कृष्ण ओली ।
सन् २०१० मा रुसको पिटर्सबर्गमा भएको बाघ पाइने देशका राष्ट्रप्रमुखहरूको पहिलो सम्मेलनले सन् २०२२ सम्म ती देशमा बाघको संख्या दोब्बर बनाउने घोषणा गरेको थियो । ती देशमध्ये नेपाल पनी एउटा देश हो । उक्त सम्मेलनमा बाघ संरक्षणबारे चेतना फैलाउने उद्देश्यले जुलाई २९ मा बाघ दिवस मनाउने समेत घोषणा गरिएको थियो । त्यति बेला नेपालमा बाघको संख्या १ सय २१ वटा रहेको थियो ।
सम्मेलनमा सन् २०२२ सम्म नेपालले बाघको संख्या २ सय ५० भन्दा बढी पु¥याउने संकल्प गरेको थियो । अहिले देशभर बाघ संख्या २ सय ३५ पुगिसकेको छ । सन् २०१८ मै नेपालमा बाघको संख्या सरकारले गरेको संकल्प नजिक पुगेको छ । अबको चार वर्षमा संरक्षणलाई प्रभावकारी बनाउनसके नेपाल विश्वका अन्य मुलुकमध्ये लक्ष्यमा पुग्ने पहिलो मुलुक बन्न सक्ने आंकलन गर्न थालिएको छ । संरक्षणमा सफलता हासिल नजिक पुगेपछि अब बाघलाई जीवनोपयोगी क्षेत्रमा प्रयोग गर्ने अवधारणा अघि सारिदै छ । सरकारले २०६७ सालमा बाघ संरक्षणको लागी स्थापना गरेको बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेखिनीय रुपमा बढेको छ । बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बिष्णु प्रसाद थपलियाका अनुसार सन् २००८ (विसं २०६५ तिर) देखि बाघ गणना शुरु भएको हो । सो समयमा निकुञ्जमा बाघ दखिएको थिएन । सन् २०१३ ( विसं २०७०तिर ) मा भएको दोस्रो बाघ गणनाका क्रममा निकुञ्जमा चार बाघ देखिएका थिए ।
सन् २०१८ (विसं २०७५ तिर) मा भएको तेस्रो गणनानुसार झण्डै पाँच गुणाले बाघको संख्या वृद्धि भई २१ वटा पुगेको सहायक संरक्षण अधिकृत थपलियाले जानकारी दिए । छोटो समयमै बाघ संरक्षणमा उक्त निकुञ्ज सफल बनेको छ । सोमबार बाघ संरक्षणका चुनौती र बाघबारे स्थानीय बासिन्दा, मध्यवर्ती क्षेत्रका उपभोक्ता र स्थानीय सरकारको समेत राय बुझ्नको लागी बाँकेमा विश्व बाघ दिवस मनाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघको आकर्षण बढदै गएको बाँके निकुञ्जका तीन ठाउँमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, विशेषज्ञ र सरोकारवालासँग बाघ दिवसका अवसरमा सोमबार संरक्षण, चुनौती र भावी कार्यक्रमबारे छलफल गरेको थियो । ‘पर्यापर्यटन प्रवर्धनका लागि बाघ संरक्षण’ भन्ने नारासाथ दिवस पहिलोपटक काठमाडौं बाहिर मनाइएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले सरकारले लिएको लक्ष्यनजिक बाघको संख्या पुगेको बताए । ‘सरकारले सन् २०२२ सम्म नेपालमा बाघको संख्या २ सय ५० बढी पु¥याउने लक्ष्य लिएको छ’ उनले भने, ‘सन् २०१८ सम्म आइपुग्दा २ सय ३६ पुगेको छ । अब हामीसँग भएका बाघको संरक्षण गर्दै अझै संख्या बढाउने चुनौती थपिएको छ ।’
