चेतनारायण पाण्डे । सुर्खेत ।
कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले कानूनमिच्ने छुट कसैलाई नभएको बताएका छन् । ‘कर्णाली प्रदेशलाई ट्राफिक व्यवस्थापनको क्षेत्रमा नमुना बनाउन सक्नुपर्छ’ उनले भने, ‘ताकि अरु प्रदेशले पनि यसबाट केही सिक्ने मौका पाउन् ।’ कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलोपटक मंगलबार पत्रकारहरुसँग कुरा गर्दै ट्राफिक प्रहरी उपरीक्षक यादव उक्त कुरा बताएका हुन् ।
बजार क्षेत्र लगायतका विभिन्न स्थानहरुमा ट्राफिक जनचेतनामूलक बोर्डहरु राख्नुपर्ने, पोष्टहरुको व्यवस्थापन गर्नुपर्ने, बजार क्षेत्रमा पार्किङ्गलाई व्यवस्थित गर्नुपर्ने लगायतका कामहरुमा आफुले काम गर्ने उनले बताए । ‘मुख्य चुनौतिको रुपमा रहेको अटोलाई व्यवस्थित गर्नका लागि कर्णाली प्रदेशमा रहेको यातायात कार्यालयले चालक अनुमतिपत्रको वितरण गर्न आवश्यक छ ।’ ट्राफिक प्रहरी उपरीक्षक यादवले भने, ‘बिना चालक अनुमतिपत्र कसैलाई पनि सवारी चलाउने छुट छैन । यस सम्बन्धमा सम्बन्धित निकायहरुसँग छलफल गरेर प्रक्रिया अगाडि बढाउने छ ।’
दुई महिनामा १७ को मृत्यू
चालु आर्थिक बर्षको पछिल्लो दुई महिनामा कर्णाली प्रदेशमा सवारी दुर्घटना परी १७ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा भएका ४२ वटा सवारी दुर्घटनामा १७ जनाको मृत्यू भएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक कार्यालयका अनुसार सुर्खेत जिल्लामा सबैभन्दा बढी १२ जनाको मृत्यु भएको छ । साउन र भदौंमा कर्णालीका १० जिल्लामध्ये सवारी दुर्घटना हुने जिल्ला सुर्खेत देखिएको हो ।
साउन महिनामा २३ वटा सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको थियो भने भदौमा १८ सवारी दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाए । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन र भदौमा १०–१० जना गम्भिर घाइते भएका छन् भने सामान्य घाइते हुनेको संख्या साउनमा ३० र भदौमा ३९ रहेको छ । सवारी दुर्घटनाका कारण साउनमा १ पशुचौपायाको ज्यानगएको थियो भने भदौमा ३ पशुचौपायाको ज्यान गयो । सवारी दुर्घटनामा मोटरसाईकल, टेम्पो, माईक्रो जिप र कार बढि दुर्घटनामा पर्ने गरेका छन् ।
गत आर्थिक बर्षमा मात्रै कर्णालीमा १ सय १९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । पछिल्लो समय कर्णालीमा सवारी दुर्घटनाको दर समेत बढिरहेको ट्राफिक कार्यालयले जनाएको छ । यहाँ आर्थिक बर्ष २०७२÷७३ मा ५३ जनाको मृत्यु भएको थियो भने आर्थिक बर्ष २०७३÷७४ मा १ सय १७ र आर्थिक बर्ष २०७४÷७५ मा ९१ जनाले सवारी दुर्घटनामा आफ्नो ज्यान गुमाएका थिए ।
प्रतिक्रिया दिनुहोस्