8 September 2024  |   आइतवार, भदौ २३, २०८१

नेपालगञ्ज विमानस्थल घटना बुद्ध एयरले दियो स्पष्टिकरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६  

कोहलपुर ।

शनिबार साँझ नेपालगञ्जबाट काठमाडौं आउन लागेको आफ्नो जहाजभित्र भएको घटनाबारे बुद्ध एयरले स्पष्टिकरण दिएको छ । नेपालगञ्ज विमानस्थलबाट फर्कने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण उडान एक घण्टा ढिलाइ भएको भन्दै केही यात्रुहरुले मन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । बुद्ध एअरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीका कारण मात्रै उडान ढिला नभएको स्पष्ट पारेको हो । उडान ढिला हुनुमा काठमाण्डौबाटै उडान ढिला हुनु, मन्त्रीले केही बेर पर्खाउनु र केही यात्रुले नाराबाजी गर्दा झण्डै २४ मिनेट उडान ढिला भएको उसले स्पष्ट पारेको छ । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई लेखिएको पत्रमा बुद्ध एयरले उक्त दिन जहाज निर्धारित समयभन्दा २४ मिनेट ढिला उडेको स्वीकारेको छ ।

यस्तो छ बुद्ध एयरको प्राधिकरणमा बुझाएको पत्र

मिति २०७६ भाद्र २८ गते शनिवारको उडान नं. बिएचए ४०६ मा माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेस भट्ठराई समेत रहनुभएको थियो सो उडान घटनाको घटनाक्रम तपसिलमा उल्लेख गरिए बमोजिम पाइएको छ ।

१. काठमाडौंबाट नेपालगञ्जका लागि विमान १६ः५० बजे उड्नु पर्ने मा काठमाडौंबाट नै २३ मिनेट ढिला भई १७ः१३ मा उडेको थियो र विमान नेपालगञ्जमा १८ः०२ मा अवतरण गरेको थियो ।

२. काठमाडौंको बुद्ध एयर फ्लाइट अपरेशनले नेपालगन्जलाई दिएको रिभाइज्ड टाइमअनुसार नेपालगञ्जबाट विमान १८ः२५ को सट्टा १८ः४० मा उड्नुपर्ने थियो ।

३. बुद्ध एयरसँगै जस्तो यती एयरलाइन्सको विमान १७ः५३ मा अवतरण गरेर १८ः२१ मा उडेको र श्री एयरलाइन्सको विमान १८ः३० मा अवतरण गरेर १८ः५१ मा उडेपछि हाम्रा यात्रुहरू विमानमा नलगेका कारण असहज महसुस गर्न थालेका थिए सोही समयमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूका सहयोगीले १८स्२५ तिर नेपालगन्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुखमार्फत फोन गरेर हामी धम्बोजी आइपुग्यौं भन्ने जानकारी पाएपछि अब मन्त्रीज्यु आइपुगिहाल्ने आशय बुझी हाम्रा एयरपोर्टका कर्मचारी मित्रहरुले यात्रुहरूलाई १८ः३० तिर विमानमा वोर्डिङ गर्नुभएको थियो तर त्यसो नभई वहाँहरूले फोनमा जानकारी गराएभन्दा केही ढिला एयरपोर्ट प्रवेश गर्नुभयो ।

४. माननीय मन्त्रीज्यू एयरपोर्ट प्रवेश गर्नु पहिला नै सुरक्षाकर्मीहरूकै अगाडि १४, १५ जना यात्रुहरूको समूह हाम्रा विमान परिचारिकाहरूले बाहिर ननिस्कन आग्रह गर्दागर्दै आक्रोसित भई विमानबाट १८ः४० तिर बाहिर निस्किएर हाम्रा कर्मचारी मित्रहरूसँग वादविवाद गर्न थाल्नुभएको थियो सो विवाद ६,८ मिनेट जति चलेको थियो ।

५. मन्त्रीज्यु १८ः५० मा एयरपोर्ट आइपुग्ना साथ बाहिरका उत्तेजित समूह वहाँतिरै फर्केर तपाईं किन ढिला आउनुभएको, तपाईंले गर्दा हामी सबैले कुर्नुपर्ने हो भनी अझ आक्रोसित हुनथालेपछि मन्त्रीज्यू चुपचाप विमानभित्र चढ्नुभयो र सो समूह मन्त्रीज्यूसँगसँगै विमान भित्र एकैचोटी चढेर एकैठाँउमा उभिएर ४,५ मिनेटसम्म अझ बढी आक्रोस पोख्न थालेपछि विमानको एकै भागमा धेरै वजन भएकाले विमान समेत ढल्किएको थियो र सो समूहलाई साम्य बनाई विमानको सिटमा बस्न आग्रह गरेर उडान भर्दा अझ ढिला हुन गएको थियो ।

६. नेपालगञ्जलाइ दिएको रिभाइज्ड टाइमअनुसार नेपालगन्जबाट २४ मिनेट ढिला भई १९ः०४ मा विमान उडेको थियो ।

७. उल्लेखित घटनामा माननीय मन्त्रीज्यूका सुरक्षाकर्मी र सहयोगीहरूले देखाएको संयमताका कारण पनि आक्रोसित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, भदौ ३१, २०७६     7:58:14 AM  |