29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

देशभर मनसुन सक्रिय,आगामी चार दिनसम्म वर्षाको संभावना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६  

कोहलपुर ।

मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा ’पानी पर्ने प्रणाली’ उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए ।

उक्त न्यून चापीय प्रणाली चार/पाँच दिनसम्म रहन सक्ने र त्यसपछि दक्षिणतिर सर्ने भएकाले नेपालमा भन्दा भारतमा वर्षा बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारदेखि देशभर मनसुन सक्रिय भएकाले बाढीपहिरो जान सक्ने हुँदा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । सोमबार देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको
छ ।

पूर्वी क्षेत्रमा बहने साना नदी, सुदूरपश्चिम, गण्डकी प्रदेशको १, २ र ३ का नदी र चुरेबाट बहने केही स–साना नदीमा समेत आकस्मिक बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपाउन पनि भनिएको छ । आज मङ्लबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो भागमा वर्षाको सम्भावना रहेको बताइएको छ । बुधबार देशको अधिकांश स्थानमा बदली हुनाका साथै मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६     9:08:38 AM  |