अझैैं हस्तान्त्रण भएन सिटी बसपार्क



सुर्खेत ।

वीरेन्द्रनगरमा निर्माण भएको सिटी बसपार्क निर्माण सम्पन्न भएको तीन महिना बितिसक्दा पनि सञ्चालन गरिएको छैन । हालसम्म नत बसपार्क नगरपालिकालाई हस्तान्त्रण्ण भएको छ । नत संचालनमा आउने बारे एकिन छ । २०७५ असोजमा निर्माण सम्पन्न गरी नगरपालिकालाई बसपार्क हस्तान्तरण गर्ने सम्झौता भए एक बर्ष बित्न लाग्दापनि बसपार्क अझै हस्तान्तरण नभएकोहो ।

तर बस पार्क सञ्चालनमा ढिलाई हुँदा यातायात व्यवसायीले सास्ती भोग्नु परेको छ । नगर बिकास कोषको ऋण अनुदानमा निर्माण गरिएको बसपार्क निर्माण व्यवसायीले हस्तान्तरणमा गर्न ढिलाई गरेका कारण सञ्चालनमा समेत ढिलाई भएको हो । निर्माण व्यवसायीले लगानीकर्ता नगर बिकास कोषलाई र नगर विकास कोषले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण पश्चात नगरपालिकाले सञ्चालन गर्ने सम्झौता बमोजिम हस्तान्तरण गर्न ढिलाई हुँदा बसपार्क सञ्चालन नभएको नगरपालिकाका ईन्जिनियर बिशाल अधिकारीले बताए ।

‘बसपार्क निर्माण सम्पन्न भए पनि हस्तान्तरण नहुँदा सञ्चालनमा ढिलाई भएको छ’ उनले भने, ‘हस्तान्तरण पछि पनि कसरी सञ्चालन गर्ने भन्ने बिषयमा पनि बहस भई रहेको छ ।’ बसपार्क नगरपालिकालाई हस्तान्तरण प्रक्रियामा रहेकोले चाडै सञ्चालन गरिने वीरेन्द्रनगर पािलकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । अनुगमन समितिका संयोजक समेत रहेका ढकालले नगर बिकास कोषलाई नै हस्तान्तरण भई नसेकोले नगरपालिकाले सञ्चालन गर्न नसकेको बताईन् । ‘प्रक्रियागत ढिलाईका कारण बसपार्क सञ्चालनमा पनि ढिलाई भएको हो’ उनले भनिन्, ‘छिट्टै सम्झौता गरी सञ्चालनमा ल्याईने छ ।

बसपार्क सञ्चालनमा ढिलाई हुँदा सवारी आवागमनमा समेत समस्या भएको काँक्रेविहार यातायात प्रा.लिका सञ्चालक रमेश सापकोटाले बताए । निर्माण सम्झौताभन्दा दुई बर्ष ढिला गरी बसपार्क निर्माण गरे पनि सञ्चालनमा भएको ढिलाईले यात्रु र व्यवसायीले सास्ती भोग्नु परेको उनको भनाई छ । ‘कर्णाली प्रदेश राजधानीको व्यस्त मंगलगढी चोकको साँघुरो स्थानबाट दर्जनौको संख्यामा रहेका यातायात कम्पनीहरुले बसपार्क सञ्चालन गर्नु परेको छ’ उनले भने, ‘कहिलेसम्म चोकमा सवारी पार्किङ गरिरहने ?’ यात्रु र व्यवसायीको समस्याप्रति नगरपालिका मुकदर्शक भएको उनको आरोप छ ।

१५ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७३ सालबाट थालिएको बसपार्क निर्माण कार्य दुई पटक म्याद थप गरी निर्माण सम्पन्न भए पनि हस्तान्तरणमा ढिलाई भएको छ । ०७४ जेठ १४ गते बसपार्क निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने गरी ०७२ माघ १४ गते चाङ्गमीला नरसिंह–जेभी संग नगरपालिकाले सम्झौता गरेको थियो ।
सिटी बसपार्क निर्माण ढिलाईले यसको लागत पनि बढेको जनाइएको छ ।

६ करोड ८२ लाख ७५ हजार ८८९ को लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त बसपार्क लागत अनुमान भन्दा ६२ लाख बढी खर्च भएको छ । ७ करोड ४४ लाख लागतमा बसपार्कको निर्माण सकिएको इन्जिनियर अधिकारीले बताए । उनले नगर बिकास कोषको ७ करोड ४५ लाख ऋण अनुदानमा बसपार्क निर्माण गरिएको बताए ।बसपार्क सञ्चालन भए पछि वीरेन्द्रनगर नगरपालिकाले कोषको ऋण रकम तिर्ने सम्झौता गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७६ भदौ १२ गते बिहीबार