चोरी सिकार नियन्यण, स्थानीयको संरक्षणप्रती जागेको सकारात्मक धारण लगायतको कारणले नेपालमा बाघ संरक्षणमा सफलता मिलेको महानिर्देशक खड्काले बताए । ‘सिमित स्रोत साधनका बावजुत पनी लक्ष्य भन्दा अगाडि नै लक्ष्यको नजिक पुगेका छौं’ उनले भने, ‘यो हाम्रो लागी सकारात्मक कुरा हो । अब बाघको चोरी सिकारी नियन्त्रण, बासस्थान, आहारा प्रजाती संरक्षण लगायतका कुरामा ध्यान दिनुपर्छ ।’ बाघको संख्या बढाउन आहारा प्रजातिको संख्या बढाउनु अत्यावश्क मानिन्छ । चित्तल, जरायो, लगुना, रतुवा, मिर्ग, बँदेल, बाँदरजस्ता जनावर बाघका आहारा हुन । एउटा बाघले एक वर्षमा औसतमा ६० वटासम्म सिकार गर्छ भने एक पटकमा १५ देखि ४० किलोसम्म मासु खान्छ । एउटा वयस्क बाघलाई वार्षिक कम्तीमा ५० वटा आहारा प्रजातिको व्यवस्थापन अत्यावश्यक मानिन्छ । बाघको बासस्थान सन्तुलित गर्न उसको आहारा प्रजातिको संख्या सुधार र आहार प्रजातिको चरिचरण क्षेत्र व्यवस्थित गर्नुपर्ने खाँचो संरक्षणकर्मीहरु औल्याउछन् ।
कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले अब बाघलाई पर्यापर्यटनसँग समेत जोड्नुपर्नेमा जोड दिए । ‘निकुञ्जका बाघ देखाएर स्थानीयहरुले आय आर्जन गर्ने बाटो बन्यो भने उनीहरु संरक्षणप्रती आकर्षण हुन्छन्’ उनले भने, ‘संरक्षण मात्रै भन्दा पनी त्यसलाई प्रभावित क्षेत्रका बासिन्दाको आयआर्जनको रुपमा प्रयोग गर्नुपर्छ ।’ निकुञ्जबाट आउने वन्यजन्तुका कारण हुने क्षती रोक्न आफ्नो गाउँपालिकाले रकम विनियोजन गरेको उनको भनाई रहेको थियो । चोरीसिकार नियन्त्रण युवा सञ्जाल बाँकेका अध्यक्ष कृष्ण चौधरीले बाघ संरक्षणमा स्थानीयहरुको भुमिका बताए । ‘बाँके लगायतका निकुञ्जमा बाघ तथा वन्यजन्तुको संरक्षणमा स्थानीयले ठूलो योगदान पु¥याएका छन्’ उनले भने, ‘अब उनीहरुले ती वन्यजन्तु देखाएर आयआर्जन गर्ने समय हो ।’ विगतमा भन्दा अहिले स्थानीयहरुमा वन्यजन्तु जोगाउनुपर्छ भन्ने सोच आइसकेको भन्दै अध्यक्ष चौधरीले आफ्ना घर नजिकका निकुञ्ज तथा जंगलमा पाइने जनावर जोगाउन उनीहरु लाग्ने गरेका छन् । सरकारले सन् २०१८ मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालका पर्सामा (१८), चितवन (९३), बर्दिया (८७), बाँके (२१) र शुक्लाफाँटा (१६) निकुञ्जमा गरी कुल २ सय ३५ वयस्क बाघ रहेका छन् ।
बाघलाई लक्षित गरी बार्षिक पाँच करोड रुपियाँभन्दा बढीको बजेट विनियोजन हुँदै आएको छ । आर्थिक वर्ष २०७४÷७५ मा पाँच करोड १८ लाख ४५ हजार बजेट विनियोजन भएकोमा गत आर्थिक वर्ष २०७५÷७६ मा पाँच करोड २० लाख रुपियाँ विनियोजन भएको थियो । चालु आर्थिक वर्षमा साढे पाँच करोड हाराहारीको बजेट विनियोजन भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) नेपाल, जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल नेपाल) लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरक्षण साझेदारले बाघ संरक्षणको अनुसन्धानमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएका छन् । वन मन्त्रालय र मातहतका निकाय, नेपाली सेना, चोरी शिकारी नियन्त्रण समूह, मध्यवर्ती क्षेत्रका बासिन्दा संरक्षणमा जुटेका छन् ।