1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

बाँसगढी नगरपालिकाको प्रयास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १, २०७६  

अहिले देशभरी नै एउटा बहस चलिरहेको छ संस्थागत विद्यालय बन्द गर्ने कि व्यवस्थित गरेर सञ्चालन गर्ने भनेर । कसैले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या न्यून हुँदै गइरहेको भन्दै संस्थागत अर्थात् निजि विद्यालय बन्द गर्नुपर्ने बताउँदै आएका छन् । संसद समेत सरकारी तलब भत्ता खाने कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा नै पठाउनुपर्ने आवाज उठ्न थालेको बर्षौ भइसकेको अवस्था रहेको छ । यो कुरा अझैपनी टुङ्गोमा पुग्नै सकेको छैन । हुन पनी हो अहिलेको अवस्थामा सरकारी तलब भत्ता खाने कर्मचारीका अधिकांश छोराछोरी सरकारी विद्यालय छोडेर निजी विद्यालयमा नै पढ्ने गरेका छन् ।

यती मात्र कहाँ हो सामुदायिक विद्यालयमा पढाउने अधिकांश शिक्षकहरुले सकेसम्म निजी विद्यालयमा नै आफ्ना छोराछोरी पढाउने गरेका छन् । बर्दियाको बाँसगढी नगरपालिकाले भने एउटा एकदमै राम्रो सन्देश दिने काम गर्न खोजिरहेको छ । सामुदायिक विद्यालय छोडेर संस्थागत विद्यालयमा छोराछोरी पढाउने अभिभावकको संख्या बढिरहेको अवस्थामा उक्त कार्यक्रमले केही भएपनी सकारात्मक सन्देश पक्कै पनी दिनेछ ।  यही असोज ३ गते नगरपालिकाले संविधान दिवसको अवसर पारेर सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने कर्मचारीहरुलाई सम्मान गर्दैछ । नगरपालिका अन्तरर्गत कार्यरत शिक्षक र कर्मचारीहरुलाई सम्मान गर्न लागिएको हो । राज्यका तीन वटै तहले शिक्षा क्षेत्रमा लगानी बढाइराखेको अवस्थामा सामुदायिक विद्यालयमा भने विद्यार्थीहरुको आकर्षण कम रहेको अवस्था छ । सामुदायिक विद्यालयमा राज्यले लगानी धेरै गरेपनी त्यस अनुरुपको प्रतिफल भने दिन सकेको अवस्था छैन । केही सामुदायिक विद्यालयहरुले भने आफुलाई नम्बर एक हु भन्ने संस्थागत विद्यालयलाई चुनौती दिएको अवस्था रहेको छ ।

सामुदायिक विद्यालय पनी विद्यार्थी भर्नाको लागि पावर र पहुँच प्रयोग गर्नुपर्ने अवस्था समेत देखिन्छ । संस्थागत विद्यालयमा छोराछोरी पढाउने अभिभावकहरुको होडबाजी चलिरहेको अवस्थामा बाँसगढी नगरपालिकाले गर्न लागेको सम्मानले केही भएपनी सामुदायिक विद्यालय प्रति अभिभावकले हेर्ने दृष्टिकोण केही भएपनी पक्कै परिवर्तण आउनेछ । बाँसगढी नगरपालिकाले गर्न लागेको यस प्रकारको सम्मानले यहाँ मात्र होइन देशभरीका अन्य स्थानीय तहहरुमा समेत गतिलो सन्देश प्रवाह गर्नेछ । यस्ता राम्रा कामको अन्य स्थानीय सरकार तथा निकायले समेत सिको गर्न जरुरी हुन्छ ।

प्रकाशित मितिः बुधबार, अशोज १, २०७६     9:41:20 AM  |