कोहलपुर ।
बाँकेको जानकी गाउँपालिका भित्रको मुख्य सडक निर्माण कार्य शुरु भएको छ । वडा नं. ६ गनापुर स्थित पिप्रहवा चोकदेखि वडा नं. ४ खजुराखुर्दको नहर चोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी निर्माण कार्य शुरु गरिएको सडकको बिहीवार गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले शिलान्यास गरे ।
गनापुर पिप्रहवा चोकदेखि खजुराखुुद्र्धको नहर चोकसम्म ७ किलोमिटर लम्वाई रहेको सडकको चौडाई ७ मिटर रहने उनले बताए । गनापुरको पूर्वीक्षेत्रमा रहेका उद्योगहरुले नेपालगञ्ज–कोहलपुर सडक प्रयोग गर्दै आए पनि पश्चिमतर्फ भित्रीभागमा रहेका उद्योगहरुलाई यो सडक निर्माण पछि सवारी साधन आवागमनमा सहज हुनेछ । ‘हामीले यो सडकलाई गाउँपालिकाको रिङरोडका रुपमा प्रस्ताव गरेका थियौँ, तर रिङरोडको मापदण्डमा १२ मिटर चौडाईको सडक हुनुपर्ने भएकोले अहिलेलाई लिङ्करोडका रुपमा निर्माण शुरु गरेका छौँ ’
गाउँपालिका अध्यक्ष यादवले भने, ‘हाम्रो अनुरोधमा सिक्टा सिचाई र स्थानीय जग्गाधनीले सडक निर्माण गर्न सात मिटर छोड्न सहमत हुनुभएको छ यो भन्दा फराकिलो बनाउन सकेनौँ ।’ सिक्टा सिँचाईको नहर समेत यहि सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गधनीबाट चार मिटर जमिन प्राप्त गरी सात मिटर चौडाई हुने गरी सडक निर्माण शुरु भएको गाउँपालिकाका इञ्जिनीयर निसार खानले बताए ।
गाउँपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारको गरी रु. आठ करोडको खड्का निर्माण सेवाले सडक निर्माण शुरु गरेको हो । डेढ वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण सेवाका प्रवन्ध निर्देशक टेकबहादुर खड्काले जानकारी दिए ।