घरधनीबाट नै घर बहाल कर लिन माग



डिल्ली शाही कोहलपुर ।

बाँकेको कोहलपुरमा घर बहाल सम्बन्धी स्पष्ट नीति बनाउन माग गरिएको छ । आइतबार घर बहाल सम्बन्धी स्पष्ट नीति बनाउन माग गर्दै नेपाल घर बहाल उपभोक्ता मंच बाँकेले कोहलपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको थियो । अब स्थानीय सरकारले घर बहाल सम्बन्धी स्पष्ट नीति निर्माण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने उनीहरुले माग गरेका छन् ।

नेपाल घर बहाल उपभोक्ता मंचले विभिन्न ७ बुँदे माग राख्दै नगर प्रमुख लुट बहादुर रावतलाई ज्ञापनपत्र बुझाएको थियोे । मंच बाँकेका कार्यबहाक अध्यक्ष तिलक सिंह कार्कीले घर बहाल कर समेत डेरावालासँग असुल गरिने परिपाटीको अन्त्य गरिनुपर्ने बताए । ‘अहिले घर बहाल कर घरमा बस्ने भाडावालासँग असुल्ने गरिएको छ’ उनले भने, ‘यसको अन्त्य गर्दै घरधनीबाट नै घर बहाल कर लिइनुपर्छ ।’

अहिले अधिकांश घरधनीहरुले आफ्नो घरमा बस्ने भाडावालासँग नै घर बहाल कर असुल्ने गरेका छन् । मंचका अध्यक्ष कार्कीले घर जग्गा बहाल सम्बन्धी स्पष्ट नीति निर्माण गर्ने र नीति निर्माण गर्दा मंचसँग समन्वय हुनुपर्ने माग राखे । ‘घर जग्गा भाडामा दिँदा वा लिँदा दुई पक्ष विच लिखित सम्झौता गर्नुपर्छ’ उनले भने, ‘सम्झौता गराउँदा नेपाल घर बहाल उपभोक्ता मंचको रोहोबर र नगरपालिकाले पनि त्यसको प्रमाणित गर्नुपर्छ ।’

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख रावतले घर बहाल कर स्वंयम् घरमालिकले नै तिर्नुपर्ने बताए । ‘घर बहाल कर बस्ने मानिसले तिर्ने होइन’ उनले भने,‘घर भाडामा दिने घरधनीले तिर्नुपर्छ ।’ नगर प्रमुख रावतले घर भाडामा बस्ने सम्पूर्ण व्यवसायी तथा कोठाभाडामा बस्ने व्यक्तिहरुले मासिक कति रुपैयाँ, कति वर्ष सम्मको लागि भाडामा बस्ने, वार्षिक कति बृद्धि गर्ने लगाएतका कुराहरुको सम्झौता पत्र बनाई बस्नुपर्नेमा जोड दिए ।

‘व्यवसायीबाट नाफा आएको मात्र हामीले कर लिने हो तर हामीले घरमा बसेको कर लिने गर्दनौं’ उनले भने, ‘जुन भाडामा बस्ने व्यक्तिहरुले भने कर तिर्नुपर्देन । उसले कोठाको भाडामात्र घरमुलीलाई दिने हो ।’

  • No tags available
प्रकाशित मिति : २०७६ असार २३ गते सोमबार