्दुरे र आसपासका गाउँका दुई सय पचास बढी घरहरु डुबानमा परेको बताए । ‘घरभित्र पानी पस्दा अन्नपात, लत्ताकपडा भिजेका छन् ।’ उनले भने, ‘यी गाउँका मानिसहरुलाई स्थानीय जनसेवा माविलगायत उच्च ठाउँमा सारिएको छ ।’ जिल्लाको दक्षिण पश्चिममा रहेको जानकी गाउँपालिकामा भारतले दशगजामा बनाएको सडकजस्तो बाँधले पानीको निकास थुनेपछि धेरै घरहरु डुवानमा परेको बताइएको
छ । भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले पूर्वका आधा दर्जन ठूला गाउँलाई डुवानमा पार्ने गरेकोमा अहिले पश्चिममा बिस्तार गरेको सडकजस्तो बाँधले जिल्लाका पुरै दक्षिण भेगलाई डुवानमा पार्ने जोखिम बढाएको छ । अविरल वर्षाले थप क्षति पु¥याउन सक्ने भएकाले सर्तकता अपनाउन जिल्ला दैवी प्रकोप उद्धार समितिले आग्रह गरेको छ । समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अविरल वर्षाले पु¥याएको क्षतिबारे बुझ्ने काम भईरहेको जानकारी दिए ।
‘वर्षाले के कति क्षति ग¥यो, हामीले बुझ्ने काम गरिरहेका छौं,’ उनले भने । यो समाचार तयार पार्दासम्म समेत अविरल बर्षा भइराखेकाले क्षतीको अझै केही बढ्नसक्ने बताइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा नेपालगन्ज क्षेत्रको डुबान समस्या पहिलेको भन्दा धेरै कम भईसकेको दाबी गरे । नेपालगञ्ज ‘लो ल्याण्ड’ भएकाले वर्षा भईरहँदासम्म जलाम्य भएपनि वर्षा रोकिने बित्तिकै तत्कालै पानी सुक्ने गरेको उनको भनाई रहेको छ । बाँकेमा भारी बर्षा भएपनी जिल्ला भएर बग्ने राप्ती नदीको सतह भने सामान्य नै रहेको छ । नदीको माथिल्लो क्षेत्रमा पानी नपरेकाले नदीको सतह सामान्य नै रहेको स्थानीय प्रशासनले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्